आज हरि बोधिनी एकादशी पर्व ,विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइदै

काठमाडौं, ३ मंसिर । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महीना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षीरसागरमा सुत्नुभएकाले यी चार महीनामा विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढीपहिरो आउने र सर्प जस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महीनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv