विवाहका लागि सामान किनेर फर्किदा जिप दुर्घटना: धुमधामसँग बुहारी भित्र्याउने बुवाको सपना अधुरै

बझाङ, ४ असार । मष्टा गाउँपालिका १ का कलकबहादुर खड्काको घरमा छोराले विवाह गरेर ल्याएकी बुहारी भित्र्याउन तयारी भएको थियो । मंगलबार हिन्दू परम्परा अनुसार छोराको विवाह गर्ने तयारीमा सबै जुटेका थिए ।

सोमबार श्रीमती जुनधारा, नव दुलही र जेठो छोरा, छोरी संगीता र कान्छो छोरासमेत दिनभर सदरमुकाममा किनमेल गरे। श्रीमति, ४२ वर्षका कलक, ३८ वर्षीया जुनधारा, १७ वर्षीय छोरा सन्देश, नयाँ दुलही, १५ वर्षकी छोरी संगीता खडका र १२ वर्षका कान्छा छोरा सरद सहित ६ जनाको परिवार मिलेर सोमबार दिनभरी किनमेल गरे।

तर कलक बहादुरको परिवारको खुसी एकैछिनमा भताभुंग भयो। चैनपुर बजारबाट विवाहको सामान गरगहना किनेर, सेती पारीको डुंग्री भन्ने स्थानबाट जीपमा चढेका उनका परिवारका तीन जना सदस्य कलक बहादुर, उनकी पत्नी जुनधरा र कान्छा छोरा सरद खडकाको जीप दुर्घटनामा मृत्यु भयो।

‘दाजुको जेठो छोरा भएकाले धुमधामसँग विवाह गर्ने सपना अधुरै रह्यो’, कलक सहितका आफन्तको शव बुझ्न चैनपुर पुगेका उनका भाई शिवराज खडकाले भने। ‘तीन कट्ठा चामलको भात पकाएर गाउँभरीमा आफन्तलाई भोज दिने योजना थियो।’

सोमबार दिउसो दुई बजेर ४५ मिनेटमा चैनपुर पारीको डुंग्री भन्ने स्थानबाट मष्टा गाउँपालिकाका लागि छुटेको से १ ज १०७२ नम्बरको बोलेरो जीप त्यहाँबाट हिँडेको एक घण्टामै मष्टा गाउँपालिकाको डौठी भन्ने स्थानमा भीरमा खसेपछि खड्का परिवारका तीन जना सदस्य सहित १० जनाको ज्यान गएको थियो।

अन्नपुर्णपोष्टमा जगदीश रोकायाले समाचार लेखेका छन् । जीपमा ठाउँ नभएर पैदल हिँडेका कलकका जेठा छोरा सन्देश, भगाएर ल्याएकी युवती भने जीपमा ठाउँ नभएको भन्दै पैदल हिँडेकाले उनीहरू जोगिएका छन्। कलककी कान्छी छोरी संगीता खडका पनि गम्भीर घाइते छिन्। उनलाई उपचारका लागि हेलीकप्टरबाट काठमाडौं लगिएको छ।

सन्देशको विवाह रोकिएको छ भने उनको परिवाका तीन सदस्य सहित एकै गाउँका आठ जनाको दुर्घटनामा मृत्यु भएकाले गाउँ नै शोकमग्न छ। सोही गाउँका २३ वर्षका हिक्मत खडका, ५९ वर्षिया धौली खडका, ६५ वर्षिया जुना खडका, भक्त द्वाल र २७ वर्षकी लक्ष्मी द्वालको मृत्यु पछि गाउँ नै शोकमा डुबेको हो। ‘मैले बुवा आमालाई पनि पैदल जाउँ, सामान मात्रै गाडीमा पठाउँ, ओभरलोड भइसक्यो भनेँ तर बुवाले मान्नु भएन सन्देशले घटना सम्झदै भने ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv