बाँकेको डुवान बारे सांसद सुवेदीले उठाइन् संसदमा आवाज

काठमाडौं,असार ९ । भारतले अन्तराष्ट्रिय नियम मिचेर निर्माण गरेको लक्ष्मणपुर बाँध र तटबन्धका कारण वर्षेनी बाँकेको नागरिकले भोग्दै आएको डुबानको समस्याको दिर्घकालिन समाधान खोज्न सांसद पूर्णा सुवेदीले माग गरेकी छन् । सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद सुवेदीले शनिवार रातिदेखि परेको अविरल बर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाका भारतीय सीमावर्ती गाउँहरु डुवानमा परेको जानकारी गराउँदै वर्षेनी भोग्दै आएको सो समस्याको दिर्घकालिन समाधान खोज्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बाँकेको दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा पर्ने गरेका छन् । शनिवार आएको वर्षा पछिको बाढीले सो क्षेत्रका करिब एक सय घर डुबानमा परेका छन् । एक दर्जन घर भत्किएका छन् । बनियाँ गाउँ, मटहनियाँ, मझेटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेको भन्दै सांसद सुवेदीले राप्ती नदि अघैया देखि नरैनापुर सम्म पक्की ड्याम निर्माण गर्नुपर्ने सुझाव दिएकी छन् ।

उनले डुवानको दिर्घकालिन समाधानका लागि फत्तेपुर देखि नरैनापुरको सिमानासम्म १४ किलोमिटर क्षेत्रमा दुवैतिर पक्कि ड्याम निर्माण गर्नुपर्ने माग सभामुख मार्फत सरकारसंग राखेकी छन् । अन्तराष्ट्रिय नियम अनुसार दुई देशको सिमानामा १२ किलोमिटर क्षेत्रभित्र बाँध निर्माण गर्न मिल्दैन । सिमानामा ८ फिट सडक निर्माणका कारणले गर्दा बनिया गाउँ र मटेहिया गाउँका १२ हजार बिगाहा जमिन बगर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । ति क्षेत्रका बासिन्दाका १० हजार विगाहा जमिन कटान र डुवानको चपेटामा परेको भन्दै दिर्घकालिन समाधानका लागि सरकारसंग माग गरेकी छन् । शनिवार परेको वर्षाका कारण आएको बाढीले पुल, कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुबैतिर कटान गरेको छ ।

लक्ष्मणपुर बाँध बाँके हुँदै बग्ने पश्चिम राप्ती नदीमा नेपाल–भारत सीमा क्षेत्रनजिक यो बाँध छ । सन् १९८० मा सुरु गरेर १९८५ मा भारतले एकलौटी रूपमा लक्ष्मणपुर बाँध निर्माण सम्पन्न गरेको हो । अन्तर्राष्ट्रिय कानुनअनुसार सीमाको १२ किलोमिटर क्षेत्रमा बाँध बनाउन पाइँदैन । तर, लक्ष्मणपुरमा भारतले बनाएको बाँधको पानीले नेपालका गाउँका गाउँ डुब्छन् । कलकलवा तटबन्ध लक्ष्मणपुर बाँधसँगै जोडेर ०५६ मा साढे २२ किलोमिटर लम्बाइ, ५ मिटर चौडाइ र ५ मिटर उचाइ भएको कलकलवा मार्जिनल तटबन्ध होलिया क्षेत्रमा निमार्ण गरेको हो ।

बाँध निर्माण हुनुअघि नरैनापुर र डुडवा गाउँपालिका अन्नको भण्डार मानिन्थ्यो । यहाँका सर्वसाधारण हुनेखाने थिए । जग्गा कटानमा परेपछि उनीहरू भारतबाट खाद्यान्न किन्न बाध्य छन् । सयौँ किसान भूमिहीन भएका छन् । कटानका कारण गाउँ विस्थापित भइसकेका छन् । कलकलवा तटबन्ध निर्माणपछि बाके जिल्लाको पाँच वटा गाविसहरू (होलिया, बेतहनी, फत्तेपुर, गङ्गापुर र मटैहिया) मा डुबान समस्या अत्याधिक भएको छ ।

राप्ती नदीको बहाव कम्दी गाविसको सिधिनिया घाटदेखि होलिया गाविससम्म उत्तर दक्षिणतर्पm बगी होलिया गाविसमा एक्कासि मोड लिई पश्चिमदेखि पूर्व–दक्षिणतिर बगेकोले नदीले पश्चिमतिरको जग्गामा कटान गरी डुबान समस्यालाई सधैँ बल्झाएको छ । कलकलवा तटबन्धले गंधेली र सोतिहिया नालाको प्राकृतिक बहाव थुनिएकोले यसको क्याचमेण्ट क्षेत्रको वर्षात्को पानी पहिलेझैँ बग्न नसकी बण्डको माथितर्पm पानी जम्मा हुन्छ र डुबान समस्या एक दुई दिनदेखि एक हप्तासम्म देखिन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv