यसपालिको धान जोगाउँ, खाद्य सकंटबाट बचौं – केशव कुमार दाहाल (कृषि विशेषज्ञ)

धान अन्न पनि अर्थतन्त्र पनि

दुईजना नेपाली भेट हुन वित्तिकै एकले अर्कोलाई सोध्छन् — भात खानु भयो ? यसबाटै प्रस्ट हुन्छ कि, हाम्रो खानेकुरा भनेको नै भात हो । हुन पनि हो, हामी नेपाली भात मात्र धेरै खान्छांै । कोहि दिनको दुईपटक, कोहि तीन पटक, कोहि त चार पटक सम्म पनि भात खाएको देखेको छु मैले । “ हाम्रो खानपानमा कुल क्यालोरीको ४० प्रतिशत भातले योगदान गर्छ ” यो अध्ययनले पनि देखाउँछ कि भात हाम्रो जीवनमा कति महत्वपुर्ण छ ।

नेपालीको बिहान पनि भात र बेलुका पनि भात खाने चलन देखेर एक पटक एक जना विदेशीले मलाई सोध्नु भयो — तिमीहरु भात मात्र खान्छौ ?
त्यतिवेला त मलाई वहाँको प्रश्नमा त्यति वजन छ जस्तो लागेन, किनभने मलाई पनि लाग्छ भात नै त खाने हो नि, अरु के खाने त ।
तर, प्रश्नले मलाई घोत्लिन बाध्य बनायो । मलाई खुल्दुली लाग्यो, साँचिकै हामीलाई यसरी भातै मात्र खाने बानी कसरी लाग्यो । मैले केहि खोजी गर्ने बिचार गरें ।

पहिले हाम्रा बाबु बाजेले स्थानीय स्थरमै उत्पादन हुने फापर, कोदो, मकै, आलु, उवा, जौ, गेडागुडी बढी खाँदा रहेछन् । नेपालमा धानको ब्यवसायिक खेती लगभग ५०० बर्ष अगाडि देखि हुन थालेको रहेछ । त्यसैले, भात मुल खानाको रुपमा खाने हाम्रो परम्परा धेरै पुरानो होईन । सन १९६० को कृषि क्रान्तिले धानका नयाँ जातहरु विकास भए, रासायिनक मलको प्रयोगले उत्पादन धेरै नै बढ्यो । त्यसपछि त धानको उपभोग एकदमै बढेको पाईन्छ ।

भनिन्छ भातमा परनिर्भरता बढेपछि, पहाडका मानिसहरुले स्थानीय बालीहरु लगाउन छोडे । कर्णालीमा यो कुरा छर्लङ्ग देख्न सकिन्छ । स्थानीयहरुले कोदो, उवा रोप्न छोडेर तराईबाट हेलिकप्टरमा लगिएको चामल खान थाले । सरकारले पनि स्थानीय बाली संबर्धन, प्रवर्धन भन्दा चामल ओसार्ने निती नै लियो । स्थानीय बालीहरुको उत्पादन पनि घट्यो । स्थानीय बालीको उत्पादनमा कमि, अनि बिना अनुदानको चामल हेलिकप्टरमा मगाएर किनेर खान नसक्ने भएपछि, ति ठाउँहरुमा खाद्य असुरक्षा बढ्यो ।

हाम्रो अर्थतन्त्रको आँकडाले पनि धानको महत्व झल्काउँछ । धानले कुल ग्राहस्थ उत्पादन ( जीडिपी ) को ७ प्रतिशत र कृषिको ग्राहस्थ उत्पादनको २० प्रतिशत धानेको छ । त्यसैले त धानको सिजनमा पानी पर्यो भने त्यो बर्ष नेपालको जीडिपी बढ्छ, नपरेको साल घट्छ । नेपालमा धान १५ लाख हेक्टरमा खेती हुन्छ र ५५ लाख मेट्रिक टन उत्पादन हुन्छ । नेपाल कृषि प्रधान देश भए पनि मुख्य खाने बाली धान पनि हामी बाहिर देशबाट आयात गरेर खानुपर्ने अवस्था छ । बार्षिक लगभग ३० करोड रुपया बराबरको चामल आयात गर्छ हाम्रो देशले ।

धानमा कोरोना कहर

तर दुर्भाग्य भनौं, धान रोप्ने सिजनमा कोरोना लागेर यसपाली यो बालीमाथि प्रहार गर्दै छ । हुन सक्छ हाम्रो दालभात सँस्कृतिमाथि पनि प्रहार ।
नेपालमा बर्षेनी ८ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता छ । विदेशबाट मल ल्याएर अनुदानमा दिने काम कृषि सामाग्री कम्पनी लिमिटेडले गर्छ । केन्द्र सरकार मातहत कै यस कम्पनीले देशभरिका आफ्ना कार्यालय र सहकारीहरु मार्फत मल वितरण गर्छ । लकडाउनले ढुवानीमा असर गर्यो, त्यसैले मल वितरणमा समस्या भईरहेको छ । हाम्रो देश उन्नत धानको जातमा आत्म निर्भर भए पनि झन्नै १५ प्रतिशत हाइब्रिड धानको जात विदेशबाट आउँछ । धानको बिउको पनि वितरण प्रणालीमा ठुलो असर परेपछि यसपाली कृषकलाई धानको बिउको समस्या हुने प्राय निश्चित छ ।

नेपालमा धानको बिउ छर्ने काम उच्चपहाडमा चैत्रबाटै शुरु हुन्छ भने तराईमा बैसाख÷जेठमा बिउ छर्नुपर्छ । धान रोप्ने कामका लागि उच्च पहाडदेखि तराईसम्म जेठदेखि असार सम्म चल्छ । कृषकले बिउ किन्न, मल किन्न, खेत बनाउन, बिउ छर्न, कुलो बनाउन, धान रोप्न धेरै पैसाको जोहो गर्नुपर्छ, र उनीहरु लगभग बैसाख देखि श्रावणसम्म नबिसाई खेतीको काम गर्नु पर्छ । अनि मात्र फर्सिन्छ खेतीको काम । खेतीका कामहरु समुहमा गरिन्छन् । धेरै ठाउँमा बाहिरबाट मजदुर आएर खेतीमा सहयोग गर्थे , यसपाली त्यो सम्भावना पनि कम छ । त्यसैले यी सबै काम गर्न कृषकलाई मलबिउको अभाव, रोग सर्ला भन्ने डर र त्रासले असर गरेको छ ।

यसपाली कोरोनाले गर्दा कृषकहरुले भनेजति बिउ पाएनन्, मल पाएनन्, खेतीको काम गर्न सकेनन् भने धानको उत्पादन धेरै नै घट्छ । कसैको घरमा बिरामी परे भने त्यो घरमा कसरी खेती र्फस्याउने भन्ने अर्को त्रास थपिएको छ ।

उत्पादन धेरै नै घट्यो भने चामलको भाउ आकासिएर, असोज देखि नै चामल किनेर खान सकिदैन । गरीब र मजदुरले काम पनि पाउँदैनन, पैसा पनि हुन्न, चामल किनेर पनि खान सक्दैनन् । दशैं को आसपासमा विदेशीएका धेरै दाजुभाई दिदीबहिनी आफ्नै देश र गाउँमा फर्केर आउँदैछन् । त्यतिबेला हामीलाई अझ धेरै चामल चाहिन्छ । झन भोकमरी लाग्ने डर हुन्छ । त्यसैले कोरोना कहरले यसपालिका चाडबाडहरु पनि निकै दुखले भरिएका हुन्छन् भन्ने संकेत गर्दैछ ।

कसरी बचाउने यसपालिको धान खेती ?

आफैं केहि गरौं : यसपालिको धान जोगाउन सक्यौं भने, हामी आसन्न खाद्य सकंटबाट बच्न सक्छौं । हामीले अब बहिरको र किन्ने बिउको मात्र भर नपरौं, आफुले राखेका बिउहरु पनि कृषि प्राबिधिकहरुसँग सोधेर छर्ने गरौं । छरछिमेकमा आफुले राखेको बिउ पैचो दिउँ, अरुलाई पनि रोप्न दिउँ । अहिले पंैचो दिएर उत्पादन भएपछि डबल लिने होइन बराबरीमा साटौं । आफुसँग श्रमहुनेहरुले छिमेकीकोमा सल्लाह गरेर श्रम दिउँ । पैसा अहिले छैन भने सिजनमा धान फलेको बेला त्यहि उपज नै लिउँ ।

गाउँमा कसैको घरमा आउने बैसाख सम्म पनि पुरानै धानको चामल खाने भनेर राखेको हुन्छ, यसपालि त्यसो नगरौं । आफुलाइ मंसिर सम्म हुने मात्र राखौं, आफू पनि बिउ छरौं, बाँकी धान अरुलाई बिउको रुपमा बेचौं । यसपाली मसिनो नै धान खाने भनेर अड्डि नकसौं । मोटा धान रोपौं, उत्पादन बढ्छ, बेच्न पनि पुग्छ । बढेको उत्पादनले अरुले पनि खान पाउँछन् ।

यसपाली हामीलाई छिटै धान उत्पादन गर्न जरुरी छ, दशैं ढिलो छ भरसक दशैं अगाडि नै उत्पादन गर्न सकिन्छ तराईका केहि ठाउँहरुमा । त्यहि भएर छोटा दिनमा हुने धानका जातहरु लगाउन प्ररित गरौं । धानको डिल एउटै पनि खाली नराखौं, मकै बारी भित्र मासको दाल भट्मास लगाउँ । बाटाका डिल, कुलोका डिलमा मास , भट्मास जस्ता बालीहरु छरौं ।

यस्ता कुरा गर्न हामी गाउँ छिमेक, टोलटोल, र आफ्नै समाजमा निर्णय गरौं, यसको लागि सरकारको मुख ताक्नु पर्दैन ।

के गर्न सक्छ सरकारलेः स्थानीय सरकार र कृषि कार्यालयहरुले मल र बिउ ढुवानी गर्नका लागि ढुवानी निशुल्क अथवा भारी छुट गरिदिआंै । देशभित्र उत्पादन भएको बिउ, देश भित्र भएको मल जसरी पनि कृषककोमा पुगोस । यसपालि अलिक बढी पानी पर्दैछ । छिटै बर्षा हुन सक्छ, त्यहि भएर जेठको १५ भित्रमा नै ढुवानीको काम सक्नुपर्छ । त्यसकारण, सेना प्रहरी परिचालन गरेर भएपनि देशभित्र भएका मल र धानका स्टकलाई यथासिघ्र कृषकको घरमा पुर्याउँ ।
कृषि विकास कार्यालयले धानको खसिया पार्ने तरीका, छरुवा तरीकाहरु जस्ता विकल्पहरु पनि सिकाउँ । त्यस्तै कम खनजोत गर्दा हुने बालीहरु, तथा प्रबिधीहरु सिकाउँ ।

अब १५ दिन भित्रमा राज्यका श्रोत साधन प्रयोग गरेर भएपनि देशभरिका विभिन्न कृषि केन्द्र, सहकारी र गोदामहरुमा भएका धानको बिउ र रासायनिक मल कृषकहरुको गाउँमा पुर्याउँ । खेत बारीमा काम गर्नको लागि लकडाउन खुकुलो पार्न र कृषकहरुलाई प्राविधिक सेवा दिन सकेसम्मको पहल गरौं । अनिमात्र हामी आसन्न खाद्य सकंटबाट बच्न सक्छौं ।

केशव कुमार दाहाल
लेखक कृषि विशेषज्ञ हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv