दलित र गरिबी बिचको अन्तर सम्बन्ध – लोग बहादुर परियार (सामाजिक अभियान्ता)

काठमाण्डौं । भनिन्छ कुनै पनि व्यक्ति वा समुदाय रहरले गरिब बन्दैन, उसलाई धनि वा गरिब बनाउनमा त्यहाँको राजनितिक, आर्थिक तथा सामाजिक सांस्कृतिक वातावरणले महत्वपुर्ण भुमिका खेलेको हन्छ । जसको पुष्टि गर्नका लागि गरिबीका अन्तर निहित कारणहरुलाई गहिरो रुपमा बिश्लेषण गर्न अपरिहार्य देखिन्छ ।

गरिबिका अन्तर निहित कारणहरुलाई तिन भागमा बर्गिकरण गरिएको छ, जसमा तत्कालिन, मध्यवति र मुलभुत कारण आदि । तत्कालिन कारणलाई सुन्न, हेर्न र महसुस गर्न सकिन्छ, अल्पकालिन रुपमा असर गर्दछ र तुरुन्तै समाधान गर्न सकिन्छ, मध्यावधि कारणले व्यक्तिको जीवनस्तरमा केही समय सम्म प्रभाव पार्दछ जसलाई सुन्न, देख्न र महसुस गर्न सकिन्छ र मानिसको ज्ञान, सिप र प्रबिधिको बिकास मार्फत समस्या समाधान गर्न सकन्छ तर मुलभुत कारणलाई चाही सुन्न र महसुस गर्न सकिन्छ देख्न सकिन्न । किन भने त्यो अदृश्य हुन्छ, त्यसको असर लामो समय सम्म रहन्छ तुरुन्तै समाधान गर्न सकिदैन । जुन राजनितिक तथा सामाजिक संरचनासंग सम्बन्धित हुन्छ । त्यसलाई फेर्न र बदल्न धेरै समय लाग्ने भएकोले रणनितिक रुपमा मात्र परिवर्तन गर्न सकिन्छ । त्यसैले कुनै व्यक्ति वा समुदाय गरिब बन्न वा पछाडी पर्नुमा त्यहाँको राजनितिक र सामाजिक, सांस्कृतिक संरचना जिम्मेवार हुन्छ भन्ने कुरामा दुई मत रहदैन ।

 

एउटै स्थान वा समाजमा रहेका मानिसहरु किन कोही धनि,कोही गरिब, कोही सानो, कोही ठुलो, कोही सम्मानित र कोही अपमानित भए भन्ने कुरा एकिन गर्न हामीले इतिहासका बिभिन्न कालखण्डमा घटेका घटनाहरुलाई बस्तुपरक ढंगले अध्ययन गर्न आवश्यक छ । मानव शास्त्रका अनुसार सबै मानिसको पुर्खा ढेंढुबाँदर भएको र बिभिन्न युगहरु पारगर्दै वर्तमान अवस्थामा आईपुगेको कुरा पुष्टि हुन्छ । प्राचिन कालमा जतिबेला संसार आदिम साम्यबादि युगमा थियो । नत त्यहां कुनै जात थियो, नत कुनै धर्म, नत कुनै वर्ग र नत कुनै असमानता थियो ।

उत्तर बैदिक काल इ. पु. ६०० देखि २०० पछि भारतमा कृषी युगको बिकास संगै श्रम गर्ने मानिस दास र उत्पादन लिने मानिसहरु मालिकको रुपमा स्थापित हुदां मालिक र दासवर्गको उदय भयो । त्यसै क्रममा इ.पु. २०० देखि १०० मा भारतमा एक जना मनु भन्ने व्यक्तिको उदय भयो । उनले समाजलाई बिभाजन गरेपछि शासन गर्न सजिलो हुन्छ भन्ने हेतुले मानिस संग भएको सिप र क्षमताको आधारमा समाजलाई चार वर्णमा बिभाजन गरि वर्णाश्रम व्यवस्थाको शुरुवात गरे । अलि तिक्ष्ण बुद्धि भएका वा मानसिक कार्य गर्न सक्नेहरुलाई ब्रहामण, नेतृत्वगर्न सक्ने, चलाख र बलियाहरुलाई क्षेत्री, खेती कषानी र व्यापार व्यवसाय गर्ने सिप भएकाहरुलाई बैश्य र कलात्मक र मनोरञ्जनात्मक कार्य गर्ने सिप भएकाहरुलाई शुद्रको संज्ञा दिए । सोही बमोजिम ब्रहामणलाई पुजापाठ गर्ने शिक्षाको जिम्मा, क्षेत्रीलाई राज्य संचालन गर्ने रक्षकको, बैश्यलाई उत्पादन गरि सबैलाई पाल्ने पोषकको र शुद्रलाई सबैको सेवा मुलक काम गर्ने सेवकको जिम्मा दिइयो ।

शुरु शुरुमा कुनै व्यक्ति जुन वर्णमा जन्मिेको भए पनि उसको गुण र क्षमतामकाृ आधारमा जुन वर्णको पनि काम गर्न सक्ने वा जुन सुकै वर्णमा जान सक्ने व्यवस्था चल्दै गयो अथवा गुण, सिप र क्षमताको आधारमा उसको वंश तय हने परिपाटी थियो ।यस परिपाटी अन्तर्गत रक्त मिश्रणको समस्या हुने हुदा जुन वर्णमा जन्मेको हो सोही वर्णको काम गर्नुपर्ने, अन्य वर्णको काम सिक्न नपाईने वा गुण र क्षमताको आधारमा नभएर जन्मको आधारमा वंश तय हुने परिपाटी चलाए । यसरी आफ्नो क्षमता र इच्छा अनुसारको काम सिक्न नपाएपछि शुद्र तथा अन्य वर्णको मान्छेहरुले बिरोध वा आन्दोलन गर्न थालेपछि त्यसका बिरुद्ध शासक वर्गले बिभिन्न नियमहरु बनाएर एक अर्काको काम र वर्णमा जान बन्देज लगाएर वर्ण व्यवस्थालाई बलियो बनाउदै गए । राजा मनुले मनुस्मृती लगायत बिभिन्न ग्रन्थहरुको रचना गरि वर्ण व्यवस्थालाई झन कडा पार्ने काम गरे । मनुस्मृतीमा शुद्र वर्णका मानिसहरुले पढ्न लेख्न नपाउने, आय आर्जन मुलक कामहरु गर्न नपाईने, उनीहरुले ज्ञान, पुराण यज्ञ र शास्त्रका कराहरु सुन्न नपाईने, शुद्रहरुको कुनै धर्म हुदैन, अरुको सेवा गर्नलाई नै जन्मेको हुनाले सबैको सेवागर्ने उनीहरुको धर्म हो र शिक्षा र आर्थिक हितका कार्य गरेमा वा अन्य वर्णको मानिसहरुको मुखमा लागेर बोलेमा कडा यातना दिने कुरा उल्लेख गरि सोही बमोजिमको व्यवहार गर्न थालियो । यसरी वर्णश्रम व्यवस्थालाई जातीय व्यवस्थामा परिणत गरि कठोरता पुर्वक लागु गरियो ।

बर्णा श्रम व्यवस्थाको नियमानुसार ब्रहामण वर्णका मानिसहरुलाई मानसिक कार्य गर्ने वा शिक्षाको जिम्मा त्यसमा पनि कर्म काण्डमा आधारित बैद्धिक शिक्षा दिने अधिकार अनुरुप उनीहरुले कथा, रुद्री, पुजापाठ गरेवाफत दान दक्षिणा पाउनथाले र आर्थिक रुपमा सबल बन्दै गए । क्षेत्री वर्णका मानिसहरुले नेतृत्व लिने र श्रोतको परिचालन गर्ने अधिकार पाए अनुरुप उनीहरु पनि आर्थिक र राजनितिक रुपमा बलिया बन्दै गए, बैश्य वर्णका मानिसहरले खेती कृषानी र व्यापार व्यवसाय जस्तो उत्पादनमुलक र नाफामुलक कामगर्ने अधिकार अनुसार आर्थिक रुपमा सबल बन्दै गए, तर शुद्र वर्णको मानिसहरुले भने सेवामुलक र मनोरञ्जनमुलक काम गर्ने जिम्मेवारी तोकियो ।शुद्र वर्णका मानिसहरुले रातदिन काममा जोतीनु पर्ने काम गरेवाफत ज्याला नपाउने , मालिकले जे दियो त्यो खाने जस्तो दियो त्यो लगाउनु पर्ने, कामको व्यस्तताले सरसफाई गर्ने समेत फुर्सद नहुंदा एकातिर उनीहरु शरीरिक रुपमा फोहोर बन्दै गए, शिक्षा र चेतनाको बिकासबाट बन्चित भई अशिक्षितबन्दै गए भने उता आर्थिक रुपमा पनि कम्जोर बन्दै गए । यसरी उनीहरु सबै क्षेत्रमा कम्जोर हुदै गएपछि उनीहरुको हातको पानी नचल्ने बनाए, वर्ण व्यवस्थामा सबै भन्दा सानो बनाएर अछुतको दर्जामा राखे र पछि शुद्र वर्णको मानिसहरुलाई दलित भन्न थालियो ।

जतीबेला नेपालमाबाईसे चौबिसे राज्य थिए । राजा जयस्थिती मल्लले आफ्नो शासनकाल (इ.१३६०–९५) अन्य सामाजिक कार्य संगै भारतबाट ५ जना ब्रहामण बोलाई मनस्मृतिको आधारमा मानव न्यायशास्त्र नामक पुस्तक लेख्न लगाई समाजलाई चार वर्ण अठार जातमा बिभाजन गरे । उनले आफ्नो राज्य काठमाण्डौमा वर्ण व्यवस्था वा जातीय प्रथालाई सामाजिक नियमको रुपमा लागु गरे । त्यसपछि राजा पृथ्वी नारायण शाहाले नेपाल एकिकरणको अभियान संगै चार वर्ण छत्तिस जातको नारा मार्फत समाजलाई चार वर्ण छत्तिस जातमा बिभाजन गरि जातयि प्रथालाई देशभरी फैलाएका थिए । बि.स.ं १९१० मा जंग बहादुर राणाले पहिलो मलुकी ऐन जारी गरि जातीय प्रथालाई कानुनी मान्यता दिए । जसमामनुस्मृतिको आधारमा तयार गरेको मानव न्याय शास्त्रमा व्यवस्था गरेका वर्ण व्यवस्था, जातीय भेदभाव तथा छुवाछुत प्रथालाई कडाईका साथ उल्लेख गरिएको थियो ।

 

समयको बिकासक्रम संगै जब मुलुकमा लिखित संबिधान निर्माण गरि शासन व्यवस्था संचालन गर्ने परिपाटकिो शरुवात भए संगै दलित समुदायका लागि प्रतिबिन्धित गरेका केही कराहरुलाई खुकुलो पार्ने कार्यहरु भए । बि.सं. २००४ मा राजा सुरेन्द्र बिक्रम शाहले मुलुकको पहिलो लिखित संबिधान निर्मैण गरि उक्त संबिधानमा सबैमा धार्मिक स्वतन्त्रता तथा समानता भन्ने शब्द उल्लेख गरेको थियो ।नेपालमा १०४ बर्षे जहानिया राणशासनको अन्त्य गरि प्रजातन्त्रको स्थापना भए संगै नेपालको अन्तरिम संबिधान २००७ मा सबैमा शिक्षा र आर्थिक हित व्यवस्था भन्ने शब्द उल्लेख गरियो ।

माथि उल्लेखित घटनाक्रमहरु बाट के कुरा पुष्टि हुन्छ भने हिजोको राज्यसत्ता र सामाजिक सांस्कृतिक संरचना जतिबेला राज्य संचालन गर्ने कुनै लिखित संबिधान थिएन र धार्मिक ग्रन्थहरुकोे आधारमा राज्य संचालन गरिन्थ्यो र सोही अनुसारको सामाजिक सांस्कृतिक संरचना निर्माण गरि गरियो । त्यही बिभेदकारी राज्यसत्ता र सामाजिक सांस्कृतिक संरचनाले नै दलित समुदायलाई बहिस्करणमा पारि बिभिन्न अवसरहरुबाट बन्चित गरिएको थियो ।यसरी शुद्र वा दलित भएकै कारण बिभिन्न अवसरहरुबाट बन्चित हुनु परेकोले उक्त समुदाय गरिबीको उच्च चपेटामा परेको पाइन्छ । हामी जो कसैले पनि अनुमान गर्न सक्छौ कि, यदिउक्त समुदायहरुले पनि परापुर्व काल देखि नै अन्य समुदायले झै शिक्षा आर्जन गर्न, आय आर्जनमुलक क्रियाकलाप गर्न र राजनिति गर्ने अवसर पाएका भए हरेक क्षेत्रमा अपांग र अशक्त भएर गरिबीको सामना गर्न पर्दैनथ्यो होला । यहि कुरा महसुश गरेर होलाअहिलेको राज्य सत्ताले उक्त समुदायलाई लक्षित समुदायमा राखेर सकारातमक बिभेदको रणनिति अवलम्वन गरेको छ ।

वास्तविक रुपले समाजको बस्तुगत स्थिती अध्ययन गर्ने हो भने ुबेरोजगारमा सबैभन्दा बढी दलित, राजनितिमा सबैभन्दा पछाडी दलित, बार्षिक मृत्युदर सबैभन्दा बढी दलितको औषत आयु सबै भन्दा कम दलित समुदायको देखिन्छ । दलित समुदाय आफ्नो स्व इच्छाले पछाडी परेका होइनन् उनीहरलाई पछाडी पारिएको हो । धुव्रसत्य कुरा के हो भने ”जे रोप्यो त्यही उम्रिन्छ”पढ्न लेख्न नपाएको मानिसले अशिक्षित बन्नु, आर्थिक अवसर नपाएको मानिसले गरिब बन्नु, भन्ने बोल्ने अधिकार र राजनिति गर्ने अवसर नपाएको मानिसले नेतृत्वहिन बन्नु र धार्मिक सांस्कृतिक अवसर नपाएको मानिसले नास्तिक बन्नु स्वभाविक नै हो ।

हामीले उदाहरणको रुपमा एउटा लौकीको बिरुवालाई लिन सक्छौ । त्यसले मलजल, थ्यांग्रा र उचित हावापानी पायो भने त्यो राम्रो संग हुर्किन र राम्रो फसल दिन सक्छ तर उचित वातावरण पाएन भने त्यो माथि उठ्न सक्दैन र त्यही मर्छ । मानिसको कुरा पनि त्यही हो ।शिक्षा बिद् पाउलोफ्रेरेले भनेका छन्, “हरेक मानिससंग अन्तरनिहित क्षमता हुन्छ, त्यसलाई बाहिर ल्याउन र बिकास गर्न उचित वातावरण चाहिन्छ” एकपटक बिचार गरौत, के दलित समुदायको मानिसहरु संग सिप र क्षमता नभएको हो त?क्षमता नभएको होइन गर्न नदिएको हो । गरिब भएर दलित भएको होईन, दलित भएर गरिब भएको हो ।बिभिन्न कला, क्षेत्रमा लागेैे कारण पानी अचल भएकोले उनीहरुलाई दलित भनियो । दलित भएकै कारण उनीहरु धर्म संस्कृतिको नाममा बिभिन्न प्रथा परम्पराको शिकार भएर आर्थिक रुपले शोषित भए, समाजमा मर्यादाहिन भए, राजनैतिक रुपमा आवाजहिन र मनोबैज्ञानिक रुपमा दमित भए ।सामाजिक बिश्लेषणको नियमले के भन्छ भने जुन समुदाय सामाजिक सांस्कृतिक र आर्थिक रुपमा बलियो हुन्छ ,त्यो समुदाय राजनितिमा पनि अगाडी हुन्छ, जुन समुदाय सामाजिक सांस्कृतिक रुपमा कमजोर हुन्छ , त्यो समदाय राजनितिमा पनि पछाडी हुन्छ । यहां दलित समुदाय पछाडी पर्नुमा वर्तमानको कुनै जाती समुदाय सरकारलाई दोष लगाउन खोजिएको होइन र दोष पनि होईन । यसको दोषी भनेको पुरानो राज्यसत्ता र सामाजिक सांस्कृतिक संरचना हो ।

२००७ साल पछि मुलुकको शासन व्यवस्था र राजनितिक स्वरुप परिवर्तन भए पश्चात बिभिन्न समयमा निर्माण भएका संबिधान र ऐन कानुनहरुले जातयि भेदभाव तथा छुवाछुतप्रथालाई निरुत्साहित गर्दै आईरहेका छन् ।हिजोको राज्यसत्ताले दलित समुदायमाथि नकारात्मक बिभेद गरि बहिस्करण गरेकोले सरकारले समाबेशिकरणको सिन्द्धान्त अवलम्वन गरिरहेको छ ।मुलुकलाई छुवाछुत मुक्त राष्ट घोषण गरिएको छ । छुवाछुत कसुर र सजाय ऐन २०६८ निर्माण गरि जातीय भेदभाव तथा छवाछुत बिरुद्ध कडा सजायको व्यवस्था गरिएको छ । उनीहरुलाई बिकासको मुलधारमा ल्याउनका लागि सकारातमक बिभिेदको निति लिएको छ । २०७२ सालको संबिधानको प्रस्तावनामा नै जातीय भेदभाव तथा छुवाछुतको व्यवहारलाई मानवता बिरुद्धको जघन्न्य अपराध भएको करा उल्लेख गरिएको छ ।संबिधानको धारा २४ मा दलितको हक र धारा ४० मा जातीय भेदभाव तथा छुवाछत बिरुद्धको हकलाई मौलिक हकको रुपमा उल्लेख गरिएको छ ।जसको परिणम स्वरुप अहिले राज्यका हरेक निकायमा दलित समुदायको सहभागिता भइरहेको छ । स्थानिय तह वडामा निर्वाचित हुने ५ जना सदस्य मध्य २ जना महिला र महिलामा पनि एक जना दलित महिला अनिवार्य हुने कुरा संबिधानले नै सुनिश्चित गरेकोले आज उनीहरुको स्थानिय सरकारमा सहभागिता बढिरहेको ।दलित समुदायका छोराछोरीहरुलाई छात्रबृत्ति सहितको उच्च शिक्षा र प्राबिधिक शिक्षा उपलबध गराउने कुरा संबिधानले सुचत गरेको हनाले प्राबिधिक उच्च शिक्षामा दलित बालबालिकाहरुको पहुच तथा सहभागितामा बृद्धि भईरहेको छ ।राजनिति दल, संसद र सरकारमा दलित समुदायको सहभागिता भईरहेको छ । तिनै तहका सरकारले आफ्ना बार्षिक निति तथा कार्यक्रमहरुमा दलित समुदायलाई लक्षित वर्गको रुपमा राखेर उनीहरका लागि आयआर्जनमुलक तथा क्षेमता बिकासका कार्यक्रमहरु संचालन गर्दै आईरहेका छन् । जसले उनीहरुको आर्थिक तथा मानविय बिकासमा महत्वपुर्ण योगदान पुगेको छ । अतः राज्यको निति तथा संरचनाले मानिसलाई दलित र गरिब बनाउने र नितिले नै सशक्त नागरिक बनाउने भएकोले दलित भएकै कारण उक्त समुदाय गरिबीको शिकार भएको कुरा निर्विवाद छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv