मैले नदेखेको ‘बुबा’- मोहन कुमार पौडेल (साहित्य )

मेरो बुबा खोई मामा? हिजो मिसले मलाई तिम्रो बाबाले के काम गर्नुहुन्छ भनेर सोध्दा म अक्मकिएँ। क्लासभरिका सबै साथिहरु गलल्ल हाँसे। मलाई स्कुलका केहि साथिहरुले यस्को त बाउ नै छैन जस्तो छ भन्न थालेका छन्।
भन्नुस् न मामा मेरो बुबा कहाँ हुनुहुन्छ? मलाई किन भेट्न आउँनुहुन्न? मैले ६ कक्षामा पढ्दा सोधेको थिएँ।

मेरो मुखतिर हेर्दै मामाले आँखाभरी आँसु ल्याउनुभयो। केहि बोल्ने आँट नै गर्नुभएन। यसअघि मैले मामाको आँखामा कहिल्यै आँसु देखेको थिएन। आँसु पुछिदिंदै भने ‘भैगो नरुनुस्, बरु मलाई केही भन्नु पर्दैन’। मामा त्यसपछि झनै भक्कानिएर रुन थाल्नुभयो। उहाँका आँसुहरु लगभग २ मिनेटजति लगातार बगिरहे। मलाई लाग्छ सायद उहाँलाई बिगतको द्वन्दमा आफ्नी एक्लि दिदी गुमाएको कुरा स्मरण भयो।

मलाई मेरो बुबाको बारेमा कसैसंग खुलेर सोध्न आँट आउनै छाड्यो, जुनदिनदेखी माइला मामालाई मेरा प्रश्नहरूले रुवाए। बुबाको बारेमा जान्ने भित्री ईच्छा हुँदाहुँदै पनि मैले आफ्ना ईच्छाहरुलाई दबाएर राखें। नियन्त्रण गरेर राखें। सानैदेखि बुबालाई नदेखेर होला बुबाको माया र जिम्मेवारी कस्तो हुन्छ मैले बुझ्न एवम् भोग्न पाएन। माया, संस्कार, ब्यवहार, शिक्षा, संरक्षण जे जति पाउनुपर्ने मैले मामा माईजुबाटै पाएँ।

बुबा-आमाको ठाउँमा मामा माइजू, दाजुभाई र दिदीबहिनीको ठाउँमा मामामाईजुको छोराछोरीहरु। आहा! म पनि त एउटा सुन्दर परिवारको सदस्य थिएँ र अहिलेसम्म छु। तिहारमा कहिल्यै पनि मेरो निधार खाली रहेन। म परिवार बिहिन एक सदस्य हुँ भन्ने महसुस मलाई कहिल्यै भएन। चन्द्रबहादुर, दिनेश, मदन, गोपाल, बिर्ख आदि साथीहरूको अटुट साथ। नसिप दाई, नैनसिंह, कुशल, शंकर, राजन अनि प्रेम दाईहरुले मलाई सधैं पढ्नुपर्छ है भाई भन्दै हौसला दिनुभएको म कहिले भुल्न सकुँला र? केशव दाईले मलाई सानैदेखि माया गरेर ‘बिस्वास साथी’ भन्नुभएको म कहिले बिर्सन सक्छु र! उहाँहरू सबैप्रति आभारी छु।

समय बित्दै गयो म हुर्किदै गएँ। हेर्दा हेर्दै १० कक्षामा पढ्ने समय पनि आएछ। सामुदायिक विद्यालयबाट एस्एलसी परिक्षाको नतिजामा प्रथम श्रेणिसहित उतिर्ण भएँ। उतिर्ण भएको दिन खुशी हुँदै भन्न मन थियो “बुबा मैले प्रथम श्रेणीसहित एस्एलसी परिक्षा उतिर्ण गरें”। तर विडम्बना मसंग न त बुबाको फोन नम्बर नै थियो न त मैले मेरो बुबालाई नै चिनेको थिएँ। हुन त म दुखी हुनुपर्ने अवस्था पनि थिएन। किनकी एस्एलसीमा आएको उक्त नतिजाले मेरो मामा असाध्यै खुशी हुनुहुन्थ्यो। म हुर्केको परिवारका सबै सदस्यहरु खुशी थिए।

कक्षा १२ मा पढुन्जेलसम्म मलाई बुबाको आवश्यकताबारे खासै चासो थिएन। सायद हामि कहिल्यै पनि सम्पर्कमा नभएकोले त्यसो भएको होला। जब मैले १२ कक्षा उतिर्ण गरें तब महसुस भयो कि म त देशको एक नागरिक पो भैसकेछु। हेर्दाहेर्दै जिवनका २० बर्षहरु सकिएछन्। त्यसपछि मलाई मेरो पहिचान चाहिने भयो। म कसको छोरा हुँ भन्ने पहिचान। बुबातिर बाट मैले सानैदेखि राइँला बुबाको जेठो छोरा, मेरो ठुल्दाई (बिजय कुमार पौडेल) लाई चिनेको थिएँ। मलाई नागरिकता चाहिने बित्तिकै उहाँलाई सम्झिएँ।

ठुल्दाई, नमस्कार!

‘नमस्कार’! के छ भाई खबर? उहाँले सोध्नुभयो।

सबै कुरा ठिक छ दाई। उहाँलाई हालखबर नै नसोधी मैले सिधै भने दाई मलाई तपाईको एउटा सहयोग
चाहिएको थियो।

‘भन् न’… के कुरा हो?

दाइ मलाई नागरिकता चाहिने भो। स्टुडेन्ट भिसामा बाहिर पढ्न जाने सोचेको छु। नागरिकता नभै पासपोर्ट नै नबन्दो रहेछ।

‘ए… ल ठिक छ’। म काइँला बा संग कुरा गर्छु। तँ खलंगा आ न त, तेरो नागरिकता बनाम्ला।

हुन्छ दाई।

‘अरु त ठिक छ नि? काँ छस् अहिले?’

हजुर, अरु सबै ठिक छ। म काठमाडौं छु।

ल ल… एक हप्तामा आईपुग् ल। म पनि छुट्टी लिएर आको। उता काममा फर्किनु पर्छ। नेपाल आर्मीमा कार्यरत ठुल्दाईले भन्नुभयो ‘अहिले फोन राख्छु।’ आफ्नो ख्याल गर्नु। बाई।

भोलिपल्टै म काठमाडौंबाट आफ्नो जन्मथलो रुकुमको लागि बस चडें। गुडिरहेको बसभित्र एकोहोरो रूपमा अनगिन्ती प्रश्नहरु मनमा खेलिरहे। बुबाको तर्फबाट मलाई नागरिकता बनाउँन सहयोग मिल्छ होला कि नाइ? बुबा र मेरो फोनमा कुरा होला कि नाइ?
बुबाले मलाई माया गरेको भए मलाई पनि बुबाको माया किन नलाग्दो हो र? बुबाले मलाई भेटेको भए मलाई पनि बुबालाई देख्न मन किन लाग्दैनथ्यो होला र? तर पनि म बुबालाई एकदिन अवश्य भेट्ने छु। उहाँ मदेखि टाढा हुनुको कारण थाहा पाउने छु। यस्ता थुप्रै कुराहरु सोच्दा सोच्दै निदाएछु।

रुकुम पुगेको चौथो दिनमा ठुल्दाईसंग भेट भयो। बुबाको बारेमा ठुल्दाईबाट धेरै कुराहरू जान्ने अवसर प्राप्त भयो।
द्वन्द्वकाल पछि मेरो बुबा बाँके जिल्लामा बस्दै आउनुभएको रहेछ।

फोन लगाएर ठुल्दाईले मलाई मोबाईल दिदै भन्नुभयो ‘ल बुबासंग कुरा गर…।’

हेलो…

हेलो बाबु … मोहन!

हजुर, ‘बुबा’ भन्नुस्…।

तँ मेरो छोरा होस्। आज तेरो नागरिकता बन्दै छ। खुशी लागेको छ। बिगतमा जे भयो सबै कुराहरु फोनमा गरेर साध्य छैन र सकिदैन पनि। सबै कुराहरु भेटेरै गरौंला। मैले तँलाई भेट्न नखोजेको होईन बाबु तर परिस्थिति नै त्यस्तै भयो। आफ्नो सन्तानको माया कसलाई पो हुँदैन र? मेरा जम्मा ४ भाईना छोराछोरी छौ। तँ, अरु दुई दाजुभाइ र एउटी बैनी। तिमीहरु सबैजना मेरा लागी समान छौ। तँलाई पनि मैले अंश राखिदिएको छु। तेरो पढाई लेखाई राम्रो छ भन्ने सुनेको छु अझै सफल हुँदै जानु, आशीर्वाद छ बाबु।

यी कुराहरू बोल्दा बुबाको हरेक शब्दहरुमा करुणा, माया र आफ्नोपनाको भाव थियो। म जन्मिएको २० बर्षपछि आफ्नै बुबाबाट सुनेको पहिलो आवाज मलाई कस्तो महसुस भईरहेको थियो होला? प्रिय पाठकहरु, तपाईहरु नै अनुमान गर्नुस् न!

मलाई के भनौं भनौं भयो। एकछिन त अक्मकिएँ। केहिबेरपछि लामो स्वास लिएर भनें ‘बुबा मेरो पिर नगर्नुस्।’ आफ्नो ख्याल गर्नुहोला।
यो भन्दा बढी म बोल्नै सकिनँ। असहज महसुस भयो।

त्यो दिन मलाई एउटा फरक किसिमको अनुभुति भयो किनकी मैले त्यसअघि ‘बुबा’ शब्द प्रयोग गर्ने अवसर कहिल्यै पाइनँ। मेरो फोन नम्बर बुबाले आफ्नो मोबाइलमा सेभ गर्नुभयो र मैले उहाँको। त्यसपछि बुबाले तत्कालीन पिपल गा.वि.स सचिवसंग कुरा गरिदिनुभयो, उहाँको नागरिकताको कपि फ्याक्स गरेर पठाईदिनु भयो अनि मेरो नागरिकता सहजै बन्यो।

मेरो नागरिकता बनेको दिन मैले बुबालाई मनमनै धेरै नै धन्यवाद दिएँ जसले मलाई म उहाँको छोरा हुँ भन्ने पहिचान दिनुभयो। विविध परिस्थितिका कारण मैले मेरो बुबालाई अझैसम्म पनि देखेको छैन। आशा छ एकदिन हाम्रो भेट अवश्य हुनेछ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv