लोकगीतको आलोकमा अम्बरका अमर भाखा – प्रकाश सायमी (लेख )

काठमाण्डौ,जेठ २४ । संगीतकार अम्बर गुरुङको रचनाको संसारमा दुई दृश्यमान पक्ष छन्, शास्त्रप्रदत्त संगीतको ज्ञान र नेपाली लोकसंगीतको पाश्र्वभूमि ।
नेपाली संगीतको १०८ वर्ष लामो सांगीतिक इतिहासमा आधा शताब्दी लामो गौरवपूर्ण सांगीतिक यात्रा तय गर्ने सौभाग्य संगीतकार अम्बर गुरुङले पाएका छन् ।
सर्वविदीतै कुरा हो, गुरुङको सांगीतिक यात्रा भारतको पहाडी राज्य दार्जीलिङबाट शुरु भयो । दार्जीलिङ, त्यो समय हिन्दी गीतसंगीतबाट मुक्त र अछुत थियो तर नेपाली शैलीका संगीतको वैभवका निम्ति हरि प्रदीप उदय, जीतेन्द्र बर्देवा, एचमान गुरुङ सक्रिय थिए भनें अम्बर त्यही वेला अगमसिंह गिरीको शब्दमा आफ्नै संगीतमा नौलाखे तारा उदाए लिएर उदय भए, यस गीतको रेकर्ड पछि उनको जे जस्तो परिचय बन्यो त्यो इतिहास बन्यो ।

समला धुनमा तयार पारिएको यस गीतमा शरण प्रधानको मैण्डोलिन, गोपाल योञ्जनको बाँसुरीले करामत गरको छ तर त्यसगीतमा भएको लोक शैलीको भाववोध र रचनात्मक पक्षलाई प्रायःले मनन गर्न भ्याएन । यसपछि अम्बरले घाम जून पञ्च साँची राखी, बाँध मायाले जस्ता गीत संगीत गरे जसमा पनि लोक बाजाको संयोजन र ताल बाजामा नेपाली लोकभाकाको छाप देखिन्थ्यो ।

दोस्र्रो पटक चर्चामा आएको रुद्रमणी गुरुङ र अरुणा लामाले गाएको उनको युगल गीत ‘ए कान्छ मलाई सुनको तारा खसाई देउ न, गायन र संगीत संयोजनका हिसाबले न्यूनाधिक्य रुपमा नेपाली लोक गीत जस्तो सुनिए पनि यो अम्बरको खूबी हो उनले भाव पक्ष र गायनको सम्प्रेषणीयतामा नेपालीयता कायम राखे , यसैकारणले पनि भारतीय मूलका संगीतकार आरडी बर्मनले यसलाई नेपाली लोक गीत सम्झेर नै हिन्दी पाश्र्वगीतमा प्रयोग गरेको कुरा उनका जीवनी लेखक अनिरुद्ध भट्टाचार्जी र बालाजी विट्टलले आरडी बर्मन दी म्यान्, दी म्युजिक मा उद्धृत गरेका छन् ।

नेपाली संगीतकारमा पूर्वीय र पश्चिमीया संगीतका पोख्त ज्ञाता मानिने अम्बर मात्र एक संगीतज्ञ हुन् उनले मेरो आँखालाई राख्ने फूलवारी छैन, पोखिएर घामको झुल्का जस्ता गीतमा जुन किसिमको लयविधान रचेका छन् , त्यसमा पहाड तराईको समन्य र स्पशै देखिन्छ । उनले यी गीतमा जुन किसिमको वाद्यसंयोजन गरेका छन् त्यसले नेपाली जनजीब्रोको लोक लयलाई सिंचन र संरक्षण गरेको बुझिन्छ तर उनमाथि प्रायः संगीत समीक्षक र संगीतकर्मीको आरोप एउटै थियो, अम्बरलाई पश्चिमीया संगीतको जति ज्ञान छ, त्यति नेपाली लोक गीतको ज्ञान छैन ।

यो आरोप धेरै समयसम्म उनको वरिपरि घुमिरह्यो । यो आरोपको सामना गर्ने र यसलाई प्रतिवादको रुपमा जवाफ दिने अवसर उनले मालती मङ्गले नामक् गीति नाटकमा पाए । यो उनको निम्ति चुनौति पनि थियो र परीक्षा पनि ।

विक्रमाब्द २०२६ मा संगीतप्रमुखका रुपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेका अम्बरले संगीत निर्देशकका रुपमा वढुवा भएपछि प्रज्ञाकै नाटक ‘पहाड चिच्याइरहेछ, ‘जब घाम लाग्छ, ‘फर्केर हेर्दा’ जस्ता नाटकमा आफ्ना शिल्प र क्षमता देखाइसकेका थिए तर समय वा कारणले साथ नदिएर उनले नेपाली लोक संगीत पक्षमा आफ्नो दह्रो उपस्थिति देखाउन पाएका थिएनन् ।

स्वरसम्राट नारायणगोपालले महाकवि देवकोटाको ‘सगरभरि छाती चिरी’ जस्तो गीतमा लोपप्रायः भइसकेको पूर्वीय लोक बाजा एकतारेलाई कुशल वाद्यवादक जसबहादुर राई मार्फत् प्रस्तुत गनुृ र नारायणगोपाल स्वयम्ले ‘ए कान्छा ठट्टैमा बैंश जान लाग्यो ’ जस्तो गीतमा नेवारी लोक धुन ‘गुँला म्ये’को विशिष्ट प्रयोग गरिनुले अम्बरका निम्ति एउटा चुनौति यथावत् नै थियो, आफ्ना समकालीन नातिकाजी र शिवशंकर संगीतमा पनि लोकपक्षको भरमार प्रयोग देखिइनु अम्बरका निम्ति लञ्चिंग प्याड् नै बनेको थियो । उनका शिष्य गोपाल योञ्जनले आफ्ना मीत कल्याण शेरचनसित मिलेर पश्चिमीय लोकभाकामा व्यापक र विस्तीर्ण खोज गरिरहेका वेला अम्बरको भागमा मालती मंगले गीति नाटक आइपुग्यो, २०४० सालमा ।

कविवर माधव घिमिरेले पश्चिम नेपालको परिवेशमा रचना गरेको मालती मंगले मा पात्रगत रूपमा तीनटा क्लास (वर्ग) थियो, शासक, शोषक र शोषित । यी तीनै वर्गको प्रतिनिधित्व गर्ने त्यहाँ एउटै वैचारिक आरोह अवरोह थियो, स्थानीयताको रंग दिन सक्ने गायन र संगीत ।

संगीत रचनाका हिसाबले मालती मंगले अम्बर गुरुङ को भव्य उपस्थिति थियो । यसको सांगीति पक्ष सम्पूर्ण रुपले पश्चिमीय नेपालको लोकलयमा आधारित थियो । लोकगीतलाई सम्पूर्ण सुगम संगीतको मातृभूमि मान्ने अम्बरले यसमा संगीत गर्दा सबैलाई नाजवाफ नै बनाइदिएका छन् । मालती मँगलेका मूल गायक नारायणगोपालले समेत गीत रेकर्ड गर्नु भन्दा अगाडि अम्बरलाई फोक म्युजिकको के ज्ञान छ भनेर गीति नाटकका रचयिता माधव घिमिरेलाई प्रश्न गर्दा उनले मौन वस्नु परेको स्मरण उनी गर्छन् तर नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालय भित्र रेकर्ड गरिएको मालती मंगलेका गीतमा गोपालनाथ योगी, मोहन सुन्दर श्रेष्ठ, जेवी लामा जस्ता कुशल वाद्यवादकले काम देखाएका थिए भनें गायनमा तारादेवी, नारायणगोपाल, सुक्मित गुरुङ, किरण प्रधानले आफ्नो स्वर र क्षमताको पहिचान दिएका थिए ।

कवि घिमिरेले रचना गरेका पश्चिमीया नेपालको लोक भाका र लोक बाजालाई अम्बरले सकुशल संयोजन गरेका थिए । यस गीति नाटकका चर्चित गीत ढोका खोल मालती ढोका खोल न, शिरको टोपी भइँमा राखी म गर्छु विनती, आज भोलि दुख्दैन गोडा मैनकाँडाले घोचे पनि, म जहाँ जान्छु ठक्कर खान्छु म कहाँ जान्छु र, मलाई पनि लानुस् हुजुर जस्ता गीतमा नेपाली लोकसंरचित भाखाको सुदुर र सुरम्य प्रयोग भएको छ ।
नेपाली आधुनिक संगीतका निर्माता मध्ये एक मानिने अम्बरलाई नै यस नाटकमा चयन गर्नुका कारण रचनाकार माधव घिमिरेले भनेका छन्, अम्बरजीमा लोक संगीतको पूर्ण ज्ञान छ तर त्यसको सही प्रोग भएको छैन यो यसैको नमूना हो ।

यो नाटकमा अम्बर गुरुङले प्रयोग गरेको बाजको सम्मिश्रण र स्वरिताको पूर्ण भावभूमि नेपाली लोक गीत नै हो तर दुई उत्कृष्ट समुह गायन –क्वायर ) र विशाल वाद्यवृन्द –सिम्फोनी) को अनुभव आर्जन गरिसकेका अम्बरले नेपालमा चराको संसार (वाद्यवृन्द) घर र लाहुर (क्यान्टेटा ) लघु वाद्यवृन्द –मिनी सिम्फोनी) पनि गरिसकेका थिए ।
पश्चिमी बाजालाई नेपाली परिवेशमा सही छनौटका आधारमा प्रयोग गर्न सक्ने अम्बरले नेपाली कथानक चलचित्र जीवन रेखा को पृष्ठ गीत कहिँ आफ्नै भुँवरीमा आफैँ पर्यौ कि ? भन्ने गीतमा खूब करामत गरेका छन्, राजै शब्दको प्रयोग र म्युजिक एरेन्जमेन्टमा । पहाडी पृष्ठभूमिका निम्ति शहरीया चरित्रद्धारा गाइने यस गीतमा अम्बरले यात्रावृत्त र स्मृति –कन्टेटा) को इफेक्ट दर्विलो पाराले दिएका छन् ।

भारत सरकारको सिक्किम राज्य बाट बनेको आदिकवि भानुभक्त नामक् सिनेमाका निम्ति मुम्बईमा रेकर्ड गरिएको पाश्र्व गीत र संगीतमा अम्बरले बलिउड फिल्म इन्डस्ट्रीका वाद्यवादक प्रयोग गर्दा पनि नेपाली फ्लेबर ( गन्ध र लय)को सांगीतिकता कायम राखे । यसै वृत्तचित्रका निम्ति उनले आफैँ गाएको भानुभक्तको रचना अपला चपला अमरावति कान्तिपुरी गाउँदा त्यसमा मिस्सिएको ऐतिहासिकी र भानुको जन्मस्थलको काल्पनिकी एक सुस्वादु संयोजनका रुपमा व्यक्त भएको छ ।
अम्बर गुरुङको संगीतमा पाइने लोक वाद्यवादनको प्रयोग एक इतिहासमा उनी सम्वद्ध दार्जीलिङको आर्ट एकादेमीसित जोडिन्छ, त्यतिवेला वीसको दशकमा उनी नेपाली लोक बाजा र धुनको खोजी दार्जीलिङका कमान र वस्ति वस्ति पुग्थे । त्यहाँ देखिको उनको सांगीतिक खोजीको यात्रा कै भरमा उनले पछि वैरागी काइँलाको गीत स्याउली सुकाई राखे सुकी जाला भन्ने डर, रुमाल छोडी राखे मैली जाला भन्ने डर मा पनि प्रयोग गरेका छन् ।

उनका गीति एल्बम कहिले लहर कहिले तरंग शुद्ध रुपमा आधुनिकताको मिठास थियो भनें रत्न शम्सेर थापासित संयुक्तिमा गरेको दोभान एल्बममा उनले नेपाल र नेपालका पहाडी भूभाग, गाउँवेसी झल्किने गीत गरेका छन् , विशेषतः दीप श्रेष्ठले गाएको वारी भरि फुल्यो होला सयपत्री, अरुणा लामाले गाएको आँखामा मेरो छाइरहेको बादल हटेन जस्ता गीत उदाहरणार्थ लिन सकिन्छ ।

संगीतका कुशल अध्येता अम्बर गुरुङले नेपालको राष्ट्रगान सयौँ थुँगा फूलको हामी संगीत गर्दा माइनर रागको प्रयोग गरेका छन् भने समूह गायनमा सजिलो होस् भन्नका लागि फोक फ्लेबर (लोकभाखाको प्रभाव ) कायम राखेका छन् । संयोगले यस राष्ट्रगानका संगीत संयोजक उनकै छोरा किशोर गुरुङ पनि पश्चिमी नेपालको लोक संगीत घाटु माथि शोधार्थी रहेका छन् ।

ए कान्छा सुनको तारा देखि मालती मंगले र मालती मंगले देखि नेपालको पछिल्लो राष्ट्र गान सम्म संगीत गर्दा अम्बर गुरुङ हर समय नेपाली लोक लय र लोक बाजालाई एक विशिष्टीकृत रुप दिएका छन् । उनको संगीतमा पाइने यो सीमान्तीकृत भाव, स्वभाव र मनोभूमि नै उनको लोक संगीत प्रतिको स्नेहार्पण भन्ने बुझिन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv