ठकुरीहरुको जन्म देखि मृत्यु सम्मका संस्कार – बिबेक चन्द ठकुरी (लेख )

परापुर्वकाल देखि नै क्षत्रिय सनातन धर्मको रक्षक भै बिभिन्न काल-खण्डहरुमा गाॅउ, घर, समाज र देशको नेतृत्व सम्हाल्दै आएको क्षेत्रीय ठकुरी जातिहरुको जन्म देखि मृत्यु संस्कार पनि आफ्नै प्रकारको छ । अन्य जात-जाति र धर्म संस्कार वा समुदायका बिच केही भिन्नता हुनुलाई स्वाभाविक ठान्दछु । त्यसैले अब चर्चा गरौ समग्र मानव जातीको जन्म देखि मृत्यु सम्मका चार चरण वा संस्कार, हामी ठकुरीहरुको कस्तो छ त ?

१) जन्म संस्कार
ठकुरी कुलमा कुनै जाय जन्म हुदै छ भने त्यस अघिका पुर्ब तयारीहरु पनी त्यस्तै किसीमका हुने गर्दछन, भलै धनि-गरीबमा गच्छे अनुसार केही तलमाथी फरक पर्ला, जब कुनै नबजात शिशुको जन्म हुन्छ भने त्यो जन्मियको पला, घडी अर्थात बास्तबिक एकीन समय टिपोट गरिन्छ, ताकी गुरुहरुलाई चिना-टिप्पनी बनाउँदा सहज हुने गर्दछ ।

कुनै शिशु जुन घरमा जन्म लिन्छ त्यस घर लगायत १३ दिने कुल खान्दनलाई सुत्केरो पर्यो भन्ने चलन छ । न्वारनका दिन सम्म छुई-छिटो अर्थात मठ-मन्दिर जाने देबी-देवताको पुजा गर्ने र बिवाह-ब्रतबन्ध जस्ता शुभकार्य गरीदैन ।

यसैलाई साधारण भाषामा सुत्केरो परेको अर्थात सुत्केरो बार्ने भनीन्छ । सामान्यतया छोराको १० दिन छोरीको ११ दिनमा न्वारन गर्ने चलन छ । न्वारनमा पण्डित बोलाई होम हाली, शुद्व गरी नवजात शिशुको नयाॅ नामांकरण गर्ने र हिन्दु बैदिक मन्त्रोचारण गरी सबै शुद्व हुने, गाईको गहुतले सुत्केरो परेको मुल घर चोख्याउने लगायतका काम गरी आमन्त्रीत सबै पाहुनालाई मिष्ठान्न भोजन खुवाई चोखोनिधोका साथ हरहर गरीन्छ ।

२) ब्रतबन्ध संस्कार
यो संस्कार आज भन्दा ५०-६० बर्ष पहिले त बैवाहिक संस्कारसंगै जोडेर गर्ने चलन पनी रहेछ । हाल आएर छुट्टै गर्ने गरीन्छ । ब्रतबन्ध संस्कार हामी ठकुरी जातिहरुका लागी अत्यन्तै बिशेष र अनिबार्य छ । किनकी यो संस्कार पुरा नगरी बिहे संस्कार पुरा हुदैन साथै अन्तिम संस्कारको काजकृया कर्म पनी यस्ता ब्याक्ति बाट चल्दैन ।

त्यसैले यो संस्कार गर्न छोराहरु छिटोमा १० बर्ष पुगे पछी र ढिलोमा १८ वा २० बर्षको भैसक्दा अनिबार्य रुपमा गर्नै पर्ने हुन्छ ।

यसमा पनी न्वारनमा जस्तै पण्डित बोलाई, होम हाली, बिशेष पुजा र मन्त्रोचारण गरी, ब्रतबन्ध गरीने किशोरहरुको टाउकोको कपाल आफ्ना मामाले मुडुल्लो पारी काटीदिने, चरेस वा काॅसको थालीमा भाई वा दाजुहरुको कपाल दिदी वा बहिनीहरुले भुईमा झर्न नदिई संकलन गर्ने र त्यो कपाल तुलको सेतो, रातो वा पहेंलो कपडामा बाॅधेर सुरक्षित स्थानमा फ्याक्ने गरीन्छ । तसर्थ मामाले भान्जीलाई टिका लगाई दान-दक्षिणा दिने गरीन्छ । ब्रतबन्धकै दिन देखि जनै लगाउन पनी सुरुवात गरीन्छ । सामान्य भाषामा भन्नु पर्दा जनैडोरो भिर्नुलाई ब्रतबन्ध भन्ने चलन पनी छ ।
यो संगै यस्तै प्रकृयामा छोरी चेलीबेटीहरुलाई पनी टिकाटालो गरी, बेहुली जस्तै सजाई, ढोगभेट र आशिर्बाद दिई, साडी-ब्लाउज वा गुन्यु-चोली र केही गरगहना सम्म दिई “गुन्यु-चोली” संस्कार पनी पुरा गर्ने गरीन्छ । जुन कार्यलाई अगाडीको कार्य वा बिवाहा गर्न बाटो खुलाईएको पनी भन्ने चलन छ ।

३) विवाह वा बैवाहीक संस्कार
विवाह संस्कार हरेक मानिसको आफ्नो जिवनकै महत्वपुर्ण कार्य हो । त्यसैले यो संस्कार पुरा गर्दा धेरै सोचेर र बिचार गरेर मात्र गर्नुपर्दछ । परिपक्व उमेर पुगे पछी मात्र गरीने भएकाले पनी यस संस्कार पुरा गर्दा हरेक पक्ष निकै संबेदनशिल भएर मात्र पुरा गर्नु पर्ने हुन्छ । बिहे संस्कार पुरा गर्न कुनै एक जना नारी वा एक जना पुरुष मात्रै राजी भएर संभव नहुने भएकोले यो संस्कार अलि बिशेष, झन्जटिलो, अफ्टेरो, गाह्रो र खर्चिलो पनी हुने गर्दछ । सामान्य भाषामा बर-बधु वा उमेर पुगेका केटा-केटी राजी खुसी र दुबै पक्षका परिवार र आफन्त खुसी भै गरीने यस संस्कारमा पहिलो कुरा बर-बधु दुबै जना ठकुरी खानदानको हुनु पर्दछ । दुबै पक्षको कुल-मुल र गोत्र-बंश यकीन गरेर चिना देखाउने पनी चलन छ, ताकी भविस्यमा यो बिवाहित जोडीलाई कुनै किसीमको संकट आई नपरोस भन्ने मान्यता स्थापीत भएर नै होला । यति सबै कुरा मिली सके पछी निम्न रित पुर्याउने चलन छ ।

(क) केटा पक्षबाट केही बिशेष ब्याक्तिहरु र केटाका बुवा-मामा वा आमा केटीको घरमा, जनै-सुपारी, दहिको ठेकीमा हरियो पातले छोपी, हरियो साग एक मुठ्ठा र मिठाई वा “कसार” (कसार भनेको चामल भुटेर पिठो बनाई, ल्वाॅग-सुक्मेल, मरीच हाली, घिउ र महले मोलेर बनाईएको मिठो र बिशेष खालको घरेलु खाने कुरा जुन बनाउदा कन्या केटीहरु ३ वा ५ जनाले आफ्ना दुबै हातले दुई वटा वा जोडीमा मात्र डल्ला पारी बनाईन्छ । यो बनाउदा बिधुवा नारीले बनाउनु हुदैन । अर्थात चुरा लगाईएको हातले मात्र बनाउनु पर्छ भन्ने मान्यता स्थापीत छ) माथी उल्लेखित कुरा लिएर हात माग्न जाने चलन छ । यो बेला सामान्यतया केटा-केटीलाई संगै भेटघाट र राजी खुसीको गफ गर्ने बाताबरण पनी तयार गरीन्छ । यसै बखत (टिकाटोलो) वा ईन्गेजमेन्ट गरेर, बिवाहा पछी गर्ने की या समय छैन तुरुन्तै बिवाहानै गर्ने भन्ने कुराको पनी निर्णय गरीन्छ र बिवाहको मिती तय गरिन्छ ।

(ख) विवाहको मिति अर्थात त्यो दिन आमन्त्रीत सबै पाहुनाहरु दुलहीको जन्म घरको दुरी, आबस्यकता र क्षमतालाई ॲाकलन गरी के कती जन्ति जाने यावत सबै तयारी पुरा गरी दुलाहालाई साजसज्जाका साथ समय सापेक्ष गाडी, घोडा वा डोलीमा लिएर जान्छन । उता दुलहिकोपट्टी पनी दुलहीलाई सिंगारपटार गरी दुलाहाको घरबाट आगमन जन्ति पर्छीने वा स्वागतको लागी तामझामका साथ तयारी गरी बस्छन ।

(ग) दुलाहा सहीत जन्ति पुगी सकेपछी साहीपाटा दुलहीका पक्षले पर्छेर भित्र लैजान्छन । दुलही र दुलहीका बाबुले दुलाहालाई काठको पिर्कामा सेतो तुलको कपडा राखी त्यसमाथी उभ्याई दुलहीले कलशबाट चोखो पानीले दुलाहाको वरीपरी घेरा बनाउछिन् । यसरी दुलाहाको बिशेष पुजापाठ गरी जन्ति सबैलाई टिका लगाई, दुलाहालाई बिबाह मण्डव वा जग्यमा आसन गराउँदछन । यत्तिकैमा दुलहीलाई पनी माईति पक्षकै सिंगार पटारमा जग्य मण्डपमा दुलाहाको बाॅया पट्टी राखी पण्डितहरुले बिशेष मन्त्रोचारण गरी बिवाहा कर्म सुरु गर्ने गर्दछन । यति कार्य पुरा भैसकेपछी दुलाहाको घरबाट लगेका कपडा र गहना लगाई पुन दुलहीलाई मण्डपमा ल्याई सिन्दुरपोतेको कार्य समापन गराई मोटामोटी बिवाहा संस्कार पुरा गरिन्छ ।

(घ) अन्त्यमा दुबैतिर बाट आएका सबै आमन्त्रीत पाहुनाहरुलाई मिठो-मिठो भोजन खुवाई, टिका-दक्षिणा गरी दुलहीलाई दुलाहाको जिम्मा लगाई घर पठाउने चलन छ ।

४) मृत्यु वा अन्तिम संस्कार
मृत्यु भनेको कुनै पनी मानिसका लागी अस्विकार्य सत्य हो । हत्तपत्त मर्न नचाहाने मानिसको जातलाई मृत्यु आफ्नो बहसमा छैन भन्ने कुराको होस नहुदै जिवनको यो घडी कतिबेला पत्तै नपाई आईदिन्छ । घटना-दुर्घटना वा कुनै रोग-ब्याधी र काल गतीले निस्चित उमेर पुगेर मरेता पनी अन्य जात-जातिमा जस्तै हामी ठकुरीहरुमा पनी मृत्यु संस्कार आफ्नै तरिकाको छ । भलै हाम्रो नेपाली समाजमा धेरै संस्कार संकृती एक अर्को जात-जाति र समुदाय बिच मेल खाने गर्दछन तथापी केही फरकपन भने रहन्छन नै ।

जब कोही ब्याक्तिको मृत्यु हुन्छ । मृतकका घरपरिवार लगायत १३ दिने अर्थात त्यो कुल खान्दान भरीलाई जुठो लाग्यो वा जुठो बार्ने (१३ दिन सम्म नुन बिनाको सादा, सफा र सुद्ध-चोखो खाना खाने) चलन छ ।

मृतकका एकाघरका पुरुषहरुले कपाल फाली मुडुल्लो हुने, मृतकका छोरा अर्थात छोरा नहुनेका दाजु वा भाई किरिया बस्ने चलन छ ।

यसरी निराहार अर्थात चोखो एकछाकी खाना खाएर तेहौं दिनसम्म बिभिन्न आरधना गर्ने, गरुड-पुराण सुन्ने र मृतकको सम्झनामा एकसरो सेतो बस्त्र लगाई कोरा वा किरिया बस्नाले मृतक आत्माको स्वर्गमा बास हुन्छ भन्ने भनाई हाम्रो समाजमा स्थापित छ । यही पुरानो मान्यतालाई आधार मानी यस अत्याधुनिक मानव युगमा पनी यस्ता कार्यहरु निरन्तर चलाई रहनु परेको छ । यद्वपी बैज्ञानीक समाजले यसलाई कुसंस्कार वा कुरीती पनी भन्ने र त्यसैअनुरुप ब्याख्या र तर्क पनी पेश गरेको छ ।

किरिया घरमा गाॅउ-घर, समाज र आफन्त दाजुभाई खलक ३/५/७ र ९ औं दिनमा एक माना चामल (सिदा) फलफुल लगेर जाने र किरिया पुत्रीलाई भात खुवाउने गरीन्छ । यसरी ११औं दिनमा किरिया बसेका किरियपुत्री तथा आगमन सबै नातागोताका मानिसहरुले पिपलमा पानी हाली, गौमुत्र (गहुत) खाई, चोखोनिधो भै, पण्डितहरुबाट बिशेष मन्त्रोचारण गरी त्यही गहुतले घर सुद्व पारी चोखिने भन्ने चलन छ । यसरी चोखिई सकेपछी पुरी, तरकारी, अचार खिर आदी जस्ता खाने कुरा खाई बिदावारी हुने गरीन्छ । यसरी नै कोही पनी मृतकको अन्तिम संस्कार पुरा गर्ने आमसमाजमा जस्तै हामी ठकुरीहरुको समाजमा पनी यावत संस्कारहरु पुरा गर्ने चलन छ ।

लेखक बिबेक चन्द ठकुरी (मध्यपस्चिम, नेपाल)



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv