अम्बर समय – प्रकाश सायमी


नेपाली सुगम संगीतमा अम्बर गुरुँग एउटा समय हो ।
यो समयलाई चार किसिमले हेर्न सकिन्छ,
~गायनको हिसाबले ,
~संगीतको हिसाबले ,
~संगीत संयोजनका हिसाबले
र गीत रचनाको हिसाबले ।
यो समयलाई तीन कालक्रमका हिसाबले छुट्याउन सकिन्छ,
-दार्जीलिँगमा आर्ट एकेडेमीमा छँदाको समय,
-नेपालमा प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशक छँदाको समय
-र नेपाल प्रज्ञा प्रतिष्ठानबाट बाहिरिए पछिको समय ।
कालक्रममका हिसाबले बाँडिएको यो तीन समयमा अम्बर गुरुँग सबभन्दा बढी सक्रिय रहेको र जागीरको हिसाबले बाँधिएको समयमा नै उनले धेरै फरक फरक धारका गीत बनाए तर कसैकसैले उनको यो समय पनि खुल्ला हिसाबले उनको सिर्जनात्मक समय मानेका छैनन् । बरु यो समय उनी बढी जागीरे जीवनमा सीमित भयो भनेका पनि छन् ।


१. पहिलो समय : नौलाख तारा र पहाडको कथा
अम्बर गुरुँगले गाएका धेरै गीत मध्ये पहिलो गीत रेकर्ड हुन पाएन । दार्जीलिँगको भद्रसमाजका एक सज्जन सच्चिन्द्रमणी गुरुँगले सुनेका कारण उनको गीत नौलाख तारा उदाए रेकर्ड हुन सक्यो, सन् १९६१ जनवरीमा ।

यो गीतले पहिलो प्रथम पटक सुन्ने धेरै स्रोतासमुदायले खूब मनपराए । मनपराएका कारण यसको गायन र प्रस्तुति मात्र होइन, संगीत संयोजन पनि हो । यसभन्दा अगि यस किसिमको विशिष्ट संगीत संयोजन शायद भएका थिएनन् नेपाली गीतमा । यस गीतको सफलता पछि गीतकार नगेन्द्र थापाले अम्बर गुरुँगलाई यो गीतमा यति भावुक भएर गाउनुको कारण के हो भनेर सोधेको एक प्रश्नको उत्तरमा त्यही समय अम्बर स्वयम्ले भनेका छन्,


यो गीतमा तीनओटै तारतम्य मिलेको छ । शब्दले नेपाली अवस्था राम्ररी जनाएको छ र शब्दहरुको गहिराईअनुरुप मैले संगीत भर्दा धेरै चिन्तन गरेँ । गायकीमा भावमयता छ । भावपूर्ण आवेशमा आएर नगाएको भए त्यो गीत त्यति सफल हुने थिएन ।
नौलाख तारा नेपाली गेय संगीतमा एउटा ठूलो मोड हो भन्नु अत्युक्ति हुन्न । गीतमा भावपक्ष नै सबल भएको अम्बरले स्वीकारेका थिए । उनले भनेका छन्,
मुख्यतः अभावको वेला यस गीतको जन्म भयो , नेपालबाहिर बसेका नेपालीहरुको राजनीतिक अवस्थाबाट जन्मेको गीत हो यो । अरु त परै जाओस् , यस गीतले मेरो जीवनमा नै नयाँ मोड ल्याईदियो ।


१९ जना वाद्यवादक र एकजना गायकले एक चुनौतिपूर्ण स्थितिमा गायकले तीन मिनटभित्र डिस्क रेकर्ड गरिएको यो गीत रागको आधारमा भीमपलासीको निकट पाइन्छ भने भने प्रकुृतिका आधारमा नेपाली प्रवृत्ति सँग घनिष्ठ देखिन्छ , यस गीतकार वारे अम्बरका एक वाद्यवादक पिटर जे कार्थक भन्छन्,


यो गीत शब्दद्धारा शुरु नगरिएर ओ ओ ओ ..को तानले गरिन्छ , रचनाकार अगमसिंह गिरीले यो थप शिल्पलाई चिताएका पनि थिएनन् होला न त स्रोताले नै । त्यो ओ ओ ओ ले सतर्क बनाउँछ स्रोताहरुलाई । अर्को थप कुरा हो, यो तान काव्यात्मक पनि छ, यसले स्रोताहरुलाई आव्हान (इभोक) र उत्तेजना (प्रभोक ) एकसाथ दिन्छ । त्यसपछि शुरु भएको स्थाइलाई माइनरमै कुशलतापूर्वक स्वरवद्ध गरिएपछि बाँसुरीको मेजर लहरको अन्तिम स्वर सँग अन्तरा शुरु हुन्छ । स्थायी र अन्तराको विभिन्नतालाई मध्यभागको एक्लो बाँसुरी र भ्वाइलेनको समूहको मेजर माइनरले सम्बद्ध गरेपछि श्रोताहरु गीतको आधा चरणमा आइपुगेर गीतसँग परिचित हुन सफल हुन्छन् । यो हुनुभन्दा पनि अघि स्वरसमूह किन पो यहाँ आयौ नि ले अर्को व्यापकता ल्याएको छ , त्यसपछि फेरि त्यै ओ ओ ओ… र समवेत कोरस मंगलाचरणको सामूहिकतामा गीतको रेकर्डिँग धीमा भएर टुँगिन्छ । गीतमा साँगीतिक पूर्णताको उत्कृष्ट उदाहरण यस कृतिमा पाइए पनि शायद स्रष्टा अम्बर गुरुँग केही असन्तुष्ट नै छन् र त्यसरी अटुँगोमा गीत सकिएको होला भन्ने लाग्छ किनकि यस्तो किसिमको समाप्ति एउटा शिल्प मात्र नभएर अरु दृष्टिकोणले पनि लाक्षणिक वा सांकेतिक छ । नेपाली लोकताल (समला) लाई यहाँ आधुनिकीकरण गरिएको छ ।


त्यसपछि नौलाख तारा इतिहास भयो । यस इतिहाले एउटा गायकको नाम अग्रपंक्तिमा आयो , अम्बर भन्छन् , मैले हार्मोनियम समातेर गाउन नथालेको भए अथवा गायक पहिले नभएको भए म कसरी संगीतकार हुन्थेँ, मैले संगीत नगरेको भए कसरी गीतकार हुन्थेँ ?
अम्बरको यो प्रश्न धेरैले बुझेका छैनन् ।


नौलाख पछि उनको तिमी आऊ बहार पर्खिरहेको छ युगल बनिसकेको थियो , यसको रेकर्ड पनि हिट बन्यो । त्यस बाहेक उनले संगीत गरेको पहिलो गीत
धरमर धरमर रात लम्की वरपर आयो,
किन यो थोत्रो जीवनमा प्रतिपल सतायो
पनि रेकर्ड नभएपनि चर्चित नै थियो । त्यसवाहेक म अम्बर हुँ तिमी धर्ती, अरुणा लामाको स्वरमा आज यौवन उदास उदास, आफ्नै शब्दमा भुलेका छैनौ सुगौली सन्धि , पहाड सुक्यो सुक्यो जस्तो लाग्छ गीत चर्चित थिए ।
यी गीतको जन्मकाल दार्जीलिँग भयो त्यतिवेला अम्बर दार्जीलिँगको लोक मनोरञ्जन शाखा, आर्ट एकेडेमी अफ म्युजिक र ग्राह्म्स् होम आदिमा आवद्ध भए र अन्ततः राजा महेन्द्रको आग्रहमा नेपाल आए ।


२. नेपालमा दोस्रो इनिँग
विसं २०२५ सालमा उनी नेपालमा बस्ने गरी निम्त्याइएपछि उनको जागीरे जीवनमा प्रज्ञा प्रतिष्ठानमा विसं २०२६ बाट शुरु भयो ।
विसं २०१३ सालमा स्थापना भएको प्रज्ञा प्रतिष्ठानमा उनकै निम्ति संगीत निर्देशक पद सिर्जना गरेर उनलाई त्यहाँ राखियो ।
प्रज्ञा प्रतिष्ठानमा उनको उनले करीब २८ वर्ष विताए, यहाँ बस्दा उनले त्यहीँका कलाकार फत्तेमान राजभण्डारी, निर्मला श्रेष्ठ, दीपक जंगम, जयनन्द लामा, दीप श्रेष्ठ, सुक्मीत गुरुँग आदिसित मिलेर सांगीतिक सृजनामा काम गरे भने सत्यमोहन जोशीको नाटक फर्केर हेर्दा, जब घाम लाग्छ, सपनाबाट ब्यूँझिँदा, अरनिको जस्ता नाटकमा संगीत गरे , विजय मल्लको पहाड चिच्याइरहेछ पनि त्यस मध्ये एक हो ।


प्रज्ञा प्रतिष्ठान मै छँदा उनले प्रज्ञा बाहिरका कलाकार प्रेमध्वज प्रधान, नारायणगोपाल, तारादेवी, किरण प्रधान आदिसित पनि काम गरे ।
प्रज्ञा प्रतिष्ठानमै रहँदा उनले गीति नाटक मुनामदन मा संगीत गरे जसको निर्देशन कोकिल गुरुँगले गरे । त्यसको केही समय पछि प्रज्ञा प्रतिष्ठानद्धारा प्रस्तुत माधव घिमिरेको गीति नाटक मालती मंगले मा संगीत गरे जसलाई बसन्त श्रेष्ठले निर्देशन गरे ।
प्रज्ञा प्रतिष्ठानमा हुँदा नै उनले चलचित्र मेरो देश को गीत रेकर्डका निम्ति मुम्बई गए तर यसका गीत लता मंगेशकरले सिके पनि गाउन पाइनन् भने मनको बाँध मा पृष्ठ संगीत गरे र जीवन रेखा पाश्र्व संगीत गरे । यी दुवै चलचित्र उनको आजसम्म उपलव्ध रेकर्ड हुन् ।
जीवन रेखा मा उनको संगीतमा प्रेमध्वज प्रधान, तारादेवी, उदीतनारायण झा आदिले गाए ।
जीवन रेखा पछि उनले थारुभाषाको भिडिओ फिल्म कर्म मा पनि संगीत गरे ।
गायिका निर्मला श्रेष्ठसितको सहकार्यमा उनले पहिलो पटक कवि दुर्गालाल श्रेष्ठको जिगु म्ये उपहार नामक् नेवारी भाषाको अल्बम पनि गरे ।


प्रज्ञा प्रतिष्ठानमा विताएको मानक समयमा उनले हरिभक्त कटुवाल, भूपी शेरचन, रत्न शम्सेर थापा, राजेन्द्र थापा, सुनील देउजा, नीर शाह, गोपालप्रसाद रिमालका आदिका गीतमा संगीत गरे , गोपालप्रसाद रिमालको रातो र चन्द्र सूर्यले एउटा इतिहास नै खडा गर्यो जुन अहिले सम्म कायमै छ ।
प्रज्ञा प्रतिष्ठानमै हुँदा उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दमा फत्तेमान राजभण्डारीको स्वरमा केही गीत गरे भने केही आफ्ना रचना मैले फुल्न जानिनँ, जीवन हुरीको गीत आदि पनि गरे । फत्तेमान , नारायणगोपाल र निर्मला श्रेष्ठ सित अम्बरको विशेष सांगठनिकता देखिन्छ ।
प्रज्ञा प्रतिष्ठानको कार्यकालमा नै उनले सांगीतिक प्रशिक्षण दिन शुरु गरे, जसमा उनका शुरुवाती शिष्यका रुपमा शक्तिवल्लभ, बुलु मुकारुँग, सामन्त कंसाकार, निलम श्रेष्ठ, रमेशचन्द्र अर्याल, महेशराज ठाकुर आदि थिए भने यो तालीम र प्रशिक्षणको सिलसिला पछि उनको घरमा पनि कायमै रह्यो जसमा बसन्त खड्का, राजेन्द्र श्रेष्ठ, राजकुमार श्रेष्ठ, अच्युत फुँयाल आदि थिए ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठामा हुँदा उनले २०४५ सालतिर फेरि जन जागरणका गीत पनि गरे जसमध्ये आफ्नै शब्दमा होशियार यसबखत होशियार आदि गीत गरे ।


२०४२ सालको हाराहारिमा उनले धेरै समयपछि अम्बर साँझ नामक् एकल साँझ गरे ।
यसै समय उनले कहिले लहर कहिले तरंग आफ्नै शब्द संगीत र स्वरमा अल्बम तयार पारे , आफ्ना जेठा छोरा किशोर गुरुँगले शुरु गरेको साँग रेकर्डिँग स्टुडिओबाट प्रकाशित यो अल्मब उनको क्यासेटमा निस्केको थियो ।
साँग पछि उनले म्युजिक नेपालबाट दोभान नामक् अल्बम निकाले यो उनको रत्न शम्सेर थापासितको अशोसियसन थियो । दोभान मा दीप श्रेष्ठ, अरुणा लामा, सुक्मित गुरुँग, रोविन शर्मा आदि समाहित थिए ।
देशमा बहुदलीय व्यवस्था घोषणा भएपछि अम्बर गुरुँगको गायनको एक फरक परिधि देखा पर्यो ।
३. अम्बरका केही नयाँ प्रयोग
गायक, संगीतकार एवम् गीतकार अम्बर गुरुँगसित जोडिएको प्रज्ञा प्रतिष्ठानको संगीत योजकको पदवी विस्तारै कमजोर हुँदै गएपछि अम्बर गुरुँगले क्वायर प्रस्तुत गर्ने सपना देखे, यो २०४९ मा आएर फत्ते भयो ।


विसं २०५२ सालमा अम्बर गुरुँग रेडियो सगरमाथाको संयोजनमा अम्बरका भाखा नामक् कार्यक्रम लिएर पाटनको यलमाया केन्द्रमा देखिए । यलमाया को उद्घाटन नै यही कार्यक्रमबाट भएको हो भनेर कनक दीक्षित स्पष्ट पार्छन् ।
२०५६ सालमा उनले आफ्ना पुराना गीतको अल्बम नौलाख तारा पुनः प्रकाशन गरे , यसमा उनले आफ्ना रचना वाहेक अगमसिंह गिरी, बैरागी काइँला, इन्द्र थपलिया, ईश्वरवल्लभका गीत आफ्नै एकल स्वरमा समाहित गरे । आरवीए फिल्म्स् द्धारा प्रस्तुत यस अल्बम पछि उनको यही कम्पनीबाट कहिले लहर कहिले तरंग पुनः प्रकाशित भयो । यसमा पनि सबै उनको एकल स्वर र एकल रचना रह्यो तर संयोगले यसमा उनका पुराना समकालीन वैरागी काइँलाको एउटा गीत पनि समावेश गरियो ।


कहिले लहर कहिले तरंग लाई पछि म्युजिक नेपालले पुनः प्रकाशन गरेको छ । यस अल्बम का प्रायः गीतमा अम्बरको संगीतमा उनका जेठा छोरा किशोर गुरुँगले संगीत संयोजन गरेका छन् ।
गायक अम्बर गुरुँगको एक विशिष्ट अल्बम यो नै मान्न सकिन्छ यद्यपि यसपछि उनले कुन्दन रायमाझी, सुसन मास्के, झुमा लिम्बू का निम्ति गरेको भए पनि तर उनका प्रायः गीतमा जीवन, जगत, स्वदेशप्रेम, प्रकृति, व्यक्ति र समाजका विम्ब परेका छन् तर गायक फत्तेमान राजभण्डारीको निम्ति संगीत गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैले भने खोई त, भो है तिमी नआऊँ , सत्यमोहन जोशीको फर्केर हेर्दा र आफ्नै शब्दमा यति बिरानो , तिम्रो माया जीवन जीवन , मैले फुल्न जानिनँ, ईश्वरवल्लभको शब्दमा कति खोला बगी आदि गीत यही समयका यादगार गीत हुन् ।
साठी दशकको अन्त्यतिर उनले राष्टगान सयौँ थुँगा फूलको हामी जसले उनलाई राष्टका एक प्रमुख साधकका रुपमा सम्मान दिलायो ।
अम्बरको सपना संगीत हो, देश हो र त्यस सँग जोडिएको युग हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv