गायिका कमला : ज्योतिको स्वरुप ~प्रकाश सायमी (लेख )

काठमाण्डौं,जेठ १२ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको दुई कृति ‘मुना-मदन’ र ‘म्हेन्दु’ दार्जीलिँगमा मञ्चन भएपछि यसलाई नेपालमा मञ्चन गर्ने प्राभ्यास धेरैले गरे तर असफल भयो ।
दार्जीलिँगकै कुमुदिनी होम्स्को मुनामदन मञ्चन भएको घटनाबाट प्रभावित भएर काठमान्डूमा यसको मञ्चनका तैयारी गरे , नाट्यकर्मी कोकिल गुरुँगले । कोकिल गुरुँगको यो साहसिक काम पोखरामा गएर विफल भए पछि उनी ऋणपान गरेर पोखराबाट फर्के , यसपछि मुनामदन मा कसैले हात हालेनन् ।


मुनामदन भारतमा कुनै समय बन्दै रोकिएको लब एन्ड गड जस्तै भयो , असफलताको प्रतीक ।
केही समयको अन्तरालमा फेरि सांस्कृतिक संस्थानको प्रयासमा मुनामदन को मञ्चनको तैयारी भयो , यसलाई नेपाल कलाभूषण चन्द्रराज शर्माले संगीत निर्देशन गरे । चन्द्रराज शर्माको महाकवि देवकोटासित अलि परको नाता पनि थियो ।
मुनामदन यसपालि पनि फ्लप खायो ।

विक्रमाब्द २०३७ सालमा फेरि सांस्कृतिक संस्थानकै पहलमा पुनः मुनामदन मञ्चन गर्ने तैयारी गर्यो , यसपालि यसको संगीत निर्देशन सांस्कृतिक संस्थानकै कर्मचारी नारायणगोपालले गर्ने भयो ।
नारायणगोपालका निम्ति यो दुई कारणले चुनौति थियो, यसअगि यो गीति नाटकमा दुई भेट्रानले संगीत गरिसकेका थिए, अम्बर गुरुँग र चन्द्रराज शर्माले । दुवैको सांगीतिक आरेख अरु कुनै संगीतकारको भन्दा कम थिएन ।


नारायणगोपालले गायकका रुपमा धेरै ख्याति कमाएपनि यस्तो मेजरवर्कमा पहिल्यै हात हालेका थिएनन् । यो पहिलो चुनौति थियो ।
दोस्रो चुनौति उनको निम्ति झन् ठूलो थियो , त्यो हो यस गीति नाटकमा मदनकी दिदी को पृष्ठगायनका निम्ति । सांस्कृतिक संस्थानले शुरुवातमा गायिका तारादेवीलाई अस्थायी रुपमा सेवामा नियुक्त गरेको भएपनि सांस्कृतिक संस्थानले अब त्यो क्रम दोहोर्याउने छाँट थिएन ।
नारायणगोपालका निम्ति गायिका छान्नु महाभारत भयो , तारादेवीसित उनको शीतयुद्ध जारी थियो अथवा बोलचालको क्रम नै बन्द थियो । अर्की गायिका अरुणा लामा नेपाल बाहिर भारतको दार्जीलिँगमा बस्थिन् , उनलाई पाश्र्वगायनको निम्ति निम्त्याउनु संस्थानको नीति विरुद्ध थियो । घ श्रेणीको संस्थानसित त्यति बजेट पनि हुँदैन थियो ।
नारायणगोपालले यसको बैतरणी पार गरे, गायिका कमला श्रेष्ठलाई चयन गरेर । कमला श्रेष्ठ त्यतिवेला सांस्कृतिक संस्थानमा काम गर्न थालेको दशवर्ष भइसकेको थियो ।
कमला श्रेष्ठमा भएको प्रचुर सम्भावना नारायणगोपाललाई ज्ञात थियो , नारायणगोपाल र गोपाल योञ्जनको मीतज्यू नाइटमा कमला श्रेष्ठले करामत गरिसकेकी थिइन् ।
मीतज्यू नाइट मा कमलाको गायनलाई लिएर साहित्यकार पारिजातले समेत प्रशंसा गरेर गोरखापत्रमा लेखिसकेकी थिइन् ।


नारायणगोपालको संगीतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना गाउने पाउने भाग्यमानी गायिका कमला श्रेष्ठले कुनै दाग छोडिनन् ,
हे मेरा भाइ, ती तिम्रा मुना मरेकी छैनन् ती,
ज्योतिको स्वरुप लिएर तिनी बगैँचा बसन्ती
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती

नारायणगोपालसित कमला श्रेष्ठको सहगायन गुञ्जिँदा नाचघरभित्र ईश्वर प्रकट भएको महशूश गर्छन्, नारायणगोपालका भाइ मनोहरगोपाल गुरुवाचार्य ।
संगीतका गुरु मनोहरगोपालले नारायणगोपालका सबै गीत राम्रा हुन् तर मुनामदन मा उनलाई ईश्वरीय बरदान मिलेको एक रेडियो कार्यक्रममा जानकारी दिएका छन् ।
सच्चा अर्थमा भन्ने हो भने नारायणगोपालले त्यतिवेलाका एकसेएक नाम चलेका गायिकालाई छोडेर कमला श्रेष्ठलाई चुन्नु एउटा अग्निपरीक्षा नै थियो ।
यो अग्निपरीक्षामा नारायणगोपालले अघिल्लो इतिहास मेटिदिए, असफलतका सारा पाठलाई पल्टाईदिए । यसअगि मुनामदन मा उर्मिलाकुमारी श्रेष्ठ, तारादेवी, अरुणा लामा, निर्मला श्रेष्ठले गाइसकेकको भएपनि कमला श्रेष्ठको आवाज नै अहिलेसम्म सुनिँदैछ , यसको कारण हो गीतिनाटकको सफलता ।


नारायणगोपालसँगै २०१८ को हाराहारिमा रेडियो नेपाल प्रवेश गरेकी कमला श्रेष्ठ संयोगले २०२४ सालमा रेडियो नेपालको गायन प्रतियोगितामा नारायणगोपालले सर्वोत्तम गायक को पुरस्कार पाउँदा त्यही साल कमला श्रेष्ठले सर्वोत्तम गायिकाको पुरस्कार पाएकी थिइन् , यादव खरेलको शब्द अनि नातिकाजीको संगीतमा ,
नौगेडीको मेरो माला मेरो कता हरायो…
अज्ञात कारणवश कमला श्रेष्ठ प्रथम भएको यो गीत पछि तारादेवीको स्वरमा रेडियो नेपालमा रेकर्ड भए पछि कमला श्रेष्ठको नाम मेटियो ।


गीतकार यादव खरेलले यस गीतका संगीतकार नातिकाजी वारे यस्तो लेख्नु भएको छ,
नातिकाजी एकजना संगीतकार मात्र नभएर आफैँमा एउटा संस्था र घराना हुनुहुन्छ । उहाँले आधुनिक , लोकगीत, राष्ट्रीय गीत, भजन आदि समेत गरी करीब २ हजार भन्दा बढी गीतहरुका साथै बीस गीति नाटक मा संगीत दिनु भएको छ ।..
तर दुर्भाग्यवश नातिकाजीको त्यो आरेखमा कमला श्रेष्ठको नाउँ पछि समेटिएन , कारण इतिहास मै पुरिए वा निशब्द भइसकेकी कमला श्रेष्ठ मै दवियो कि ?


कमला श्रेष्ठ यसपछि गोपाल योञ्जन क्याम्पकी प्रिय गायिका भइन् , गोपाल योञ्जनको संगीतमा उनले ईश्वरवल्लभको शब्दमा एउटा कालजयी गीत गाइन् ,
कति टाढा खोलाको किनार
कति टाढा सपना मेरा

यो गीत पछि कमलाले आफ्नो परिचयका निम्ति नाम दोहोर्यारहन परेन । भारतको पश्चिम बँगालको दार्जीलिँगबाट गोपाल योञ्जन नेपालीमा एमए गर्न नेपाल आएपछि यहाँ शुरुवातमा उनको प्रिय गायिका कमला नै थिइन् , कमला श्रेष्ठले गोपाल योञ्जनको शब्द संगीतमा प्रस्तुत गीत गाइन् ,
म बाँच्ने उमेरहरु सारा हजुरलाई
मेरा भागका सारा खुशीहरु सारा हजुरलाई

रेडियो नेपाल बाहिर रत्न रेकर्डस् को ईएसआर २९ का निम्ति उनले योञ्जनको संगीतमा दुई गीत रेकर्ड गरिन् , यो त्यतिवेलाका मानक गीत भए ।


पछि कमलाले गोपालकै शब्द संगीतमा म सपनाभरि छु, छातिभित्र मुटु, आकाशबाट जस्ता यादगार गीत गाइन् । यी सबै गीत गाउञ्जेल गोपाल योञ्जनका चमकदार गीत बन्दै थिए । लामो समयपछि (करीब दशवर्ष पछि मात्र) संगीतकार योञ्जनले उनलाई मायाप्रीति फिल्ममा दोहोर्याए, उनले यस चलचित्रमा कल्याण शेरचनको संकलनमा गायिका ज्ञानु राणा र मीरा राणाका साथ रत्यौली गीत गाइन् ।


संगीतकार नातिकाजीसित पनि उनले लामो अन्तराल पछि पच्चीस बसन्त मा एउटा भोजपुरी गीत गाएकी थिइन् , यो नातिकाजीसित उनको कम्पेनशेसन हो वा सुधारको संकेत ? तर यात्रा यसअगि बढ्न सकेन ।


नातिकाजी वाहेक उनले शिवशंकरको संगीतमा पनि गाएकी छिन् , युवराज ज्ञवालीको शब्दमा शिवशंकरको संगीतमा यो उनको यादगार गीत मानिन्छ,
तारे भीरमा बाबियो लसरी
लाको माया छुट्ने कसरी
सल्लै हो जोवन कल्लाई हो

आधुनिक गीत गायनमा वाहेक कमलाको गायनमा लोकगीत, भाषाभाषीका गीतमा अत्यन्त ठूलो उपस्थिति छ , उनले भोजपुरी मैथली र आफ्नै मातृभाषा नेपालभाषा समेत उनले कमालका गीत गाएकी छिन् । त्यसमध्ये ल्याय्म्हम्क दाजु तंचाया ला छु, छितः जिं ला छु है धैगु मदु ( जवान मेरा दाजु रिसाउन भयो कि क्या हो मैले त तपाइँलाई केही भनेकै छैन) लोकप्रिय मानिन्छ । त्यसवाहेक गुलित फसाद बियेत्यना कृष्ण र वाउँगु सिमाचाय् म्हासुम्ह झँगचा ( हरियो रुखको हाँगामा पहेँलो चरी ) पनि लोकप्रिय मानिन्छ ।


यो बाह्रमासे र बसन्त नामक् अल्बम उनका पति तारारत्न स्थापितले नै प्रकाशन गरेका हुन् ।
सांस्कृतिक संस्थानमा उनीसित १८ वर्ष सँगै काम गरेकी गायिका निर्मला श्रेष्ठ उनलाई सम्झिँदै भन्छिन्, कमला म भन्दा अग्रज हुन् । म मोहनसुन्दर श्रेष्ठसित शास्त्रीय गायन सिक्न जाँदा कमला नाचघर मा आएकी थिइनन् तर पछि उनी जागीरे कलाकारको रुपमा आएपछि हाम्रो परिचय बढ्यो । उनी खानपीनमा धेरै शौकिन थिइन् , अहिले उनी वित्यो भन्ने सुन्दा उनले खानाको कुरा गरेको अनि विशेष गरेर बोसो भुटेर खाएको प्रसंग भन्ने गरेको खूब सम्झेँ । उनी साह्रै प्रतिभाशाली तर साह्रै सादा र साधारण महिला हुन् । म त स्तव्ध छु ।


अमेरिकामा बस्दै आएकी निर्मलाले उनको निधनको खबर फेसबुकबाट थाहा पाएको बताइन् ।
सांस्कृतिक संस्थानमा आफ्ना अग्रज नृत्यकार भैरववहादुर थापाको सहयोगमा मासिक रु १५० मा प्रवेश गरेकी कमलालाई अधिकृत कलाकार हुन धेरै समय लाग्यो । विसं २०३३ सालमा गायक नारायणगोपाल सञ्चालक समितिको सदस्य भएर आएपछि उनलाई अधिकृत कलाकार बनाइएको थियो ।


विसं २०३६ सालदेखि विसं २०४० सालमा सांस्कृतिक संस्थानमा कमलाको एक शालीन युग वित्यो , गायनमा, विदेश भ्रमणमा अनि नयाँ नयाँ सृजनामा । यस समय सांस्कृतिक संस्थानमा नारायणगोपाल महाप्रवन्धक भएर आइसकेका थिए ।
आफूभन्दा ८ वर्ष जेठा गायक नारायणगोपालसँगै रेडियो नेपाल प्रवेश गरेकी कमलाले नारायणगोपाल सँगै रेडियो नेपालको प्रतियोगितामा विजयी हुने मौका पाइन् भने नारायणगोपालकै संगीतमा मुनामदनमा गाउने अवसर पाइन् । नारायणगोपाल र कमलाको निकटताको कारण संगीत र सांस्कृतिक संस्थान मात्र नभएर अर्को विशेष कारण पनि छ, त्यो हो फुटबल ।
नारायणगोपाल फुटबलका फ्यान । अनि कमलाका पति तारारत्न स्थापित फुटबलका नामी खेलाडी ।

नारायणगोपालसित यति निकटता भएपनि वा नारायणगोपालसित बीसौँवर्ष सहकार्य गरे पनि गायिका कमलालाई नारायणगोपाल संगीत कोशले कहिल्यै स्वरसम्राट नारायणगोपालस्मृति पुरस्कारले पुरस्कृत गर्न सकेन । वा, नारायणगोपाल संगीत कोशको गल्ति हो वा गायिका कमलाको नम्रता वा अल्पभाषी हुनुको पीडा ?
गीतसंगीतका निम्ति दिइने दुइओटा ठूला पुरस्कार छिन्नलता गीति पुरस्कार र स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार बाट त उनी टाढै रहेन भने अन्य ठुल्ठूला धनराशिका पुरस्कारबाट उनले निकट हुने कुनै मौका नै पाइननन् ? यसवारे उनले आफ्ना सहपाठी एवम् छिमेकी शान्ता सिंहलाई अस्पताल भर्ना हुनु केही दिन अगि भनेकी रहिछिन् , खै कता निवेदन हाल्न, विन्ती गर्न पनि जान सक्दिनँ कसैले सम्झने पनि होइन । पुरस्कारको निम्ति त म कतै धाउन पनि जान सक्दिनँ ।


काठमान्डू चावहिल मैजुबहाल मा उनलाई हिँडिरहेकोे देख्ने टेलिभिजनकर्मी शैलजा सिंह न्यौपाने , संगीतकार शुभवहादुर सुनाम, प्रभा सुनाम अब उनको आवाज मात्र सम्झिन्छन् ।
२०७४ सालको अन्तिम महिनाको पाँचौ दिन गंगालाल अस्पतालमा प्राण त्यागे । ६९ वर्ष अगि कात्तिक नौ गते पिता रामवहादुर श्रेष्ठ र माता इन्द्रमाया श्रेष्ठकी छोरीका रुपमा जन्मेकी कमलाले करीब पन्ध्रवर्ष को उमेरदेखि गायनमा प्रवेश गरेकी हुन् ।


संगीतकार हुतराज शर्मा, सीके रसाइली, गणेश रसिकको संगीतमा गीत गाएकी छिन् , गणेश रसिकको शब्द र संगीतमा सहिदिन्छु कुट बरु बोलीले नकुट , मरिदिन्छु मार बरु वचनले नमार निकै लोकप्रिय मानिन्छ ।


आधुनिक, भजन बाहेक लोकगीतमा कुमार बस्नेतसित गाएका प्रायः लोकगीत चर्चित छन् तर मादलवादक प्रेमदेव गिरीको संकलनका लोकगीत सरर मलेवा घुम्छ बादलमुनि मायालाई
सर्वाधिक चर्चित मानिन्छ , यो गीत पश्चिामाञ्चलको एक प्रतिनिधि लोकगीत मानिन्छ ।
स्वरमा मुलायमपन, गायकीमा सादगीपन भएकी कमला श्रेष्ठ गत केही वर्ष देखि ओझेलमा बस्न थालेकी थिइन् , आफ्ना तीन छोरा उदय, विनय र बबिनका साथ सुखमय परिवारमा रमिरहेकी कमलालाई मुटूको रोगको समस्याले केही समयदेखि आक्रान्त बनाएको थियो । उनीसितको समय र काललाई सम्झिँदै गायक रोविन शर्माले सामाजिक सञ्जालमा लेखेका छ्न, उहाँसित धेरै जसो कार्यक्रममा सँगै मञ्चमा उत्रने मौका पाएको छु । अति सरल सादा जीवन भएकी कमला दिदीसितको मेरो सम्झना आजन्म सँगै रहनेछ ।


गायिका कमलालाई धेरैले गायिकाको रुपमा सम्झे पनि उनी एक कुशल नृत्याँगना पनि हुन् , उनले नेपालीमा बनेको दोस्रो चलचित्र हिजो आज भोलि मा नृत्य पनि गरेकी थिइन् ।
औपचारिक शिक्षामा कक्षा ९ सम्म अध्ययन गरेकी कमलाले इलाहावादको प्रयाग संगीत समितिबाट स्नातक उत्तीर्ण गरेकी थिइन् ।


आफ्ना अग्रज संगीतकार चन्द्रराज शर्मा देखि आफूपछिका गायक द्धारिकालाल जोशी, प्रवीण गुरुँग, लोकवहादुर क्षेत्रीसित सांगीतिक सहकार्य गरेकी गायिका कमलालाई महाकवि देवकोटाको कालजयी रचनाकै शब्दमै समर्पण छ,
ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv