सम्झे कविलाई बल्लभ ! -शरद प्रधान (कबिता )

आज कवि जीवन थिङको जन्म जयन्ती। सम्झे कविलाई
बल्लभ ! तपाईभन्दा म धेरै अभागी ——-जीवन थिङ
घाइते सडकबाट हिंडेर
समग्र युगले आगो बालेर
मेरो छातीमा पैह्रो धस्काइरहेछ
मेरा आँखाहरू उदाङ्गो पारिरहेछ
र मेरा चेतनालाई थुकिरहेछ…….
मेरो कथा बनेका दिन जस्तो पुरानो
अनुहार च्यातेर म कति दिन बाँच्नु
आफ्नै रगतलाई ढाटेर म
यस हुरी-बतासमा कसरी बाँच्नु
मेरो प्रत्येक उषाको घामले डराएको आङ र टाउकोका केशहरू
गरेन यो सन्निपात भएका दिनहरू कसरी काट्नु………
तर म उदाङ्गो भएर देखाउन सक्तिनँ
म मेरा ओठ खोलेर भन्न सक्तिन,मेरो छाती फब्लेटासितै
मेरो आत्मा र चित्तलाई पनि,
कसैले किनेर लाने प्रयास भएको छ
भट्टी पसलबाट रक्सीका प्यालाहरूसितै
साँचो हो,मेरो खोलाको शीतल पानीसितै मेरो रगत पनि
यहाँ बिक्री भएको छ-
यस्तै लाग्छ अब (विश्वास…अविश्वासमा)
त्यसैले भन्न सकूँ लाग्छ मलाई विवश बनेर रोएको देख्दा
हाँस्ने राक्षसहरू
बिन्ती ! फेरि मलाई किन रोएको भनेर नसोध !

आफ्नै आमाको स्तनपान गरेका तिम्रा ओठहरूको कसम खएर
आफ्नै देउरालीमा सुसेलेका त्यो लैबरीको संझना राखेर
मलाई भनिदेऊ, तिम्रा हातका रेखाहरू कति झूटा छन्
किनकि मलाई लाग्छ तिम्री आमाको आत्मा प्रेतात्मा भएर
सधैं तर्साइरहेछ तिमीलाई
बिहान भालेको डाकसम्म……सपनाले खेदेर
अब फेरि यहाँ प्रत्येक बसन्तका फूलहरू फुल्नेछन्
शीतका आँसु रुँदै डाको छाडेर

किनकि हावाले रोएर पनि बुझेको छ, तिमी बद्लिएको, तिनी
बद्लिएको
अब यो पहाडले सधैं तिरस्कार गर्छ मलाई,
तिरस्कार गर्छ तिमीलाई
गुरू मारिदिएको प्लेटो भएको रहेछ यो पहाड
आमा मारिदिएको बालक भएर भित्रभित्रै कहालिरहेछ यो पहाड ।
निश्चय हिजोसम्म उसको यस्तो दर्शन o o o थिएन
हिजोको यो उसको दर्शन होइन।
कसरी दार्शनिक जस्तो भएर बसेको छ यो पहाड
सुकरातले झैं विषप्याला पिउन तैयार छ यो पहाड
निश्चय यो उसको आत्महत्या हुँदैन
जब जब म यी पहाडहरू हेर्छु
मलाई टिठ लाग्छ आफैलाई कि कसरी मैले
यहाँ अभिनय गर्नुपर्छ हाँसेको- बाँचेको
हो, मेरो पेट भरिदिन्छ भनेर सबैले भन्छन्
अनि म जब विवश बनेर हेर्छु ती रूखा अनुहारहरू
जब म सुन्छु ती झूटा आश्वासनहरू
मलाई घिन लागेर आउँछ……..यी सहवासहरूसित
मलाई निसास्सिए जस्तो लाग्छ आफ्नै यी चिसा बतासहरूसित ।

मेरो दोस्रो जन्ममा मलाई बधाई दिने हातहरू
मलाई यन्त्रणापूर्ण घाउहरू भएर चिमोटेका छन्
मलाई यस युगले थुकेर, मेरा नसालाई लुछेको छ
कहिलेकाहीं मलाई कंचनजङ्गामा चढेर चिच्याउन मन लाग्छ-
मेरो बदला यी तिरस्कारहरू तिमीहरूले सहनुपर्छ
मेरो बदला यी अट्टहासहरू तिमीहरूले स्वीकार्नुपर्छ
मेरो बदला यी उपहासहरू तिमीहरूले सुन्नुपर्छ
आगोका मुस्ला बग्ने नदीहरूमा तिमीहरूले अनुहार चोबल्नुपर्छ
मलाई पोल्छ डढेलो सल्केर पहाडमा
साथीहरू म एकपल्ट नमरी मरेको छु
र अब नयाँ जीवन लिएर जन्मेको छु
ईष्या र स्वार्थीहरूका घिन लाग्दा हुंकारको शुक्राणुहरूबाट
सहार र संकटको पाठेघरमा धेरै बेर उसिनिएर
यो शहरले मलाई
मेरो दोस्रो जन्ममा
मौन सलाम गरे झैं लाग्दछ
कस्तो जन्म यो कस्तो संसारमा
जसका स्थितिहरू
जहाँका परिस्थितिहरू
बालुवाका पाइले छाप जस्तै धमिला थिए ।
मेरो घरमा कहिल्यै पनि
मैले संतोषको सास लिन सकिनँ
जहाँ मैले कहिल्यै पनि
आफ्नै बतास लिन सकिनँ
उभिएर पर्खालहरूमाथि
मैले मेरो हिमाल हेर्न पाइनँ
मैले मेरो हिमाल देख्न सकिनँ ।

अब त हिमालको पनि मृत्यु भइसकेको छ
टिस्टा र रंगीतको पानी रित्तिइसकेको छ
र मेरो छात्तिमा मेरो मृत्यु पोतिइसकेको छ
मानो मैले साँझै पिच्छे पिउने गरेको भट्टीपसलबाट
रक्सीका ताता प्यालाहरू होइनन्
रगतका राता प्याला पिएको छु
आफ्नै परिचितहरूको रगत पिएको छु
आफन्तै आफन्तको लाशका ताँती भुलेर
सिमानाको रेखालाई बन्धक राखेको छु
कल्वरीको डाँडा जस्तो देशमा
मैले रगत पोखाउन पाइनँ
तरै पनि जिन्दगी सिपसिप भइदाएको छ
त्यति हो,म क्रुसिफाइ हुन सकिनँ ।

तिमीहरू वीर
अब क्यानभासमा देशका सीमाहरू लेख्दै जाओ
तिम्रो सुविधाले भ्याए जति
तिम्रो फुर्सदले भ्याए जति
जथाभावी सीमाहरू कोर्दै जाओ
जतासुकै सीमाहरू बडाउँदै लैजाओ
तर विनय छ !
र मेरो विन्ति छ तिमीहरूलाई
कि मेरो मुहारभरिभरि मोसो पोतिदेओ
अनि म लुक्न सकूँ
म आफैलाई लुकाउन सकूँ
र कुनै दिन साझा पुस्तक पसलअघि भेट्न सके
सुटुक्कै भन्न सकूँ –
वल्लभदाइ तपाईभन्दा म धेरै नै अभागी छु
तिम्रो छातीमा आमाले आत्महत्या गरेको देश छ
रूनलाई आँखामा मेची र काली छन्
पुछ्नलाई रगत लागेको खुकुरी छ
तर मेरो निम्ति चोट लागेको इतिहासबाहेक अरू केही छैन
मुटु फुटाउने उपहासबाहेक अरू केहि छैन ।

अब मेरा उठ्न लागेका हातहरूमा विषालु सर्पहरू मात्र सलबलाउँछन्
र मलाई डस्न लिपलिप आफ्ना जिब्राहरू निकाल्छन्
तब भन्नुहोस् वल्लभदाइ !
तपाईकी आमाको रगतले लटपटिएको इतिहासमा तपाई आफ्नु अनु –
हार हेर्नुहुन्छ
तर मैले डुबाइसकेको इतिहासमा म मेरो रगत चिन्न सक्दिनँ
अनि जब म मेरो इतिहास फोज्छु
मेरा आँखामा म प्रकाशहीन हुन्छु
मेरा दाँतहरू फुक्लन्छन्
मेरा हातहरू काटिन्छन्
र मेरा डुँडे हाच आकाशमा कीला भएर ठोकिइन्छन्
र म बाट निष्कासित मेरै कथा त्यहाँ झुण्ड्याइन्छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv