नमस्ते गर्दा व्यक्तिमा आध्यात्मिक चिन्तनको विकास हुन्छ : दिपकराज जोशी


दिपकराज जोशी लामो समय अमेरिका बसेर नेपाल फर्केका प्राज्ञ हुन् । काठमाडौँको सुकेधारास्थिति न्यू मिलेनियम कलेजका म्यानेजिङ डाईरेक्टर जोशी बेला बेलामा शिक्षा तथा राजनीति लगायतका विषयमाथि कलम पनि चलाउने गर्दछन् । यसबाहेक उनी वातावरण संरक्षण, वन्यजन्तु संरक्षण, भेगन लगायतका अभियानमा पनि आबध्द छन् ।

न्यू मिलेनियम कलेजमा आजभोली विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीको आपसमा भेट हुँदा हात मिलाउन पाइँदैन । नमस्ते गर्नुपर्छ । यस प्रकारको नियम लागु गर्ने यो नेपालको पहिलो र अहिलेसम्मको एक मात्र शैक्षिक संस्था हो । ‘आफ्नो संस्कृतिलाई प्राथमिकता दिनुपर्छ’ भन्ने कलेजको सोच रहेको छ । तर, केही दिन अघि मात्रै शिशुहरू पढाईने विद्यालयहरूमा क्रिसमसलाई अनिवार्य गर्दै धुमधामका साथ मनाईयो । कलेजले सुरू गरेको नमस्ते संस्कार र मन्टेश्वरीमा देखिएको क्रिसमस आकर्षणबारे जोशीसँग हिसाबप्लसका लागि अभिषेक जोशीले गरेको कुराकानीको सम्पादित अंश :

वर्षको एक चोटी टोपी दिवस मनाउनु भन्दा हरेक दिन १०/२० जनालाई नमस्कार गरियो भने आगामी दिनमा नमस्कार डे मनाउन पर्ने दिन आउने थिएन । नमस्ते गर्दा व्यक्तिमा आध्यात्मिक चिन्तनको विकास हुन्छ : गुरूकुल मान्यता अनुसार गएको भए त हामी धेरै माथि पुग्ने रहेछौँ नि त । अहिले त शिक्षामा व्यापारीकरण छ । यो बहसको छुट्टै पाटो हो । तर, हामीले गणित, विज्ञान जेसुकै पढे पनि, त्यो हाम्रो संस्कृतिसँग जोडिएको हुनुपर्यो ।
तपाईँको कलेजमा हात मिलाउन नपाउने तर नमस्ते गर्नुपर्ने नियम रहेछ । यस्तो नियम बनाउनुको मुख्य कारण के हो ?

नमस्ते हाम्रो संस्कार हो । यो हाम्रो स्वास्थ्य र मनसँग जोडिएको हुन्छ किनभने नमस्ते गर्दा हाम्रो स्वास्थ्यमा फाइदा पुग्छ । नमस्ते एउटा योगिक क्रिया पनि हो। पाँच औंला जोडेर जब नमस्ते गरिन्छ तब हृदयचक्र र आज्ञा चक्र सक्रिय हुन्छन् र मनमा शान्ति मिल्छ, प्रशन्नता आउँछ। नमस्ते गर्दा पाचन यन्त्रलाई पनि सहयोग पुग्छ।

हामीले हात मिलाउँदा क्रोधित मुद्रामा पनि मिलाउन सक्छौँ तर हात जोडेर नमस्ते गर्दा तपाई कडा वा क्रोधित रूपमा बोल्न सक्नुहुन्न । नमस्तेले हामीभित्रको अहंकार नष्ट गर्छ र मन शुद्ध हुन्छ। हाम्रो शरीर दुई भागमा बाँडिएको हुन्छ–सकारात्मक र नकारात्मक । दुबै हात जोडेर नमस्ते गर्दा सकारात्मक उर्जा प्रवाह हुन्छ र नमस्ते आर्शिवाद पाइन्छ जसले गर्दा नमस्ते गर्ने व्यक्तिको आध्यात्मिक विकास हुन्छ ।

अहिले यूरोप र अमेरिकामा पनि नमस्ते गर्ने चलन चलेको छ भने हाम्रो आफ्नै चालचलन र सभ्यता किन चलन चल्तीमा नल्याउने ? जताततै फोहर मैला भएको ठाउँमा हाथ मिलाउनु स्वास्थको लागि पनि उपयोगी छैन। बिस्तारै संस्कृति र सभ्यता हराउँदै गएको बेलामा हाम्रो जस्तो पठनपाठन गराउने संस्थाले एउटा सानो शुरुवात मात्रै गरेको हो।

कति वर्ष भयो, तपाईँको कजेलमा यो संस्कार सुरु भएको ?

यो शुरू भएको २ वर्ष भयो। वर्षको एक चोटी टोपी दिवस मनाउनु भन्दा हरेक दिन १०/२० जनालाई नमस्कार गरियो भने आगामी दिनमा नमस्कार डे मनाउन पर्ने दिन आउने थिएन । र नेपालमा हाम्रो मात्रै एउटा कलेज हो जहां हामी नमस्कार गर्न सबैलाई प्रेरित गर्छौ। किनभने आफ्नो ठाउँबाट सक्ने जति काम गरे संस्कृति र सभ्यता जोगिएला । नत्र विकास ढिलो चाँडो होला तर हराएर र बिलाएर गएको सभ्यता फर्केर आउँदैन ।
तपाईँको कलेज सभ्यता र संस्कार जोगाउन चाहन्छ । तर, काठमाडौँका कतिपय मन्टेश्वरी आयातीत पर्वहरू मनाउन आँतुर देखिए । बरू साना साना बालबालिकालाई जबरजस्ती मनाउन पनि लगाए । के यस्तो गर्नु ठिक थियो ?

विद्यालयमा यो धर्म मनाउनु भनेर अनिवार्य गराउन हुन्न । विद्यालयमा सबै धर्मको जानकारी दिईनुपर्छ तर मनाउ भनेर कसैलाई पनि दवाब दिन चाहिँ मिल्दैन । अनि, हामी सनातनी भएको नाताले हाम्रा विद्यार्थीहरूलाई, सर्वप्रथम, हाम्रै संस्कृतिको बारेमा जानकारीहरू दिईनुपर्छ । कि त जसरी क्रिसमस मनाईयो, त्यसरी नै अन्य धर्मका पर्व पनि मनाउन सक्नुपर्छ । होईन भने खास गरेर बालबच्चाको हकमा विवादास्पद हुने खालका कामहरू गर्नु ठिक होईन ।

तर, मन्टेश्वरीहरूको प्राथमिकतामा क्रिसमस परेको देखियो
?

८४ प्रतिशत हिन्दूहरू रहेको ठाउँमा हाम्रै संस्कार, संस्कृति र पर्वहरूलाई प्राथमिकता नदिईकन अरूका धर्म, संस्कृति र पर्वहरूलाई प्राथमिकता दिन मिल्दैन । क्रिसमस, ईद वा अन्य पर्वहरू त हामीले हाम्रा सबै पर्व मनाएपछि मनाउने हो तर आफ्नो पर्व नमनाएर अरूका पर्व मनाउनु हुन्न ।

मन्टेश्वरी स्कूलहरूमा ईसाई संस्थाहरूले फन्डिङ गरिरहेको हल्ला सुनिन्छ । त्यसकै लोभमा क्रिसमस मनाईरहेका हुन् कि ?

यस्ता कुरामा विना जानकारी बोल्न त मिल्दैन । तर, नेपालमा ईसाईले प्रायोजन गरेको मीडिया छ, विद्यालय छन्, अस्पताल छन् । नेपालको ईसाईले व्यापक पैसा परिचालन गरेको छ । उनीहरूलाई विदेशबाट डोनेसन आईरहेको छ ।

मन्टेश्वरीलाई पनि डोनेसनको लोभ हुनसक्छ । मानिलिउँ, मेरो एउटा सानो स्कुल छ । राम्रोसँग चलिरहेको छैन । यस्तो बेला कुनै ईसाई संस्थाले मलाई पाँच लाख सहयोग ग¥यो भने म उसँग सम्बध्द हुन्छु । यस्तो हुनसक्छ । हो भनेर दाबी चाहिँ गर्दिन ।

क्रिसमस रमाईलो गर्नका लागि मनाउने हो । विश्वभरी यहि देखिन्छ । बरू, यूरोपतीर हरे कृष्ण अभियानका अभियन्ताहरूले क्रिसमस मनाउँदा कृष्ण भजन गाईरहेको देखिन्छ । यता नेपालमा ब्रतबन्ध गरेको मान्छेलाई गायन्त्री मन्त्र थाहा छैन । विस यु अ ह्याप्पी क्रिसमस भन्दै दौडीन्छ ।

यस्ता कुराहरूमा कसले लगानी गरेको छ ? कति लगानी गरेको छ ? खोजीको विषय हो । अहिले हाम्रोमा क्रिसमस, भ्यालेन्टाईन, हलोविन डे बढी मनाउन थालिएको छ तर यहाँका रैथाने पर्वहरू खासै मनाईँदैन । मेरो चाहिँ भनाई के हो भने, हाम्रो पहिला हुनुप¥यो । अनि मात्रै अन्यकोमा जानुपर्‍यो

नेपाल संस्कृतिको धनी मुलुक भनेर चिनिन्छ तर हाम्रो मुलुकमा विदेशी संस्कृतिप्रति यति धेरै लगाव किन ? हाम्रा विद्यालयले आफ्नो संस्कृतिबारे विद्यार्थीहरूलाई सिकाउनु पर्ने होईन र ?

मेरो व्यक्तिगत विचार भन्नुहुन्छ भने म त संस्कृत भाषालाई विद्यालयमा अनिवार्य गराउनुपर्छ भन्ने मान्छे हुँ । तर, हाम्रो अहिलेको पाठ्यक्रम हेर्नुभयो भने विदेशीको स्वार्थ अनुसारको छ । हाम्रो माटो सुहाउँदो, हाम्रो संस्कृति र सभ्यता सुहाउँदो शिक्षा प्रणाली हुनुप¥यो ।

त्यसैगरी, हाम्रो त गुरूकुल प्रणाली हो । अहिले तपाईँले पश्चिमी मुलुकका शैक्षिक संस्थामा कुन राम्रो छ भनी हेर्नुभयो भने उनीहरूको पहिलो प्राथमिकता शिक्षक विद्यार्थी अनुपात रहेको हुन्छ । हामी त एउटा शिक्षकको एउटा विद्यार्थी पद्दतिबाट हुर्केर आएका हौँ । भनेपछि, सुरूदेखि नै हामी राम्रो मान्छे रहेछौँ नि त । अहिले आएर बिग्रदै गयो ।

गुरूकुल मान्यता अनुसार गएको भए त हामी धेरै माथि पुग्ने रहेछौँ नि त । अहिले त शिक्षामा व्यापारीकरण छ । यो बहसको छुट्टै पाटो हो । तर, हामीले गणित, विज्ञान जेसुकै पढे पनि, त्यो हाम्रो संस्कृतिसँग जोडिएको हुनुप¥यो । कुनै पनि विषयको हाम्रो धर्म र संस्कारसँग के सम्बन्ध छ, त्यो राख्नुपर्छ ।

संस्कृत अनिवार्य गर्नुपर्छ भन्नुको कारण चाहिँ ?

किनभने, संस्कृत विश्वको प्राचीन भाषा हो । अनि, अंग्रेजीमा एक अनुच्छेदमा भनिएको कुरा संस्कृतको एक वाक्यमा भन्न सकिन्छ । जस्तै, कम्प्युटर प्रोग्रामिङमा कोडका लाखौँ रेखाहरू हुन्छन् । अहिले स्ट्यानफोर्ड लगायतका विश्वविद्यालयहरूका रिसर्चरहरू संस्कृत भाषा छोटो हुने भएकोले संस्कृत भाषामा कोडिङ गर्ने कि भन्ने विषयमा छलफल गरिरहेका छन् ।

त्यसकारणले यो हिन्दू धर्मको भाषा भएको कारणले मात्रै होईन कि विश्वकै प्राचीन भाषा भएको कारणले र आधुनिक विज्ञानले पनि यसलाई अनुकरण गरिरहेको हुनाले हामीले यसलाई स्कूल कलेजमा अनिवार्य गराउनुपर्छ । अनि पो संस्कृत भाषामा लेखिएका शास्त्रहरूको अध्ययनमा हामी आफैँ सक्षम हुनेछौँ ।

अहिले भन्नको लागि मात्रै संस्कृति हाम्रो प्राचीन भाषा भएको छ । तर, यसको उपयोगिता यूरोप र अमेरिकाले मात्रै सदुपयोग गरिरहेको छ । हाम्रो वेददेखि लिएर विज्ञान र तन्त्रसँग सम्बन्धित अन्य सबै महत्वपूर्ण ग्रन्थहरूमाथि उनीहरूले शोध गरिरहेका छन् । उनीहरूले भाष्य लेखिरहेका छन् । हिन्दी र नेपालीमा त्यति भाष्य छैनन् वैदिक साहित्यका जति हामी अंग्रेजीमा पाउँछौँ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv