संसद पुनःस्थापनाको फैसला पछि नेपाली सेना र नेपाल प्रहरीले जारी गर्यो यस्तो बिज्ञप्ति

काठमाण्डौं,फागुन १२ । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्रतिबद्ध रहेको स्पष्ट गरेको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले कुराकानी गर्दै भन्नुभयो, ‘‘सेनाले कुनै पनि देशमा विकसित परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा परिस्थिति र अवस्थाबारे सूक्ष्म आँकलन गर्ने हाम्रो नियमित प्रक्रियाभित्रै पर्छ, त्यो भइरहेको छ ।’’

विकसित अवस्थाबाट कुनै सुरक्षा परिस्थिति उत्पन्न हुन सक्छन् कि भनी आँकलन गर्ने, अनुगमन गर्ने, अन्य निकायसँग सूचना आदानप्रदान गर्ने विगतदेखि नै भइरहेको जनाउँदै उहाँले भन्नुभयो, ‘‘त्यो अहिले पनि गरिरहेकै छाँै, सङ्क्रमणको अवस्थामा सुरक्षाको अवस्थाका लागि विचार गरेर अरुलाई पनि थप सजग गराउने र फौज सजग रहने हुन्छ नै ।’’

नेपाली सेनाको मुख्य सरोकारको विषय भनेको उत्पन्न हुन सक्ने सुरक्षा परिस्थिति नै भएको बताउँदै प्रवक्ता पौडेलले भन्नुभयो, ‘‘यस विषयमा अन्य सुरक्षा निकायसँग समन्वय र सम्पर्कमा रही रहन्छाँै ।’’ उहाँले देशमा शान्ति सुरक्षा कायम गर्नेबारे सेनाले अरु सुरक्षा निकाय र स्थानीय प्रशासनलाई सहयोग गर्नुपर्ने अवस्था आइपरेको खण्डमा के कस्तो सहयोग गर्ने भन्ने विषयमा पूर्वतयारीको अवस्थामा रहेको जानकारी दिनुभयो ।

मुलुकभरको सुरक्षामा उच्च सतर्कता
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

भीडभाड तथा जुलुस निस्कन सक्ने क्षेत्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी बढाइएको र शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष ध्यान दिएको कुँवरले बताउनुभयो । “अहिलेको अवस्थामा सुरक्षा स्थिति सामान्य छ, जे पनि हुन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको छ”, उहाँले भन्नुभयो, “संवेदनशील क्षेत्रमा निगरानीसमेत बढाइएको छ ।”

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्वोच्चको फैसला आउन सक्ने परिस्थितिलाई ध्यानमा राख्दै यसअघि आवश्यक तयारी गरेको थियो । सुरक्षा निकायले संसद् पुनःस्थापना हुँदा र नहुँदाका लागि भनेर छुट्टाछुट्टै सुरक्षा योजना तयार पारेको स्रोतले बताएको छ । आज फैसला भएसँगै त्यसलाई समन्वयात्मक रुपमा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv