हृदयघात के हो ? हेमा सेन ठकुरी ( स्वास्थ्य लेख )

हृदयघात के हो ?
विश्व स्वास्थ्य संगठनका अनुसार नसर्ने रोगमध्ये हृदयाघातले विश्वमा वर्षेनी सबैभन्दा धेरै मानिसको ज्यान लिने गरेको छ । त्यसमा पनि हृदयाघातलाई मानव मृत्युको नम्बर एक रोगका रुपमा लिइँदै आएको छ।
चिकित्सकका अनुसार मुटु मांसपेशीको डल्लो हो । यसले रगतको पम्पको काम गर्छ र शरीरभर रक्तसञ्चालन गराउँछ । मुटुलाई यो काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीन वटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत् ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरू स्वस्थ हुनु जरुरी छ । तर, यी रक्तनलीभित्र विभिन्न कारणबाट बोसो जमेर (कोलेस्टेरोल) साँघुरो हुने गर्दछ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन। यसबाट बिस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढी हुन्छ । यदि रक्तनली पुरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ। मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिदै गएमा मांसपेशी मर्दछ र काम गर्न छाड्छ । यो अवस्थालाई हृदयाघात भएको भनिन्छ।
हृदयाघातका कारण
मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन्। त्यसकारण हृदयाघात पनि जिवनशैली र खानपानका कारण हुने रोग हो । बढ्दो व्यस्त जीवन, आधुनिक सभ्यता, महत्वाकांक्षा, चिल्लो बढी भएको खानपान, मद्यपान तथा धूमपानको लत, अत्याधिक तनाव, शारीरिक श्रमको कमी तथा व्यायामको कमी नै हृदयाघातका प्रमुख कारण हुन । तीमध्ये धूमपान, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेह, मोटोपन, व्यायामको कमी र मानसिक तनावलाई सवैभन्दा ठुलो कारकका रुपमा लिइन्छ।
चुरोट र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग
चिकित्सकका अनुसार चुरोट र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग हृदयाघातको एक मुख्य कारणका रूपमा विकास हुँदै गैरहेको छ । चुरोटमा हुने निकोटिनले नसाहरूको भित्री भागमा घाउ बनाइदिन्छ। जसले मुटुको नसामा बोसो र रगतको ढिक्का जम्न मद्दत पु¥याउँछ । त्यसरी रगतको ढिक्का जम्दै जाँदा नसा साँघुरिँदै जान्छन् र मुटुमा रगत सञ्चार गराउने नसा बन्द हुँदा हृदयाघात हुने मुटुरोग विशेषज्ञ डा। ओममुर्ती अनिल बताउँछन् ।
उच्च रक्तचाप
उच्च रक्तचाप पनि हृदयाघातको अर्को कारण हो । समयमा रक्तचापलाई नियन्त्रण गर्न नसक्नेहरूले हृदयाघातको सामना गर्नु परिरहेको चिकित्सकहरूको भनाई छ । उच्च रक्तचापले दबाब बढाउँदा रक्तनलीमा विभिन्न थेग्रोहरू जम्न मद्दत पु¥याउछ र त्यो प्रक्रिया बढ्दै जादा रगतको प्रवाह बन्द हुने डा।रेग्मी बताउँछन् ।
मधुमेह
हृदयाघातको अर्को कारण मधुमेह पनि हो । शरीरमा चिनी अर्थात् ग्लुकोजको मात्रा आवश्यकताभन्दा धेरै हुन जानु नै मधुमेह अर्थात् चिनीरोग लाग्नु हो । मान्छेको रगतमा ७० देखि १ सय ५० मिलिग्रामभन्दा बढी चिनीको मात्रा हुँदा रगत पातलो हुन गई थेग्रो जम्मा हुन्छ । नजानिँदो ढंगले बढ्ने त्यही थेग्रोले हृदयाघात गराउँछ ।
मुटुरोग विशेषज्ञ डा रेग्मीले कामको बोझ वा अन्य यस्तै कारणले हुने मानसिक तनाव पनि हृदयाघातको एउटा कारण रहेको जानकारी दिए । उनका अनुसार तनावले शरीरमा हानिकारक रसायनहरू उत्पन्न गराउँछन् र ती रसायनले नसा खुम्चिने, नसामा चोट लाग्ने समस्या उत्पन्न हुन्छ।जसका कारण रक्तनलीमा थेग्रो जम्न जान्छ ।
तनाव
तनावले पनि रक्तचाप र मुटुको चाल बढाउँछ । जसबाट अन्ततः हृदयाघातसम्म गराउँछ ।
व्यायामको कमी
हृदयाघातको अर्को कारण व्यायामको कमी पनि हो । शारीरिक श्रम तथा व्यायामको कमीले शरीरमा बोसोको मात्रा बढाउँदा हृदयाघातको अवस्था तयार हुन्छ । दैनिक हिँड्ने, दौडिने, खेल्नेजस्ता क्रियाकलापको कमीले मानीसलाई मोटो बनाउँछ । मोटोपन भनेको शरीरमा अनावश्यक बोसो जम्मा हुनु हो । त्यस्ता बोसो शरीरका सबै भागमा जम्मा हुन्छ। जस्का कारण नसामा समेत बोसो जम्मा भएर रक्तप्रवाहमा अवरोध सृजना गर्दछ र हृदयाघात हुने गर्दछ ।
लक्षण
हृदयाघात हुँदा छातीको बीच भागमा असह्य पीडा उत्पन्न हुन्छ। छातीको मध्यभागमा देब्रेतिर कुनै गह्रौं चीजले थिचेर असह्य पिडा भएको जस्तो महसुस हुने गर्दछ । यसका साथै पेटको माथिल्लो भाग, पिठ्युँ र देब्रे काँधमा सहनै नसक्ने गरी पीडा हुने गर्दछ । हृदयाघात भएका व्यक्तिलाई एक्कासी श्वासप्रस्वासमा समस्या आउने, पसिना आउने र वाकवाकी आउने हुन थाल्दछ । यसैगरी, दम बढ्नु, खुट्टा सुन्निनु, मुटु बेतालले धड्कनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, साथमा ज्वरो पनि आउनु, जिब्रो, औंलाका टुप्पा नीलो हुनु पनि हृदयाघातका लक्षण हुन् । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए रोगीको तत्काल मृत्यु हुन सक्छ।
हृदयाघात हुने लगभग एकतिहाइ मान्छेको अस्पताल नै पुग्न नपाई मृत्यु हुन्छ । हृदयाघातपछि अस्पताल पुग्ने ९० प्रतिशत बिरामी सामान्यतया बाँच्ने गरेको चिकित्सकहरूको भनाई छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv