हामी कसरी वामपन्थी होइनौं ? -दीपकराज जोशी ( विचार )

काठमाण्डौ,पौष १६ । आखिर हामी व्यक्तिगत र सामाजिक रूपमा सुस्वास्थ्य रहन चाहन्छौं । हामी सबै बिरामीभन्दा स्वस्थ, गरीबभन्दा धनी, कमजोरभन्दा बलियो, कैदभन्दा स्वतन्त्र हुन चाहन्छौं ।
दुःखीभन्दा सुखी, अभावभन्दा भरपूर, फोहोरभन्दा सफा, कुरूपभन्दा सुन्दर, अँध्यारोभन्दा उज्यालो हुन चाहन्छौं । कहीँ न कहीँ हाम्रा इच्छालाई पूर्ण गर्ने जिम्मेवारी सरकारको हुन्छ र त्यसलाई पूरा गर्ने/नगर्ने सरकारमा रहने पार्टीको सिद्धान्त र विचारधारामा निर्भर गर्छ ।
असमानता र शोषण कुनै पनि समाजको स्वाभाविक र अपरिहार्य पक्ष हो । यही असमानता र शोषणले समाजमा शोषित र शोषण गर्ने वर्गलाई जन्म दिन्छ । समयक्रमसँगै यसविरुद्ध लड्न विभिन्न वैचारिक जमातहरू उत्पादन हुन्छन् । वामपन्थी विचारधाराले समानता, समाजवाद र शासनमा सरकारको ठूलो सहभागितालाई बढावा दिन्छ ।

उदाहरणका लागि वामपन्थी विचारधाराले व्यापारमा बढी नियम र धनीहरूलाई बढी कर लगाउनुपर्छ भन्ने विश्वास गर्छ । समलिङ्गी विवाह, नारीवाद, नागरिक अधिकार, विश्वव्यापीकरण, धर्म, शक्ति पृथकीकरणको सिद्धान्त, मृत्युदण्डको विरोध जस्ता धेरै प्रगतिशील विचारहरूलाई बढावा दिन्छ ।
समाज प्रगतिशील छ, प्रगतिशील समाजमा म व्यक्ति र समाजलाई शासन गर्ने व्यवस्था पनि प्रगतिशील हुनुपर्छ । सामाजिक न्याय भनेको सबैले समान आर्थिक, राजनैतिक, सामाजिक अधिकार र अवसरको हकदार हुने धारणा हो । सुख तिनै अवसरबाट मात्र प्राप्त हुन्छ ।

सन् १९३७ मा मार्क्सले आफ्नो बुवालाई लेखेको पत्रमा लेखेका थिए, ‘संसारमा सबैभन्दा ठूलो सुख उसैमा आउँछ, जसले सबैभन्दा धेरै मानिसको खुसीका लागि काम गर्छ ।’ मार्क्सको बहुप्रचलित कथन हो – ‘धर्म अफिम हो’ । अफिमले सीमित व्यक्तिलाई क्षणिक खुसी र आनन्द दिन्छ । जुन धर्मले एउटा वर्गको मात्र हित सोच्छ, त्यो साँच्चै नै अफिम हो । त्यसकारण हिन्दू, इस्लाम, क्रिश्चियन धर्म होइन, यी त केवल पन्थ हुन् ।

अब रह्यो धर्मको कुरा । संसारमा धर्म केवल सनातन धर्म मात्र हो, जसले स्वधर्ममा विश्वास गर्छ । अरु सबै पन्थ हुन् । सनातन धर्म आफैंमा निरपेक्ष पनि छ । हाम्रो सनातन धर्ममा पनि सबैभन्दा ठूलो धर्म अरु (व्यक्ति, समाज, वातावरण) को सुखका लागि काम गर्नु नै हो भन्ने कुरा उल्लेख छ । सनातन धर्ममा ‘बसुधैव कुटुम्बकम्’ अर्थात् ‘सारा संसार एउटा परिवार हो, जहाँ जात, वर्ण, धर्म, लिङ्ग, पेशा, क्षेत्रका आधारमा कुनै विभेद हुँदैन’ ।

विवेकानन्दले भनेका छन् कि भविष्यमा सर्वहारा संस्कृतिका श्रमिक सरकारहरूले मात्र शासन गर्नेछन् । समाजको हरेक क्षेत्रमा महिलालाई जनसंख्याका अनुपातमा आधा स्थान दिनुपर्छ । बौद्धधर्म अनुसार जीवनको मूल उद्देश्य नै सुख हो । आधुनिक लोकतन्त्रमा सबै मानवजाति अनिवार्य रूपमा समान छन्, हामी प्रत्येकलाई जीवन, स्वतन्त्रता र खुशीको समान अधिकार छ भन्ने सिद्धान्तमा आधारित छ ।

बुद्धले वर्गविहीन समाज निर्माण गर्न खोजेका थिए । कुरानमा ‘अल्लाहले तिमीलाई न्याय र उदारताको आदेश दिनुहुन्छ’ भनिएको छ । इस्लाम धर्ममा तपाईं आफ्नो काम न्यायपूर्ण ढंगले गर्नु भनिएको छ । आखिर सबैले सामाजिक न्यायको कुरा गरेका छन् ।

के बुद्ध, विवेकानन्द वामपन्थी थिए ? के सनातन धर्म वामपन्थी हो त ? समय कालखण्ड परिस्थिति अनुसार सबै चिज परिवर्तन हुन्छन् । कसले के भन्यो, किन भन्यो भन्दा पनि त्यो भनाइले समग्र मानव जातिको कल्याण गर्न सक्छ कि सक्दैन ? त्यो महत्त्वपूर्ण कुरा हो । संसारमा परिवर्तनबाहेक केही स्थायी छैन, किनभने परिवर्तन सधैं परिवर्तन भइरहन्छ । त्यसैले हामी विचारको कैदी हुनु हुँदैन ।

सरकारको जीत र पराजय उसले गर्ने कार्यमा निर्भर हुन्छ । यसको मापन समाज र जनताको खुशी र समृद्धिमा आधारित हुन्छ । राष्ट्र तबसम्म पराजित हुँदैन, जबसम्म उसले आफ्नो मूल्य, मान्यता र संस्कृतिको रक्षा गरिरहन्छ । लिबरल लिफ्टले आफ्नो मूल्य मान्यता र संस्कृतिको रक्षा गर्ने सधैं तरबार रहन्छ । जात, वर्ग, धर्ममा विभाजित समाजको राष्ट्र हुँदैन, जब राष्ट्र हुँदैन तब राष्ट्रियता हुँदैन ।

राष्ट्रको मुक्तिमा नै हाम्रो मुक्ति जोडिएको छ । बलिदान साध्य होइन, साधन हो । त्यसैले व्यर्थ बलिदान नगर्नुहोला । सच्चा नेता विचारधाराका लागि मर्न पछि पर्दैनन्, तर आफ्ना जनतालाई मार्ने काम भने गर्दैनन् । जबसम्म समाजका लागि व्यक्ति र राष्ट्रका लागि समाज त्याग गर्न तत्पर हुँदैन, तबसम्म समाज परिवर्तन हुँदैन । एक व्यक्तिले अर्को व्यक्ति, एउटा समाजले अर्को समाजलाई विनाश गरेर मात्र हुने विकास विकास होइन ।

राजनीतिक व्यवस्था संस्कृति होइन । राजनीतिक प्रणाली संस्कृतिको पूरक हुन सक्छ तर संस्कृतिको पर्यायवाची होइन । संस्कृतिको प्रवाहले व्यक्ति, समाज, राष्ट्रलाई मार्गप्रशस्त गराउँछ र राजनीतिको दायित्व पनि व्यक्ति, समाज र राष्ट्रको उत्कर्ष नै हो ।

वामपन्थीको विचारधारा समाजमा केन्द्रित हुन्छ भने दक्षिणपन्थी विचार व्यक्तिमा केन्द्रित हुन्छ । हुन त नेपालमा राजनैतिक विचारधाराको आधारमा राजनीति गर्नेहरूको संख्या न्यून छ । समग्ररूपमा भन्नुपर्दा वामपन्थी विचारधाराले समाजबारे सोचेर आफ्नो नीतिहरू निर्माण र विकास गर्छ, जसलाई समुदाय गठन गर्ने मानिसहरूको समूहको रूपमा परिभाषित गरिन्छ । त्यसैले केही सरकार वा वामपन्थी दलहरूले आफूलाई समाजवादी भनेर परिभाषित गर्छन् ।

वामपन्थी विचारधारामा राजनीति गर्नेहरूले एउटा कल्याणकारी राज्य निर्माण गर्ने लक्ष्य राख्छन्, जसबाट सबै जनता लाभान्वित हुन सक्छन् । यो प्रणाली नागरिकहरूले तिर्ने करद्वारा सञ्चालित छ, जसमा प्रत्येकले तिनीहरूको सम्भावनाअनुसार (धनीहरूले बढी र कम कमाउनेहरू कम कर तिर्छन् ।

अर्कोतर्फ, दक्षिणपन्थी विचारधारा व्यक्तिगत र निजी पहलमा बढी केन्द्रित छ । दक्षिणपन्थी सरकारहरूले कम्पनीहरूको अर्थतन्त्रको पक्षमा वकालत गर्छन्, ताकि उनीहरूले नै देशमा सम्पत्ति आर्जन गर्न सकून् ।

यसकारणले गर्दा दक्षिणपन्थी सरकारले कामदारभन्दा रोजगारदातालाई बढी फाइदा पुर्‍याउँछ । किनभने तिनीहरूले पैसा कमाउँछन् । वामपन्थीहरू सधैं साझा हित खोज्ने, मूल्य र मान्यताका साथ शासन गर्न रुचाउँछन् । समतामूलक समाज उनीहरूको परिकल्पना हो ।

एउटै कारणले गर्दा तपाईं हामी वामपन्थी छौं । किनकि हामी र हाम्रो वरपर वर्ग संघर्षको एउटा ठूलो पहाड छ । हामीले गरीबमुखी नीति तथा कार्यक्रम देख्यौं तर कार्यान्वयन देखेनौं । तपाईं यसैकारण वामपन्थी हुनुहुन्छ, ताकि तिनीहरूलाई गरीबीबाट मुक्त गर्न सक्नुहोस् र तिनीहरूलाई तिनीहरूको अवस्थाबारे सचेत गराउन र अन्य विकल्पहरू खोज्न सधैं तत्पर हुनुहुन्छ । यो हिसाबले हेर्ने हो भने बीपी कोइराला पनि वामपन्थी थिए ।

पन्थ जे भए पनि हामीलाई परनिर्भरतारहित खुला बजार, आर्थिक स्वतन्त्रता र नागरिक स्वतन्त्रतासँग जोड्ने सूत्र चाहिएको छ । हुन त वामपन्थीले दिन खोजेको सन्देश धेरै नै लोभलाग्दो छ । सन्देशले मात्र समाज रूपान्तरण हुँदैन । त्यसलाई व्यवहारमा उतार्नुपर्छ । जबसम्म व्यक्तिको आहार, विहार, विचार, व्यवहार, संस्कार सिद्धान्तसँग पंक्तिबद्ध गर्दैन, तबसम्म तपाईं हामीले जुनसुकै विचारधारा बोके पनि समाज अगाडि बढ्न सक्दैन ।

एक अर्थले भन्ने हो भने हामी सबै वामपन्थी नै हौं । किनभने हाम्रो स्वतन्त्रता अरू कसैको स्वतन्त्रता समाप्त भएर शुरू हुँदैन, हाम्रो स्वतन्त्रता पनि अरुको स्वतन्त्रतासँगै शुरू हुन्छ । किनभने हामी तबसम्म स्वतन्त्र हुने छैनौं, जबसम्म सबै स्वतन्त्र छैनन् । हामी स्वास्थ्य सेवालाई निजी व्यवसायमा रूपान्तरण गर्ने वा परिवर्तन गर्न चाहनेहरूबाट आक्रोशित छौं ।

पुँजीवाद एक अन्यायपूर्ण प्रणाली हो, जसले समाजमा अस्वीकार्य असमानताहरू उत्पन्न गर्दछ, जसले प्रकृतिलाई नष्ट गर्दछ, जसमा पैसालाई देवताको रूपमा पुजिन्छ, जसले आर्थिक लाभका कारणले मानव जीवनलाई तुच्छ ठान्छ, जुन लोकतन्त्रसँग असंगत छ, जहाँ अल्पसंख्यक धेरै नै धनी छन्, उनीहरू आफ्नो प्रभुत्व जमाउन समाजमा जे पनि गर्न तयार हुन्छन् ।

जसले स्वास्थ्य, शिक्षा, संस्कृति, सामाजिक सेवा, खेलकुदजस्ता हाम्रा साझा मूल्य र मान्यतालाई पनि व्यापार सम्झने गर्छन् भन्ने कुराको हामी सदैव विरोध गर्छौं ।

हामी स्वास्थ्य, शिक्षा, सडक, पानी र सरसफाइजस्ता आधारभूत सुविधाहरूको व्यवस्थापन सरकारले गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छौं ।

अन्त्यमा मान्छे तबसम्म वामपन्थी हुन सक्दैन, जबसम्म उसले समाजसँगै दुःख भोग्छ तर एक्लै अलग–अलग आनन्द लिन्छ । जबसम्म म भित्र जे छु र बाहिर त्यही देखिन्छु र समाजको द्विचरित्र मसँग छैन/हुँदैन, तबसम्म जुनसुकै पन्थ वा पन्थ बोक्ने पन्थीहरूले सामाजिक न्याय दिन सक्दैन ।

हामी जे गर्न चाहन्छौं, त्यसले मेरो होइन समाज र राष्ट्रको, यहाँ बसोबास गर्ने सम्पूर्णको भलाइका लागि पहलकदमी उठाओस् भन्ने लाग्नुपर्छ । सामाजिक विभेद, चाहे त्यो जुनसुकै कुरासँग सम्बन्धित होस्, मन्जुर हुनु हुँदैन । राज्य व्यवस्थाले समानता र समतामूलक समाज निर्माण गर्नुपर्छ भन्ने कुरामा हिजो पनि कटिबद्ध थियौं, आज छौं र भोलि पनि हुनेछौं । यी सबै कुरा हुँदै गर्दा के हामीले आफूलाई वामपन्थी होइनौं भन्न मिल्छ ?



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv