आजको दिन गुलाफको फुल किन्न मरीहत्ते गर्ने -रामु शाही ठकुरी (लेख)

भ्यालेन्टाइन डे मनाउने नाममा सेनामा काम गर्ने व्यक्तिले बिवाह गर्न नपाउने नियम रहेको बेला, बिहे गरे बापत मारिएको व्यक्तिको सम्झनामा प्रेमको आदर्श भन्दै सबै लहडिएको देख्दा साँची नै पश्चिमा संस्कृतिले गाँजेछ भन्नेमा दुइ मत रहेन। पश्चिमा संस्कृति तेही संस्कृति हो जसले हरेक चिजमा नाफा र घाटाको हिसाब गर्छ अनि प्रेम भन्ने शब्द प्रति उनीहरुको कत्तिको निस्वार्थ भावनाको प्रस्फुटन हो त्यो थाहा भएन। तर हामीमा यसको चित्ताकर्षण देख्दा चै, लाग्दैछ हामी पनि तेही स्वार्थ केन्द्रित अनि चहल पहल वाला र फाइदा केन्द्रित तर भावना रहित जन्जालमा जकडिदैछौं।

गुण, दोष, अवस्था, हैसियत मानौ मानक भएको छ, चोखो प्रेम बुझाउने अनि सामाजिक संजालमा तड्किलो, भड्किलो र देखावटी पोस्ट मानक भएको छ, समर्पण देखाउने। आफ्नो आमा बुवालाई घरमा राख्दा खेरि घाटा हुने हिसाब गरेर वृद्धाश्रममा पठाउन नहिच्किचाउनेहरुले, र आफ्नो आमा-बुवाले चाड-पर्वमा यस्तो गरि मनाउन पर्छ भन्दा, यो सबै बकवास हो – के बैज्ञानिक कारण छ भन्दै सोधेर मन दुखाउनेले चोखो अनि समर्पित प्रेमको आलाप रागेर कोहि कसै सामु आफुलाई उभ्याउनुको के अर्थ ?

आजको दिन गुलाफको फुल किन्न मरीहत्ते गर्ने ले कहिल्यै आफ्नो आमालाई पुजा गर्नकोलागि चाहिएको फुल टिप्न आफ्नै बारीमा गएका छौं त ?
एकदिन झर्केर बोलिदिदा अनुहार मलिन पारेर बसेकोबेला फकाउन गएका छौं र ? आफ्नो बुवालाई समस्या पर्दाखेरि मन दुख्ने गरि बचन फर्काउदा अनि थोरै आँशु झार्दा पनि हृदयमा बोझ नपर्ने भैसकेको हामी के साँची नै कोहिलाइ बिना स्वार्थ प्रेम गर्छौ र ?

प्रेम निश्वार्थ हो भने भनिराख्न पर्दैन, बर्सको एकदिन मात्रै राम्रो बोलि अनि हसिलो मुख परेर चेपारो घस्न पर्दैन। प्रेमको अनुपात देखाउन ऋण काढेर भए पनि महँगो रेस्टुरामा लगेर जान पर्दैन, अनि समर्पण देखाउन दिनभरी कसैको हात समाएर बसिराख्न पनि पर्दैन। अनेक व्यस्तताको बावजुद एक समय मन देखि सम्झिदिदा, आफ्ना हरेक दुख साट्दा खेरि सान्त्वना स्वरुप मिठो बचन आउँदा, सारा संसारसंग रिसले बोल्न मन नलागेको बेला अर्को तर्फबाट एउटा प्रश्नमा पनि सबै बिर्सेर उत्तर दिएर रमाउदा र सानो भन्दा सानो कुरा पनि आफु सामु राखीदिंदा, मुहारमा मुस्कान छाउँछ भने त्यहि हो “प्रेम”। जसलाई प्रमाणित गर्न बर्षमा एक दिन कुर्न पर्दैन। यो त हरेक क्षण, हरेक पल, अनि हरेक दिन ब्यक्त वा अव्यक्त रुपमा दर्शाउने दायित्व हो।

अहिलेको पुस्ताले बुझ्दैन भन्ने तर्क हो यदि भने, हाम्रो लालन पालनमा खोट छ । हाम्रो बुझाइ अनि सिकाइमा दोष छ। निश्चल प्रेम, अनि प्रेममा समर्पण र अझै भनौ स्वार्थ रहित प्रेम (स्नेह, माया आदि जस्ता शब्दले पनि जनाउने प्रेम नै हो ) आफ्नो परिवार भित्र अनि आफ्नै बुवा आमा प्रति देखाउन सक्दैन भने त्यो व्यक्ति कहिले पनि सच्चा प्रेमी बन्न सक्दैन। को ब्यक्ति कस्तो भन्ने उजागर गर्ने त आखिर त्यो व्यक्तिको व्यवहार र सोच ले नै त हो। व्यक्ति को सोच र व्यवहारले आखिर आकार लिने भनेको त परिवारभित्रै त हो।

आजको दिनले हाम्रो आफ्नो संस्कृति अनि सोचको हत्या नगरोस, प्रेमलाइ केवल स्वार्थ मात्र हैन समर्पण संग नया पुस्ता तुलना गर्नसक्ने होस्, आफ्नो अभिभावकको आँखामा आँशु टिलपिलाउंदा केवल स्वार्थको जोड घटाउमा मात्र हिसाब गर्ने बानिलाइ परित्यक्त गर्न सिकाओस।

अन्त्यमा यो दिन कसैको स्मृतिमा मनाइएको रहेछ, आफुले प्रेम गर्ने मान्छेहरुको स्मृतिले हाम्रो भावना भरियोस अनि हरदिन उनीहरुको सम्झना भैरहन्छ, हर समय समर्पण उब्जिरहन्छ, टाढै सहि मन मष्तिस्कमा प्रेमको भाव बगिरहन्छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv