युवा पुस्तामा लोकप्रिय गायक बज्राचार्यको ”मनमगन”
काठमाण्डौं १५ बैशाख । दुई दशकअघि पपगायन र संगीत मार्फत नेपाली सांगीतिक आकाशमा उदाएका प्रतिभाशाली गायक दिपक बज्राचार्यको नया गीत ”मनमगन” अहिले चर्चाको शिखरमा छ। नेपाली नया बर्षमा सार्बजनिक गरिएको गीतले करिब २ हप्ताको समयमा युवापुस्ताको आत्यधिक मन जित्न सफल भएको हो । रिक्की शाक्य संगको शब्द र संगीतको सहकार्यमा बनेको गीत ”मनमगन”लाइ दिपककै संगीत समूह रिदम ब्याण्डले एरेञ्ज गरेको हो ।
अहिले गीतलाई सुनेर मात्र होइन, हेरेर पनि मनोरन्जन लिने बेला हो । वास्तवमा गीतसंगीतले नाचगानलाई पनि परिभाषित गर्छ । गीतसंगीतको धुनमा आनन्द लिन त सकिन्छ नै, तर गीतसंगीत बजाएर नाच्नु पनि हाम्रो संस्कृतिको एउटा भाग हो । देशभरी हुने विभिन्न जात्रा तथा पर्वहरुमा बजाइने बाजा र नाच परम्परागत हुन्, जसले हाम्रो सांस्कृतिक पहिचान बोकेको छ । दिपकले त्यसैलाई मनन गरेर एउटा कमर्सियल धुन बनाउने जमर्को गरे, जसमा नेपालको परम्परागत बाजाको ताल र धुन समेटियोस् । गीतको सिर्जनामा उनले नेपाली बाजाको प्रयोगलाई प्राथमिकता दिए, जसमा दिपकको आफ्नो पहिचान हुनैपथ्र्यो, झुमाउने र नचाउने यसरी हेर्दा बज्राचार्यको ”मनमगन” मात्र एउटा गीत होइन, यो एउटा पनि संस्कृति हो ।
झण्डै १५० जना कलाकार तथा नृत्य समूहले परम्परागत तथा आधुनिक शैलीको नृत्यको फ्युजन म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् । ज्येष्ठ नागरिकहरुको आजुगणदेखि अत्याधुनिक हिपहपका साथै सुदुरपश्चिमको तराईमा नाचिने छलिया नाच, पहाडको झ्याउरे, ताम्सलिङ लिम्बुवानको झाँक्री नाच, उपत्यकाको लाखे, भक्तपुरको घिन्ताङ किसी, इन्द्रजात्रामा देखाइने पुलुकिसी र धुनिया घुमाउने अनि उपत्यकाको परम्परागत नाच धिमेनाच लगायतलाई मनमगनको म्युजिक भिडियोमा समेटिएको छ । भिडियो लाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् जसमा अनिल मानन्धरको छयांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।