कोहि पनि नागरिक खान नपाएर मगन्ते बन्दै सडकमा हिड्नु पर्दैन: प्रधानमन्त्री ओली
काठमाण्डौं,बैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ ।
राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उहाँले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले आगामी पन्ध्रौ योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने जिकिर गर्नुभयो ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाका साथ अगाडि बढिहेको बताउदै उहाँले अब कोही पनि भोका नरहने बताउनुभयो ।
कोही व्यक्ति सडकमा बाध्यतावस मागेर हिँडेको देखे तुरुन्त फोन गर्न आग्रह गदै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सरकारले जिम्मेवारी लिने बिश्वास दिलाउनुभयो ।
हाल निरपेक्ष गरीबीको प्रतिशत घटाउन सरकारले ठूला आकाङ्क्षा र महत्वाकाङ्क्षाका साथ उथलपुथलकारी काम गरिरहेकाले सबै निकाय र क्षेत्रले सोहीअनुसार गति बढाउनुपर्नेमा जोड दिँदै भन्नुभयो ।