भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन प्रधानमन्त्री केपी ओली दिल्लीमा
काठमाडौं, १६ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन प्रधानमन्त्री केपी ओली दिल्ली पुगेका छन् । ओली राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नियमित उडानबाट अपराह्न तीन बजे दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डामा ओर्लिएका हुन् ।
हवाई अड्डामा प्रधानमन्त्री ओलीलाई भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) ए गितेश शर्मा स्वागत गर्न पुगेका थिए । ओलीलाई स्वागत गर्न नेपाली राजदूत निलाम्बर आचार्य र नेपालका लागि भारतीय राजदूत मन्जिब सिंह पुरीको समेत उपस्थिति थियो ।
दिल्ली आउने प्रधानमन्त्रीको टोलीमा प्रमुख परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागीसहित उच्च अधिकारीहरु रहेका छन् । ओली राष्ट्रपति कार्यालयमा साँझ करिब सात बजे हुने मोदी र उनको मन्त्रिमण्डलको शपथ ग्रहण कार्यक्रममा सरिक हुनेछन् ।
प्रधानमन्त्री ओलीले शपथ ग्रहण समारोहपछि भारतीय राष्ट्रपति कोविन्द र विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुसँग पनि संक्षिप्त भेट गर्ने बताइएको छ । त्यसपछि उनी राष्ट्रपति कार्यालयमै हुने रात्रिभोजमा समेत सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच शिष्टाचार भेटवार्ता भने शुक्रबार बिहानका लागि तय भएको छ । बिहानको खाजा खाने गरी हैदरावाद हाउसमा हुने उक्त भेटवार्ता करिब आधा घन्टाको हुनेछ ।
भेटवार्ता द्विपक्षीय मुद्दाहरुमा भन्दा पनि नेपाल–भारत सम्बन्धका समग्र आयाममा केन्द्रित हुने बताइएको छ । ओलीले भारतका नवनियुक्त प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिनेछन् । ओली शुक्रवार ३.४० को निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ । ओली डिप्लोमेटिक इन्कलेभस्थित होटल ताज प्यालेस होटलमा बस्ने तय भएको छ ।