भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली स्वदेश फर्किए
काठमाण्डौं , १७ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शुक्रवार भेटवार्ता गरेका छन् । उनीहरुबीच शुक्रबार दिउँसो दिल्लीस्थित हैदरावाद हाउसमा औपचारीक भेटवार्ता भएको छ । भेटमा नेपाल र भारतका समग्र विषयमा छलफल भएको बताइएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले नवनिर्वाचित प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । भेटमा मोदीले नेपाल र भारतको सम्बन्ध जनस्तरमा राम्रो हुँदै गएकोप्रति खुशी व्यक्त गर्दै यही गतिमा सम्बन्धलाई अगाडि बढाउने आफ्नो चाहना रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच हुने संयुक्त आयोग बैठकमा समग्र दुई पक्षीय सम्बन्धको समीक्षा हुने प्रष्ट पारेका छन् । भेटमा भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीले रुद्राक्षको माला उपहार दिएका छन् ।
दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अध्यक्षसमेत रहेका ओलीले यसलाई अगाडि बढाउन भारतीय सहयोगको अपेक्षा गरेका छन् । प्रधानमन्त्री ओली अहिले ताज प्यालेसमा भारतीय नेतासँगको भेटवार्तामा व्यस्त छन् । शुक्रबार बिहान ओली नेपली दूतावास पुगेका थिए । दूतावासमा आन्तरिक विषयमा छलफल भएको थियो ।
मोदीको शपथ समारोहमा सहभागी हुन बिहीबार दिल्ली पुगेका प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको नियमित उडानबाट शुक्रबार साँझ स्वदेश फर्किएका छन् ।