कोसीमा भारतले गर्दैछ नेपाल डुबाउने यस्तो तयारी, स्थानीय त्रसित
काठमाण्डौ,असार २ । कोसी परियोजनाले सप्तकोसी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल पुनः गहिरो बनाउन सुरु गरेको छ । भारतले नेपाललाई कुनै जानकारी नदिई च्यानल गहिरो बनाउन थालेको हो । स्थानिय प्रशासनले भारतले नेपाललाई कुनै जानकारी नदिएको जनाएका छन् । सप्तरीको हनुमानगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ मा पाइलट च्यानल खन्दा गोबगाढा बस्ती नै डुबेको थियो ।
भारतले च्यानल गहिरो बनाउन थालेपछि बस्ती डुब्ने आशंकाले स्थानीय त्रसित बनेका छन् । परियोजनाका अधिकारी निर्देशनमा ठेकेदारले मेसिन लगाएर गहिरो र फराकिलो बनाउने काम गरिरहेको वडा अध्यक्ष बिन्देश्वर यादवले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा जितेन्द्रनारायण ठाकुरले लेखेका छन् ।
नेपाल–भारत कोशी–सम्झौता–१९५४ विपरित तीन वर्ष लगाएर च्यानल खनिएको थियो। कोशीको प्राकृतिक बहाव भारत विहार लोकहा पुनर्वासस्थित स्पर नम्बर २०–५० मा पुगेको बेला च्यानल खनेर पश्चिम तटबन्ध तर्फ सप्तकोशीको पानी फर्काउन लागेका छन्। भारतीय पक्षले कुनै काम गर्दा नेपाल पक्षलाई जानकारी दिने गरेको छैन।’ बिहारका ५ जिल्ला जोगाउन परियोजनाका भारतीय अधिकारीले प्राकृतिक बहावलाई परिवर्तन गर्न लागेका हुन्।