तुइनचालक शुक्रबहादुरले पाए नयाँ घर

धादिङ,असार ९ । हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले ८० वर्षीय तुइनचालक शुक्रबहादुर चेपाङलाई नयाँ घर हस्तान्तरण गरेका छन् । धादिङ चरौदीस्थित त्रिशूली नदी किनारमा विगत २० वर्षदेखि उनले तुइन तान्दै आइरहेका थिए ।

आइतबार एक कार्यक्रमकाबीच हास्यकलाकार जिग्री पाँडेसहित मधुसुदन पाठक ‘सिते बा’, काठमाडौँ कोटेश्वर सिटी टावरस्थित म्याक्स फेसन वेयरका सञ्चालक एवम् समाजसेवी हरिप्रसाद काफ्ले, नागरिक समूहका पदाधिकारीको उपस्थितिमा धादिङ रोराङ गाउँपालिका वडा नं. ७ मा निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो ।

सञ्चारकर्मी श्यामहरि शिवभक्तिको संयोजनमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोगमा उक्त घर निर्माण गरिएको हो । आजभन्दा ६ महिनाअघि उनले तुइन चलाउने बाजेको फिल्मी कुरा टिभीमा भिडियो रिपोर्टिङ गरेका थिए ।

चर्चित हास्यकलाकार जिग्री र पाँडेले शुक्रबहादुरको हातको नङ काट्दै नयाँ घरको चाबी दिएर घर हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले भने, ‘शुक्रबहादुरको लागि यति राम्रो चिटिक्क परेको घर बन्नु खुसीको कुरा हो । अबदेखि त्रिशूली नदी किनारमा सुत्नुपर्ने दिन गए । तपाईंले घर र आफूलाई सधैँ सफा सुग्गर राख्नुहोला । छिमेकी दाजुभाइले शुक्रबहादुरको हेरविचार गरेर सहयोग गरिदिनुहोला ।’ यता जिग्रीले एउटा पुण्यको काममा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको बताए । शुक्रबहादुरले २० वर्षदेखि तुइन तारेर धेरै व्यक्तिलाई वारपार गराउनु पनि एउटा सामाजिक सेवा नै भएको जिग्रीको भनाइ थियो । उनले सञ्चारकर्मी श्यामहरिलाई आगामी दिनमा पत्रकारितासँगै सामाजिककार्यलाई पनि निरन्तरता दिन आग्रह गरे ।

उता शुक्रबहादुरले काठमाडौंदेखि कलाकार आएर घर हस्तान्तरण गरिदिँदा मनमा निकै खुसी लागेको बताए । उनले भने, ‘घर थिएन, जग्गा थिएन । अब त जग्गा पनि पाएँ, घर पनि पाएँ । म तुइन तान्दिनँ ।’ हाल उनीसँग एक छोरा बस्छन् । शारिरीक रुपमा अशक्त उनका छोरा बोल्न र सुन्न सक्दैनन् । सोही छोरा र आफ्नो जीविकोपार्जनका लागि उनले त्रिशूली नदीमा तुइन चलाउँदै आएका थिए ।

घर निर्माणका लागि यूके निवासी गीता गुरुङ, साइप्रस निवासी कालिका थापा सेढाइ, अष्ट्रिया रहनुहुने कुमार अधिकारी र दुबईमा बस्ने हरिचन्द्र गिरीले अभियान चलाएका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv