नवलपरासीको अरुणखोला पुल भाँचिदा सडक अवरुद्ध

कावासोती,साउन २९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी खुलाईको छ । अहिले सो सडकखण्डमा सवारी साधन निर्वाध संचालनमा आएका छन् । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ । ठूला सवारीका लागि भने खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको उनले बताए । तत्कालका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ करमघारी गाउँ नजिक खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको भए पनि पानी परेको खण्डमा समस्या आउनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताए ।

पानी पर्दा खोलमा पानीको सतह बढ्ने तथा निर्माण गरिएको ‘डाइभर्सन’ बगाउन सक्ने भएकाले पुनः यातायात अवरुद्ध हुनसक्ने उनले बताए । भाँचिएको पुल मर्मतका लागि भने केही समय लाग्ने प्रहरी निरीक्षक अधिकारीले बताए । पुलको तल्लो सतहबाटै मर्मत गर्नुपर्ने भएकाले तत्काल पूर्णरूपमा पुलबाट यातायात सञ्चालन गर्न केही समय लाग्ने सडक डिभिजन कार्यालयले जानकारी गराएको उनले बताए ।

आज बिहान ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलको एक स्थानमा क्षति पुगी करीब दुई मिटर तल लच्किएकाले यातायात अवरुद्ध बनेको थियो । अहिले रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी निरीक्षक अधिकारीले बताए । पूर्वपश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीमा रहेका पुलहरु झण्डै वर्षेनीजस्तो कुनै न कुनैमा क्षति पुग्ने गरेका छन् ।

यसबाट यात्रुहरुले समस्या झेल्ने गरेका छन् । नवलपरासीको नवलपुरअन्तर्गत पर्ने जयश्री पुल, बौलाहाखोला पुल, लोकाहा पुलमा गत वर्ष सवारीले ठक्कर दिई क्षति पुग्दा महीनौंसम्म यात्रुले सास्ती पाएका थिए । विसं २०३० तिर निर्माण गरिएका नारायणगढ–बुटवल सडक खण्डका पुलको संरचनामा ‘ट्रस’को प्रयोग गरिएको छ । पुल निर्माण गरेको लामो समय भएकाले पुलका संरचना कमजोर बन्दै गएका छन् । सवारीसाधनले पुलमा सामान्य ठक्कर दिँदासमेत पुलको संरचनामा धेरै क्षति पुग्ने गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv