पश्चिमी क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना
काठमाडौं, २९ पुष । नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव परेको छ । यतिबेला पश्चिम क्षेत्रमा वर्षा भइरहेको छ भने कतिपय स्थानमा हिमपात भइरहेको छ । उक्त प्रणालीको कारण अहिले पश्चिमी क्षेत्रमा बदली भई सुदुर पश्चिमका उच्च पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपात भइरहेको मौसम पूर्मानुमान महाशाखाले जनाएको छ ।
सोमबार रातिदेखि भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि मौसममा यस्तो प्रभाव परेको हो । पश्चिमी क्षेत्रहरुमा वर्षा र हिमपात सुरु भएको हो ।
उक्त वायुको प्रभाव मंगलबार पनि रहनेछ । देशका पश्चिमी भूभागमा सामान्य र पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी, पश्चिमी भू–भागका केही स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । त्यस्तै, राति भने पश्चिमी भूभागमा सामान्य बदली हुने र अन्य भाग सफा हुनेछ । पश्चिमी भू भागका एक दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू९भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।