आज ९३ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस

काठमाण्डौं,बैशाख १३ । आज ९३ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस राष्ट्रिय फोटो पत्रकार समूहले एक विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण फोटो पत्रकार, फोटो ग्राफर र यस पत्रकारितामा रुचि राख्ने सम्पूर्णमा शुभकामना व्यक्त गरेको छ ।

विसं १९८४ वैशाख १३ गते गोरखापत्रमा वीरगञ्जकी एक महिलाले चर्खामा धागो कात्दै गरेको फोटो समाचार प्रकाशित भएको थियो । सोही फोटो नै नेपालको फोटो पत्रकारिताको इतिहासमा पहिलो पटक पत्रिकामा प्रकाशन भएको दिनको संझनामा राष्ट्रिय फोटो पत्रकार दिवसका रुपमा मनाइँदै आइएको छ।

संस्थाले राष्ट्रिय फोटो पत्रकारिता दिवसको दिन, विगतमा विभिन्न कार्यक्रमहरु गर्दै आएको भए पनि यस वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमका कारण सार्वजनिक कार्यक्रम गर्न असमर्थ रहेको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष राजेन्द्र चित्रकारले विज्ञप्ति मार्फत जनाएका छन्। अहिलेको आवश्यकता भनेकै सामाजिक दुरी कायम गरी यो महामारीलाई परास्त गर्नु नै हो भन्ने कुरालाई महशुस गरी सार्वजनिक कार्यक्रमहरु आयोजना नगरिएको उनले स्पष्ट पारे ।

यसवर्ष विश्वव्यापी फैलिएको कोराना भाइरस (कोभिड–१९) संक्रमणको महामारीबाट नेपाल पनि अछुतो छैन । यसै कुरालाई मध्यनजर गर्दै देशमा अहिले बन्दाबन्दी(लकडाउन) जारी राखिएको छ । महामारी फैलिएको असहज परिस्थितिमा सरकारले चालेका कदमहरुलाई हामी सवैले सहयोग गर्नुको विकल्प छैन । अर्कातिर हामी आफै पनि संक्रमणबाट जोगिनु पर्छ र अरुलाई पनि जोगाएर देशलाई क्षति हुनबाट जोगाउनु हामी सबैको साझा दायित्व हो । यही कुरालाई मनन गर्दै विगतका वर्षहरुमा दिवसको अवसरमा गरिने सम्पूर्ण कार्यक्रमहरु आयोजना गर्न असमर्थ भएका हौँ । विज्ञप्तिमा भनिएको छ ।

साथै राष्ट्रिय फोटो पत्रकार समूहले लकडाउनको अप्ठ्यारो अवस्थामा पनि कर्तव्य र जिम्मेवारीबाट विमुख नभै दिनरात कार्यक्षेत्रमा खट्नुहुने सम्पूर्ण फोटो पत्रकार मित्रहरुमा हार्दिक धन्यवाद सहित सम्मान प्रकट गर्नुका साथै यसरी कार्य क्षेत्रमा खटिदा आफ्नो सुरक्षाको पनि ख्याल गरी अगाडी बढन पनि अनुरोध गरेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिकालाई पालना गरी फोटो खिच्न तथा समाचार रिपोर्टिङ गर्न अनुरोध समेत गरेको छ। कार्यक्षेत्रमा खटिदा कुनै किसिमका समस्या परे संस्थाले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्धता पनि पत्रकार समूहले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv