पशुपतीनाथको मन्दिर बन्द भए पनि रोकिएन श्रद्धालुको भिड (भिडियो सहित)

काठमाण्डौं,साउन ५ । सौरमासअनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिरमा भक्तजनलाई प्रवेश दिइएको छैन ।

असार १ गतेअघि पशुपति परिसरमा पनि भक्तजनको आवागमन रोकिएको थियो । असार १ गतेदेखि बन्दाबन्दी खुकुलो बनाइएसँगै पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो । धेरैले बाहिरबाटै दर्शन गर्दै आएका थिए । आज साउन महिनाको पहिलो सोमबार पनि धेरै भक्तजनले बाहिरबाट दर्शन गरे ।

मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश नदिइए पनि परिसरमा भौतिक दूरी कायम नहुने अवस्था आज बिहान देखिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार धेरै भक्तजनले मास्कसमेत लगाएका थिएनन् । पशुपति क्षेत्रका अन्य शिवालयमा पूजा आराधना एवं दर्शन गर्न भक्तजन आतुर देखिन्थे ।

साउने झरी भए पनि बिहानै भक्तजन पशुपति क्षेत्र पुगेका थिए । मूल मन्दिर नखुले पनि बाहिरबाटै दर्शन गरेर फर्किएको ललितपुर, कुपण्डोलबाट आउनुभएका दर्शनार्थी पार्वती राउतले बताउनुभयो । साउनमा मन्दिरभित्रै गएर दर्शन गर्न पाए हुने भन्ने चाहनाले आफू पशुपति पुगेको उहाँको भनाइ थियो ।

मूल मन्दिरभित्र गएर दर्शनका लागि खुला गर्न सरकारले गर्ने निर्णयमा भर पर्ने कोषका सदस्य सचिव डा प्रदीप ढकाल बताउनुहुन्छ । सरकारले मन्दिर क्षेत्र खुला गरे भक्तजनलाई सुरक्षा विधि अपनाएर दर्शन गराउने गरी तयारी भइसकेको उहाँले जानकारी दिनुभयो ।

राजधानीका मलिलिङ्गेश्वर, गोकर्णेश्वर, किलेश्वर, कुम्भेश्वर, गोपालेश्वर, फणिकेश्वर, गन्धेश्वर, विक्रमेश्वर, वसन्तपुरको सानो पशुपति भनिने शिव मन्दिर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजन दर्शन गर्न पुगेका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv