अबिरल वर्षाले धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बगायो
धादिङ्ग,साउन ६ । आइतबार रातिदेखि परेको अबिरल वर्षाले चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बगाएको छ । खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ । मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ । बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिए ।
उनले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताए । जोगिमारा प्रहरी कार्यालयका हवल्दार उपेन्द्र श्रेष्ठले दिउँसो पुल भासिएर मानिससमेत हिँड्न नसक्ने भएको जानकारी दिए । उनले वैकल्पिक उपाय नखोजेसम्म तत्काल सडक सञ्चालनको सम्भावना नरहेको बताए ।
त्यस्तै पछिल्लो समय परेको निरन्तर वर्षाको कारण त्रिशूली नदी मडारिएको बगेको छ । त्रिशुली नदीमा रहेका झोलुङ्गे पुलदेखि पक्की पुलहरु उच्च जोखिममा परेका छन् । त्रिशूली नदीमा पानीको सतह बढेपछि चितवनको भरतपुर महानगरपालिका–१, दासढुङ्गाको पक्की पुल समेत खतरनाक अवस्थामा पुगेको छ । पक्की पुलको पिल्लर पुरै पानीमा डुबेको छ । गोरखा–धादिङ हुँदै बग्दै आएको बुढीगण्डकी नदी बेनिघाटमा मिसिएर सुरु हुने त्रिशुली नदी उर्लिएको हो ।
त्यस्तै भरतपुर महानगरपालिका–२९, सिमलतालमा रहेको झोलुङ्गे पुलको बीच भागलाई त्रिशुली नदीले नाघेको छ । सिमलताललाई तनहुँसँग जोड्ने पुलको मध्यभागमा बाढीले हिर्काइरहेकाले पुल बग्ने खतरा बढेको छ । बाढीले पुल छोएपछि त्यहाँ आवतजावत बन्द भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार त्रिशुली नदीमा रहेका सबै पुल उच्च जोखिममा छ । उनले भने, ‘सिमलतालमा रहेको झोलुङ्गे पुलको दुवैतिर रहेको पर्खालसमेत भत्किने अवस्थामा छ ।’ त्रिशुली नदी उर्लिएसँगै चितवन, धादिङ, गोरखा र तनहुँ जिल्लाका विभिन्न क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ ।