कुनै समयमा लोकले मानेको एउटा राजा थिए – यश घिमिरे (बिचार )
काठमाण्डौं,असोज २५ । कुनै समयमा लोकले मानेको एउटा राजा थिए । ईज्जत , मान-सम्मान नोकरचाकर धनसम्पती यशोआरामले भरिपुर्ण । तर ,एकसमय यस्तो पनि आयो, भारदारहरुको षडयन्त्रमा परी उनी राजगद्दीबाट घोक्रेठ्याक लगाइए । बिरक्तिएर हिँडदै गर्दा एउटा ज्ञानी साधुसङ्ग भेट भयो । राजाले आफ्नो धन सम्पति शान-शौकत सब खोसिएर निर्बासित हुनुपरेको दुखेसो सुनाए ।
साधुले “राजन चिन्ता नगर ,म केही उपाय निकाल्छु ‘ भनेर भरोसा दिलाए । अनि कागजमा केही लेखेर दुई ओटा जन्तर भित्र राखेर दिदै भने – ” मैले सेतो र कालो जन्तर भित्र गुरुमन्त्र लेखेर हालेको छु । जब मानसम्मान शुखसयल प्राप्त हुन्छ र तिमीलाई लाग्छ अब यो भन्दा चुच्चोमा पुग्ने ठाउँ छैन ,त्यो दिन यो सेतो जन्तर भित्रको कागज खोलेर पढ्नु । अनि कुनैदिन सारै चिन्ता दुख पीडा परेको दिन चाहिँ यो कालो जन्तर खोलेर पढ्नु । तर यो तबमात्र पढ्नु जब दुबै स्थिती चरमचुलीमा पुग्यो भन्ने लाग्छ ।”
राजा , जन्तर बोकेर त्यहाबाट बाटो लागे । कयौंदिन जङ्गलजङ्गल भोकभोकै हिँडे । दुखकष्ट सारै पाए । उनलाई लाग्यो मेरो दुख: चरमचुलीमा पुग्यो अब यो भन्दा बढी दुख भन्ने चिज नै हुँदैन । यस्तो बेलामा संन्तले कालो जन्तर खोलेर पढ्नु भनेका थिए भनेर सम्झियो । जन्तर खोलेर कागजमा लेखिएको कुरा पढे , लेखिएको थियो – ” राजन , यो दिन आउँछ र जान्छ । चिन्ता नगर । ”
यो दिन जान्छ भन्ने कुरा पढेर राजालाई हिम्मत आयो। उनी जंगलबाट जनताको माझमा फर्किए । आफ्नो भनाई राखे । उनै जनतासङ्ग मिलेर बिद्रोह गरे । गुमेको राजगद्दी फेरि प्राप्त भयो । पुरानो बैभब फर्कियो । ज्ञानी शन्तले भनेको कुरो पुग्यो । सुख सयलमा दिनहरु कटन थाले ।
चरम शुखभोग गर्दागर्दै राजाले फेरि उही साधुलाई सम्झे । उनलाई अब सेतो जन्तर हेर्ने समय आयो , त्यस्मा चाहिँ के लेखिया रहेछ हेरौं न भन्ने लाग्यो अनि खोलेर पढे । लेखिएको थियो – ” राजन ! यो दिन पनि आउँछ र जान्छ । चिन्ता नगर ।”
आजकाल प्रचन्ड दुलो पस्या देखेर तपाईलाई लाग्दैन उनको दिन पनि आएर गैसक्यो ? । नत्र कुनैबेला कथाको राजा भन्दा कमको शान थिएन गाँठे !