काँग्रेस नेतृ कौसर शाह सहित १ सय ९ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश
काठमाण्डौं,मङ्सिर २७ । काँग्रेस नेतृ कौसर शाह सहित १ सय ९ जना नेपाली काँग्रेस परित्याग गरी नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन । शनिबार पार्टी कार्यालय धुम्बाराहिमा नेकपाका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराउँदै समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टी कै काँधमा भएको बताउनुभएको छ ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, “ हाम्रो पार्टी भित्र चल्ने बहस र छलफलहरु त्यहि समाजवाद तिरको यात्राका लागि हुन् । समाजवाद तिरको यात्रामा अगाडि बढ्ने सन्दर्भमा हाम्रो कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यताहरुलाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता हामीले पालना गर्ने, कस्तो विधि विधान र पद्दति स्थापित गर्ने भन्ने नै हाम्रा बहसका विषयहरु हुन् ।”
कार्यक्रममा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले संविधानसभा सदस्य रही सकेकी शाहलाई विगतदेखि नै आफ्नै पार्टीको नेता ठान्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन मिल्नेहरु एउटै ठाउँमा आउँदा रहेछन् । मानिसहरुको बानी व्यहोरा र चिन्तन प्रणालीले एक ठाउँमा ल्याउने सहेछ ।’
पार्टीमा प्रवेश गर्दै नेतृ शाहले नेपाली काँग्रेसमा गुण्डा पाराले पार्टी भित्र हैकम चलाएकाले आफूले सो पार्टी परित्याग गरेको बताउनुभयो । उहाँले देशमा आएको जाति, लिंग र समुदायहरुमा आएको परिवर्तन कम्युनिष्ट पार्टीले नै ल्याएको दाबी गर्नुभयो ।
काठमाडौं महानगरपालिकाको नेपाली काँग्रेसको नगर सदस्य रहनुभएकी उहाँ विगतमा नेपाल विद्यार्थी सङ्घ पद्यकन्या क्याम्पसमा नेविसङ्घमा आवद्ध हुनुहुन्थ्यो । २०६२/०६३ सालको आन्दोलनमा चार पटक हिरासत बस्नुभएको थियो । दोस्रो संविधानसभाको निर्वाचनबाट नेपाली काँग्रेसको तर्फबाट उहाँ संविधानसभा सदस्य हुनुभएको थियो ।