पुष २७ लाइ राष्ट्रिय एकता दिवसको रुपमा मनाउन ठकुरी सहयोग संजालले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाण्डौं ७ पुष । पुष २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन ठकुरी सहयोग संजालले प्रधानमन्त्री के पि शर्मा ओली लाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा संजालका कार्यबहाक अध्यक्ष अजय मल्ल ठकुरीको नेतृत्वमा गएको टोलीले उक्त ज्ञापन पत्र बुझाएको हो ।

कुनै पनि राष्ट्रिय विभूतिको योगदानलाई राज्यले कहिल्यै पनि बेवास्ता,अवमूल्यन गर्दैन र गर्नु पनि हुदैन । भन्ने जिकीर गर्दै राष्ट्र निर्माता पृथ्वी नारायण शाहको राष्ट्रिय एकीकरणको योगदान बारे प्रधानमन्त्रीलाई काब अध्यक्ष मल्ल ठकुरीले ध्यान आकर्षण गराउनु भयो । पूर्ण पाठ तल लेखिएको छ ।

मिती- २०७५/०९/०४
सम्मानीय प्रधानमन्त्रीज्यु
प्रधानमन्त्रीको कार्यालय
सिंहदरवार, काठमाडौं ।

विषयः पौष २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउने बारेको ज्ञापन पत्र ।

महोदय,
विदेशी सैनिकको पाईलालाई आफ्नो राज्यमा टेक्न नदिने ब्यक्तिको जुनसुकै देशको राष्ट्रिय इतिहासमा सम्मान गरिएको हुन्छ । विदेशी उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेको दिनलाई संसारका प्राय देशमा राष्ट्रिय स्वतन्त्रता दिवसको रुपमा मनाउने चलन सदियौ देखि चल्दैआएको छ । तर हाम्रो देश कहिल्यै विदेशीको पन्जामा परेन र त स्वतन्त्रता दिवस मनाउने जरुरत नै परेन । तर स साना टुक्रामा विभाजित राज्यलाई एकीकरण गरेर वाह्य आक्रमणबाट आफ्नो देशलाई जोगाई सिंगो राष्ट्रको रुपमा निर्माण गर्ने श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको सम्मान र सम्झनामा उनको जन्म दिन पौष २७ लाई राष्ट्रिय एकता दिवसको नाममा राष्ट्रिय पर्वको रुपमा मनाउदै आईरहेकोमा २०६३ साल देखि एकाएक राज्यस्तरबाट यो पर्व राष्ट्रिय रुपमा मनाउन छोडियो । के यो नै हो राष्ट्र निर्माता राष्ट्रिय विभूतिलाई राज्यले गर्ने सम्मान ? कुनै पनि राष्ट्रिय विभूतिको योगदानलाई राज्यले कहिल्यै पनि बेवास्ता, अवमूल्यन गर्दैन र गर्नु पनि हुदैन । जुन दिन राज्य यो कुरामा चुक्दछ त्यो राज्यको पतन निश्चित हुनेछ ।

राष्ट्र निर्माता पृथ्वी नारायण शाहको राष्ट्रिय एकीकरणको कारणले नै यो राष्ट्रले स्वतन्त्र हैशियत प्राप्त गर्न सकेको हो । सार्वभौम रहन सकेको हो । हामी नेपालीहरुले कहिल्यै कसैको पराधीनता भोगेनौं, दास बनेनौं, सधैं स्वतन्त्र र सार्वभौम रह्यौं । त्यस कै फलस्वरुप एकीकरण अभियानका सुत्रधार पृथ्वीनारायण शाहलाई सम्पुर्ण राष्ट्रभक्त नेपालीहरुले राष्ट्रिय एकताको प्रतीक मानिरहेका छन् । देशलाई बाह्य आक्रमण, प्रभावबाट राजनैतिक र सांस्कृतिक दुवै रुपबाट बचाउने, उपयोगि राम्रा सीप ल्याएर स्थानीय स्रोेत साधनलाई प्रयोग गरि अर्थब्यबस्था उकास्ने , मौलिक परम्पराको संंरक्षण गर्ने, कमजोर शक्तिलाई एकीकृत गरि क्षमताबान बनाउने नीतिहरुले गर्दा नै उनलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा सबै नेपालीले स्वीकार्नु पर्दछ ।
उनै राष्ट्र नायकले एकीकरणको अभिभारा आफ्नो कांधमा नलिएको भए, उनको अभियानलाई साथ दिने हाम्रा वीर पुर्खाहरु नभएको भए, साना साना राज्यलाई विशाल नेपालमा परिणत नगरेको भए, आज विश्व मानचित्रमा नेपाल यो रुपमा कदापी रहन सक्ने थिएन । आज बिश्वमा नेपालीको अस्तित्व र हैशियत रहने थिएन , न नेपाल रहने थियो न नेपाली ।
नेपाललाई ४ जात ३६ वर्णको साझा फूलवारीको संज्ञा दिएर एकीकरण अभियान थालेका सच्चा सपुत राष्ट्र नायकको अथक योगदानलाई विर्सन खोज्नु आफैलाई विर्सनु जत्ति कै हो । पृथ्वीनारायण शाह नेपाल एकीकरण गर्ने महापुरूष होइनन भन्दै इतिहास बन्ङ्गाएर वहाको शालिक फुटाएर, हटाएर यस मुलुकमा बिखण्डनको बिउ रोप्ने अराजक गतिविधिलाई निरुत्साहित गर्नुपर्नेमा राज्यस्तरबाट नै प्रोत्साहित गरिएको यथार्थ हामी लगायत आम नेपालीहरुले गरिरहेका छन । अहिलेको अवस्थामा जातियताको नाममा, केही स्वार्थी ब्यक्तिको उक्साहटमा तथा क्षणिक उन्मादमा पृथ्वी नारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय उत्सवको रुपमा नमनाउनु वीर पुर्खाको रगत, पसिना र आम नेपालीहरुको स्वाभिमानको अवमूल्यन गर्नु हो । विश्वका जुनकुनै देशमा एकीकरण गर्ने महापुरुषको ब्यक्तित्व माथि कुनै पनि सवाल गरिदैन । जर्मन एकीकरण गर्ने विस्मार्कको बारेमा कार्लमाक्सले, रुसलाइ संयुक्त बनाउने जारको बारेमा लेनिन तथा स्टालिनले कहिल्यै कुनै बहस गरेनन । तर हाम्रो देशमा राज्यले एकीकरणका नायकको योगदानलाई कदर गर्न चाहेन । बडामहाराज पृथ्वीनारायण शाह जर्मनका विस्मार्क, अमेरिकाका जर्जवाशिंटन, भारतका महात्मा गान्धी, बंगलादेशका शेख मुजिबुर रहमान, पाकिस्तानका काईदे आलम अली जिन्हा, इन्डोनेसियाका सुकार्नो, जापानका सम्राट जिम्मु, इजिप्टका शाद जागलउल, युगोस्लाभीयाका जोसेफ ब्रोज टिटो, अष्ट्रेलियाका सर हेनरी पार्कस र अफ्रिकाका नेल्सन मन्डेला जत्तिकै श्रद्धाका महान पात्र हुन भन्ने कुरो राष्ट्र हाक्ने नेतृत्वले स्विकार्न सक्नुपर्छ । राष्ट्र निर्माताको सम्मान राज्यले नगर्ने, अनि राजनीतिक दलहरु उनको उछित्तो काटने । केही पूवाग्राही इतिहासकारहरु उनको केही कमजोरीलाई बलियो हतियार बनाएर राष्ट्रियतामा प्रहार गरिरहने । यस्ता अराजक क्रियाकलापले इतिहासको त्यो पाटोलाई त बिर्साउने नै छ । त्यस्तो एक दिन नआउला भन्न सकिन्न जुन दिन आफुलाई नेपाली हुं भन्न नै लाज लागोस ।
पृथ्वी नारायण शाहले बडो दुख र कष्टले अज्र्याका एकीकृत नेपालको सम्वृद्धि र स्थायित्वको निम्ति उनले राष्ट्रहितका लागि गरेका दुरगामी कार्यहरु यहां ज्ञापन पत्रमा समेटनु सम्भव हुदैन । यिनै तथ्यहरुलाई आत्मसाथ गर्दै सिङ्गो नेपाल निर्माणका नायक श्री ५ वडामहाराज पृथ्वी नारायण शाहको जन्म दिन राष्ट्रिय गौरब संग गासिएकोले पौष २७ गतेलाई राष्ट्रिय पर्वको रुपमा नेपाल सरकारले मनाउन र नेपाली जनतालाई राष्ट्रिय एकताको प्रत्याभूति दिलाउन ठकुरी सहयोग सञ्जाल लगायत देशवासी जनता जोडदार माग गर्दछौं ।

—————–
(अजय मल्ल ठकुरी)
कार्यवहाक अध्यक्ष्य



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv