बिप्लव समुहलाई गृहमन्त्रीको चेतावनी : सरकारको निशानामा अब बिप्लव समुह
धनगढी, २२ फागुन । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहको गतिविधि राजनीतिक भन्दा पनि विध्यंसात्मक भएको भन्दै सरकारका मन्त्री र नेताहरुले त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताउन थालेका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपाले सञ्चालन गरिरहेको ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका छन् ।
यस अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि विप्लव समुहको गतिविधिलाई सरकारले गम्भिर रुपमा लिएको बताएका थिए । उनले नियन्त्रण गर्ने बेला आएको टिप्पणी गरेका थिए ।
सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका बादललाई सञ्चारकर्मीहरुले विप्लव समूहले गराएको विस्फोटबारे प्रश्न गरे पछि उनले पनि विप्लवका कृयाकलाप प्रति सरकार गम्भिर रहेको प्रतिकृया दिएका हुन् ।
जवाफमा उनले भने, ‘केही समूहले योबीचमा केही विस्फोटन र ध्वंसात्मक गतिविधि गरेका छन्, यसबारे सरकार गम्भीर छ । यसलाई छिट्टै नियन्त्रण गरिनेछ ।’
संघीय प्रहरी, प्रदेश प्रहरी निर्माणसम्बन्धी कानुन संसदमा पुगेको र यो पास भएपछि प्रदेश र स्थानीय तहको शान्ति सुरक्षा अझ सुदृढ बनाइने गृहमन्त्री बादलको दाबी छ ।
उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान जारी रहेको बताए । गृहमन्त्री बादलले भने, ‘यो प्रकरणमा सुरुमा केही निकायको लापारबाहीका कारण अन्यौलता पैदा भएको हो । अहिले अनुसन्धान जारी छ ।’