५० सदस्यीय टोलीसहित राष्ट्रपति भण्डारी चीन प्रस्थान
काठमाण्डौं,बैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि आज चिन प्रस्थान गर्नुभएको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङ बीच द्विपक्षीय वार्ता हुनेछ ।
त्यसपछि दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर हुनेछ । चीनको राजकीय भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने प्रयास गर्ने भएको छ ।
नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारेको छ । जसमा ल्हासादेखि काठमाडौंसम्मका अन्तरदेशीय विद्युत् प्रसारण लाइन बनाउने र नौबिसे देखि काठमाडौंसम्म सुरुङ खन्ने प्रस्तावलगायत छन् ।
नेपालका तर्फबाट सुरुमा ३५ परियोजना पेस भएकामा प्राथमिकताका आधारमा १० भन्दा कममा झार्न चीनले सुझाव दिएपछि नेपालले ९ वटा सूची तयार गरेको हो । भण्डारीले दोस्रो बीआरआई सम्मेलनमा पनि नेपालको चासोबारे औपचारिक सम्बोधन गर्ने पनि परराष्ट्रले जनाएको छ ।
नेपालका राष्ट्रपतिलाई पहिलोपटक कार्यकारी भ्रमणको निम्तो दिएको चीनले भण्डारी नेतृत्वको टोलीलाई बेइजिङमा उच्च सम्मान दिँदै छ । ५० सदस्यीय टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरू, उच्च सरकारी अधिकारीहरूलगायत सहभागी हुनुभएको छ ।
यसबाहेक भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा पनि चीन जानु भएको छ ।