नेपाल र यूएईबीच नयाँ श्रम समझदारी
काठमाडौं, वैशाख १३ । नेपालसँग श्रम समझदारी गर्न युएई तयार भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। बिहीबार नेपाल र युएईका उच्च अधिकारीहरूको प्राविधिक टोलीको बैठकमा छलफलका क्रममा युएईका टोलीले श्रम समझदारी गर्न सहमति जुटेको श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले नेपाल लाइभलाई जानकारी दिए।
उनले भने, ‘युएईसँग नयाँ श्रम समझदारी गर्ने टुंगो आज लागेको छ, कुन मितिमा श्रम समझदारी पत्रमा हस्ताक्षर गर्ने भन्ने विषयमा भने छलफल पछि मिति तोकिने छ।’ सहसचिव घिमिरेका अनुसार युएईसँग नयाँ श्रम समझदारीपछि नेपाली कामदारहरू युएई रोजगारीका लागि शून्य लागतमा जान पाउने छन्।
नेपाली कामदारहरू सामाजिक सुरक्षाको ग्यारेन्टीसहित अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको मापदण्डअनुसार पठाइने गरी समझदारी पत्रमा हस्ताक्षर गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ।
युएईसँग श्रम समझदारी नवीकरणबारे छलफलका लागि यसअघि सहसचिव रामप्रसाद घिमिरे सहित उच्चअधिकारीहरूको नेपाली टोली युएई पुगेको थियो। यसअघि सन् २००७ मा नेपाल सरकारले युुएई सरकारसँग श्रम समझदारी गरेको थियो। सो श्रम समझदारीको प्रवाभकारी कार्यान्वयन हुन नसकेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले युएईसँग नयाँ श्रम समझदारी गर्ने सम्बन्धमा कुरा अघि सारेका थिए।