प्रतिनिधिसभा: नीति तथा कार्यक्रम बहुमतले पारित,सरकारलाई छेक्न सकेन प्रतिपक्षको बिरोधले
काठमाण्डौं,बैशाख २४ । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको भन्दै नियमापत्ति गरेको थियो।
तुइन विस्थापन हुँदै
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरको तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रमलाई तीव्रता दिइएको बताए। आव २०७६/७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेको जिज्ञासामा आफूले दिएको जवाफबारे सांसदले राखेका थप जिज्ञाशाको सम्बोधन गर्दै उनले दार्चुलास्थित महाकाली नदीमाथि तुइन विस्थापन गरी झोलुङ्गे र पक्की पुल निर्माण गर्ने काम भइरहेको जानकारी दिए।