भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि सहित कर्मचारी समेत भोगेपछि वडा कार्यालयको काम ठप्प

झापा,बैशाख २६ । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी फरार भएका छन् । जसका कारण वडाको काम पनि प्रभावित भएको छ । अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ र वडा सचिव हरिप्रसाद गौतम फरार भएका छन् । उनीहरुलाई भारतीय नागरिकलाई नेपाली नागरिकता दिने काममा सहयोग गरेको अभियोग लागेको छ ।
जसका कारण वडावाट हुने सबै काम प्रभावित भएको छ ।

वडासदस्य चन्द्रशंकर अधिकारीले हाल आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिए पनि आफूले वडा कार्यालयबाट हुने कुराको धेरै अध्ययन गर्न बाँकी रहेको र वडा सचिवसमेत कार्यालयमा नहुँदा समस्या परेको बताए । नजिकै रहेको ३ नम्बर वडाका सचिव लक्ष्मण तामाङलाई २ नम्बर वडाको पनि काम गर्ने जिम्मेवारी दिइएको छ।

जिम्मेवारीको पत्र दिएरै फरार

भारतको आसाम राज्यको मणिपुर कानकोपी जिल्लाका ३५ वर्षीय भूपाल गुरुङलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका वडाध्यक्ष मुखबहादुर भट्टराई वडा सदस्यलाई कार्यवाहकको पत्र थमाएर फरार भएको पाइएको छ। वडाध्यक्ष भट्टराईले वडासदस्य चन्द्रशंकर अधिकारीलाई कार्यवाहकको जिम्मेवारी दिएका छन्।

वैशाख १९ गतेबाट आफू कामको सिलसिलामा काठमाडौं जानुपरेको भट्टराईको पत्रमा लेखिएको छ ।जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थाहा पाएपछि सबै जना फरार भएका हुन् ।वडाध्यक्ष, सचिव, सदस्यसहित सो घटनामा मुछिएका गाउँका केही स्थानीय फरार छन्।

प्रहरी ढिलाइले भाग्ने मौका

भूपाल गुरुङ कचनकवल गाउँपालिका २ का बमबहादुर गुरुङलाई सबै कागजपत्र मिलाएर बाबु बनाउँदै नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय झापा पुगेकै समयमा वैशाख १० गते पक्राउ परे। पक्राउ परेकै दिन उनको जन्मदर्ता, नागरिकता सिफारिसलगायतका नागरिकता बनाउन आवश्यक कागजातबाट सो प्रक्रियामा कोको संलग्न छन् सबै खुलेको थियो। अन्नपुर्णपोष्टमा रविन भट्टराईले लेखेका छन् ।

प्रहरीले दुवैजनालाई पक्राउ गरेको सात दिनपछि वैशाख १७ गते वडाध्यक्ष, सदस्य, सचिवसहित नौ जनाका नाममा बिहान १० बजे पक्राउ पुर्जी जारी गरेको थियो। तर पक्राउ पुर्जी जारी भएको भोलिपल्ट अर्थात् वैशाख १८ गतेसम्म वडाध्यक्ष भट्टराईले वडा कार्यालयमै बसेर काम गरेका थिए । अदालतले पक्राउ पुर्जी जारी गरेको भोलिपल्ट साँझ मात्र वडा कार्यालय र वडाध्यक्ष रहेको इलाकामा पुग्दा प्रक्रियामा संलग्नलाई भाग्ने समय मिलेको देखिन्छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv