युवाहरुको मागलाई स्थापित गराउन कुनै पनि मुल्य चुकाउन संगठन तयार छ: अध्यक्ष पौडेल (युवा संघ नेपाल )
काठमाडौँ, ३१ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले संगठनको एकतासँगै एक युवा एक रोजगारीको महाअभियान सञ्चालन गर्ने बताउनुभएको छ ।
जेष्ठ १ गते युवा संघको २९औं स्थापनाको अवसरमा आज संघको केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौडेलले मातृ पार्टीले लिएको भ्रष्टाचार विरुद्धको शुन्य सहनशिलताको सिद्धान्तलाई आत्मसात् गर्दै भ्रष्टाचार, सामाजिक विकृति तथा विसंगतिको विरुद्ध देश व्यापी जागरण अभियान सञ्चालन गर्ने बताउनुभयो ।
वाइसिएल र युवा संघको एकताको अन्तिम चरणमा रहेको जानकारी गराउँदै उहाँले सम्भवत जेष्ठ ३ गते संगठनको एकताले मुर्त रुप पाउने समेत बताउनुभयो । संगठनको एकतासँगै आफ्ना गतिविधिहरु गाउँ गाउँसम्म पुर्याउने बताउनुभयो । संगठनको एकताका साथमा देशमा भएका विभिन्न प्रकारका विकृति, विसंगती, भ्रष्टाचार, हिंसा, बलात्कार, आतंककारी कृयाकलाप विरुद्धको पहिलो आन्दोलन अभियान सञ्चालन गर्ने बताउनुभयो ।
अध्यक्ष पौडेलले देशमा करिव ४०.३५ प्रतिशत भन्दा बढी युवाहरुको जनशक्ति भएको देशमा आशा र भरोसाको केन्द्रविन्दुको रुपमा युवा संघ रहेको बताउँदै आगामी दिनमा संघले जनताको आशालाई व्यवहारमा लागु गर्ने गरी सरकारको नीति तथा कार्यक्रममा दृढतापूर्वक युवाहरु परिचालन गर्ने बताउनुभयो ।
वर्तमान समयमा देशको विकास र समृद्धिको मेरुदण्ड युवा जनशक्ति भएकाले देशलाई समृद्ध बनाउन युवा मैत्री नीति तथा कार्यक्रका आधारमा अघि बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो । सरकारको नीति तथा कार्यक्रममा युवामैत्री भएको बताउँदै युवाहरुको मागलाई स्थापित गराउन कुनै पनि मुल्य चुकाउन संगठन तयार रहेको समेत बताउनुभयो ।
विगतमा समेत हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने मान्यतालाई आत्मसात् गर्दै संघले नाकाबन्दी, शितलाहर, हावाहुरी पिडित लागयतका कार्यमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै अध्यक्ष पौडेलले युवा संघकै माग अनुसार युवा मन्त्रालय, राष्ट्रिय परिचयपत्र, युवा स्वरोजगार कोष, युवा परिषद, शैक्षिक प्रमाणपत्रका आधारमा ऋण लगायतका असंख्य जनमूखी कार्यहरु गरेको बताउनुभयो ।
स्थापना दिवसलाई एक उत्सवको रुपमा मनाउनुपर्ने बताउँदै अध्यक्ष पौडेलले सयौं युवाहरु विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गराउने समेत जानकारी गराउनुभयो । उहाँले स्थापना दिवसको सम्पूर्ण तवरले तयारी करिव ९५ प्रतिशत सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।
कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, कार्यवहाक प्रधानमन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
कार्यक्रममा युवा तथा विद्यार्थीले भोली विहान प्रभातफेरी गर्ने तथा राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने बताइएको छ ।