फेसवुकवाट प्रेमिका बनेकीलाई बन्धक बनाएर ६ दिन सम्म बलात्कार
काठमाडौं, ८ जेठ । जनकपुरका एक युवकले फेसवुक मार्फत प्रेमिका बनेकी एक किशोरीलाई बन्धक बनाएर ६ दिनसम्म बलात्कार गरेको घटना सार्वजनिक भएको छ। फेसबुकमार्फत साथी बनाएका जनकपुरधाम–२ शिव चोक घर भएका अन्दाजी २५ वर्षीय उत्सव गुप्ताले एक किशोरीलाई बन्धक बनाएर बलात्कार गरेका हुन् । ललितपुर सातदोबाटो बस्ने एक १५ वर्षीया किशोरीलाई बन्धक बनाएर ६ दिनसम्म बलात्कार गरेको रहस्य बाहिरिएको हो।
उत्सव र ती किशोरी फेसबुकमार्फत एकअर्काबीच साथी बनेका थिए । फेसबुकमा साथी बनेको केहि दिनपछि उत्सवले ती किशोरीलाई भेट्न बोलाएका थिए। किशोरी भेट्न आएपछि उत्सवले उनलाई मोटरसाइकलमा राखेर अपहरण गरेर बन्धक बनाइ ६ दिनसम्म बलात्कार गरेको ललितपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उत्सवले ती किशोरीलाई ६ दिनसम्म आफ्नै कोठामा बन्धक बनाएर राखेको थिए।
किशोरी बेपत्ता भएलगत्तै आफन्तले जानकारी गराएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। प्रहरीले खोजी सुरु गरेको सुइँको पाएपछि किशोरीलाई महालक्ष्मीस्थान नजिक छोडेर उत्सव फरार भएका थिए। खोजतलासकै क्रममा उत्सवलाई इमाडोलबाट पक्राउ गरिएको महानगरीय प्रहरीवृत्त सातदोबाटो ललितपुरका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए। कक्षा ८ मा अध्ययनरत ती किशोरीले आफूलाई बन्धक बनाएर जबरजस्ती करणी गरेको बयान प्रहरीसमक्ष दिएको डीएसपी मिश्रले बताए।
पक्राउ परेका उत्सवविरुद्ध जबरजस्ती करणी र बन्धकसम्बन्धी मुद्दा दर्ता गराएर अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए। मिश्रका अनुसार उत्सव र ती किशारीबीच विगत दुई महिनादेखि सामाजिक सञ्जाल फेसबुकमा सम्बन्ध स्थापित भएको थियो।