घरजग्गा व्यापारमा मन्दी आएपछि सिभिल होम्स संकटमा

काठमाण्डौं,जेठ ९ । सिभिल ग्रुपले सञ्चालन गरेको सिभिल होम्स प्रालिको सम्पत्तिभन्दा दायित्व बढी देखिएको छ। यसले गर्दा कम्पनी ऋणको साँवाब्याज तिर्न समस्यामा परेको छ।
आजको आन्नपूर्णमा तुलसी सुवेदी लेक्छन कम्पनीको गत वर्षको लेखा परीक्षण प्रतिवेदनअनुसार सम्पत्ति चार अर्ब ३८ करोड ९४ लाख २७ हजार आठ सय ६१ रुपैयाँ छ। दायित्व पाँच अर्ब ७८ करोड ७२ लाख ५७ हजार दुई सय ७५ रुपैयाँ दायित्व छ। यसरी कम्पनी १ अर्ब १९ करोड ७८ लाख घाटामा छ।

सिभिल होम्सले हाउजिङ बुकिङ गर्दा पेस्कीका रूपमा सर्वसाधारणबाट झन्डै एक अर्ब रकम लिए पनि उनीहरूलाई घर उपलब्ध गराउन सकेको छैन। कम्पनीको वित्तीय विवरणअनुसार ८६ करोड ३९ लाख ३७ हजार आठ सय ७७ रुपैयाँ सर्वसाधारणबाट लिइएको छ।

घरजग्गा व्यापारमा मन्दी आएपछि सिभिल होम्समा समस्या आएको अघिल्ला वित्तीय प्रतिवेदनबाट पनि पुष्टि हुन्छ। सिभिल होम्सले ऋणको ब्याजमात्रै वार्षिक ८० करोड २८ लाख ५८ हजार आठ सय ६ रुपैयाँ तिरेको छ।

कम्पनी निरन्तर घाटामा जादाँ पनि सञ्चालकले अस्वाभाविक रूपमा भत्ता खाने गरेका छन् । गत वर्ष सञ्चालकका लागि भत्ताबापत दुई करोड २२ लाख ५१ हजार एक सय १६ रुपैयाँ खर्च भएको थियो। भत्ता खानेमा अध्यक्ष र उपमहाप्रबन्धक तथा दुई जना सञ्चालक छन् । यसले सञ्चालक समितिमा सुशासन अभाव रहेको प्रस्ट हुन्छ ।

विविध खर्च शीर्षकमा दुई करोड ९० लाख ७५ हजार ९ सय ६२ रुपैयाँ देखिएको छ। कम्पनीले गत वर्ष घरजग्गा बिक्री गरेर २९ करोड ५४ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

ऋणात्मक नेटवर्थ, लगातार घाटा, सम्पत्तिभन्दा ऋण धेरै, वहन गर्न सक्ने क्षमताभन्दा बढी ब्याज दिनुपरेका कारण सिभिल होम्समा संकट थपिएको हो । कम्पनीले क्षमताभन्दा बढी ऋण लिएका कारण टाट पल्टिने खतरा देखिएको छ । सिभिल होम्सले लिएको कर्जा दुरुपयोग भएको आशंका गरिएको छ । कम्पनीको लेखा परीक्षण जी पौड्याल एन्ड एसोसिएटले गरेको हो । उक्त संस्थाका चार्टड एकाउन्टेन्ट घनश्याम पौड्याल छन् ।

सिभिल होम्सका अध्यक्ष इच्छाराज तामाङ, उपमहाप्रबन्धक विजयविक्रम शाह र अन्य सञ्चालकमा केशवलाल श्रेष्ठ र गोपालबहादुर श्रेष्ठ छन् । केशवलाल अध्यक्ष तामाङका भान्जी ज्वाइँ हुन् । उनलाई तामाङले सिभिल ग्रुपले नै प्रवद्र्धन गरेको सिभिल सहकारीका अध्यक्ष बनाएका छन् ।

सिभिल होम्सले लिएको ऋणमध्ये सबैभन्दा ठूलो हिस्सा आफ्नै समूहले प्रवद्र्धन गरेको सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको हो । सिभिल होम्स संकटमा परेसँगै सहकारीको ऋण भुक्तानीमा समेत समस्या भएको छ। सहकारीका दुई हजार ६ सय ९० सदस्य बचतकर्ता छन् ।

सिभिल होम्सले पछिल्लो समय हाउजिङ कोलोनीको कम्युनिटी स्पेसको जग्गासमेत धितो राखेर ऋण लिएको भन्दै हाउजिङका बासिन्दा आन्दोलित भएका छन् । सिभिल होम्सले निर्माण गरेको सुनाकोठीस्थित हाउजिङको फेज ३ का जग्गा धितो राखेर राष्ट्रिय सहकारी बैंकसँग १६ करोड रुपैयाँ कर्जा लिएको छ ।

सिभिल होम्स फेज ३ का बासिन्दाले काठमाडौं उपत्यका विकास प्राधिकरण र मालपोतसँगको मिलेमतोमा हाउजिङको पहिलेको डिजाइन परिवर्तन गरेको आरोप लगाउँदै आएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv