राष्ट्रपतिबाट राहदानी सम्बन्धि विधेयक फिर्ता
काठमाण्डौं,जेठ ९ । राष्ट्रपतिबाट राहदानी सम्बन्धि विधेयक फिर्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राहदानी सम्बन्धि विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो ।
राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थाअनुसार आफ्नो अधिकार प्रयोग गरि सो विधेयक फिर्ता पठाएकी हुन् । गत असोजमा प्रतिनिधि सभाबाट पारित भएर ११ गते राष्ट्रिय सभामा टेबल भएको सो विधेयक राष्ट्रिय सभाबाट भने पारित भएको थिएन । तर, दुई महिनासम्म सो विधेयक राष्ट्रिय सभाले की पारित गर्नुपर्ने की प्रतिनिधि सभामा फिर्ता गर्नुपर्ने भए पनि राष्ट्रियसभाले कुनै प्रक्रिया अगाडि न बढाएपछि संसद निवायमवलीअनुसार सभामुख कृष्णबहादुर महराले राष्ट्रिय सभाबाट दुई महिनामा कुनै जवाफ नआएपछि गएको वैशाख २५ गते विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।
राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि कुनै एक विधेयकलाई एक पटकमात्र फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था छ । अब सो विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गर्नुपर्ने हुन्छ । यसरी फेरि पारित भएको विधेयक भने राष्ट्रपति अनिवार्य प्रमाणित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ११३ (२) बमोजिम विधेयकलाई पुनर्विचारका लागि फिर्ता पठाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संविधानको धारा ११३ (२)मा विधेयक पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा पेश भएकोे १५ दिनभित्र सदनमा फिर्ता पठाउन सक्ने प्रावधान छ । राष्ट्रपतिले फिर्ता गरेको विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने हुन्छ ।