संसदमा कांग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्रीको पत्रकार सम्मेलन
काठमाण्डौं,असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीको मँगलवार प्रतिनिधि सभामा सम्बोधन गर्ने निर्धारित कार्यक्रम थियो । तर प्रमुख विपक्षी कांग्रेसले जनाएको विरोधका कारण प्रधानमन्त्रीको सम्बोधन मात्र होइन संसद नै अवरुद्ध भयो । संसदमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री ओलीले मँगलवार पत्रकार सम्मेलनको आयोजना गरे । पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले काँग्रेसलाई संसदमा असंसदीय, अमर्यादित व्यवहार देखाएको आरोप लगाए ।
संसदमा आफूले सम्बोधन गर्न खोज्दा अवरोध गर्नु आचश्र्य लाग्दो भएको उनको भनाई छ । मंगलबार साँझ पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिनु र प्रधानमन्त्री भन्दा पहिला आफु बोल्न पाउनुपर्छ भन्नु बालहठ भएको बताए ।
उनले अघि भने, ‘आज लोकतन्त्र, गणतन्त्र, संघीयताविरुद्ध, जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी स्पष्ट ढंगले देखिएको छ । घोर दक्षिणदेखि घोर वामपन्थी समेत एकजुट भएका छन् ।’
यसप्रति सहज हुनुपर्ने कांग्रेस आफैं परिर्वतनकारी शक्तिहरुलाई विथोल्न लागेको उनको आरोप छ । उनले कांग्रेस सभापति शेरबहादुर देउवा आफैं नेतृत्व गरेर बेल घेर्न आइपुगेको भन्दै व्यंग्य गरे। ‘मेरा लामो समयदेखिका मित्र, लोकतान्त्रिक आन्दोलनका सहयात्री, आफैं नेतृत्व गरेर बेल घेर्ने कामको नेतृत्व गरेर जानुभयो, प्रधानमन्त्रीले भने, म आश्चर्यचिकत भएँ, उहाँले संसदीय मर्यादा थाहा पाउनुपर्ने हो।’
प्रधानमन्त्री ओलीले लोकतन्तको आवरणभित्र बसेर विपक्षले लोकतन्त्रविरुद्ध नै षड्यन्त्र गरेको आरोप लगाए ।साथै उनले कंग्रेसलाई आवेग उत्तेजना र भावना नबहकिन आग्रह गरेका छन् । उनले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्र पछाडि बस्ने तत्वले फाइदा लिए । त्यसैले आवेग र उत्तेजनामा गएर सबैलाई पनि फाइदा पुग्दैन ।’