सांसदहरुले बिर्सिए संस्कारः ओलीको नाम झुठप्रसाद, शेरबहादुरको नाम छेरबहादुर
काठमाडौं,असार ८ । मुलुकमा अमन चयन कायम गर्ने र कानुन निर्माण गर्ने जिम्मा पाएका सांसदहरुले नै मर्यादा र संस्कार बिर्सिएको आभास संसद भवनमा गर्न सकिन्छ । आइतबारको प्रतिनिधिसभा बैठकमा त्यस्तै झल्को दिने शब्द प्रयोग भएको देखिएको । विपक्षी काँग्रेस सांसद उमाकान्त चौधरी प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध खनिदा त्यस्तै शब्दको प्रयोग गरे ।
उनले यसअघि जथाभावी कर लगाएर ‘करप्रसाद ओली’ को उपमा पाएका प्रधानमन्त्रीको नाम अब ‘झुठप्रसाद ओली’ राख्दा फरक नपर्ने टिप्पणी गरे । प्रधानमन्त्रीले जनतालाई पटकपटक झुठो आश्वासन दिएकाले उनको नाम झुठप्रसाद राख्दा उपयुक्त हुने तर्क राख्दा संसदले नै मर्यादा र संस्कार बिर्सिएको अनुभव गर्न सकिन्छ । ‘जथाभावी कर लगाएर उहाँको नाम करप्रसाद राखिएको थियो’, चौधरीले भने, ‘पटकपटक जनतालाई झुठो आश्वासन दिएकाले अब सम्माननीय प्रधानमन्त्रीको नाम ‘झुठप्रसाद ओली’ राख्दा फरक पर्दैन ।’ उनले यसरी प्रधानमन्त्रीलाई अपमान हुने गरी टिप्पणी गरेपछि नेकपा सांसद झपड रावलले नियमात्ति गरे । उनको अमर्यादित शब्द रेकर्डबाट हटाउन रावलले माग गरे । तर, अरुलाई मर्यादित शब्द बोल्न सिकाउँदै गर्दा रावल आफैंले पनि मर्यादा बिर्सिए ।
उनले काँग्रेस सभापति शेरबहादुर देउवाको नाम बिगारेर ‘छेरबहादुर भन्नु नपरोस’ भन्ने चेतावनी दिए । ‘माननीयज्यूले सम्मानीय प्रधानमन्त्रीको नाम बिगारेर करप्रसाद र झुठप्रसाद भन्नु भएको छ’, ‘पूर्वप्रधानमन्त्री एवम् प्रतिपक्षी दलको नेता हामीले सम्मान गर्ने व्यक्ति शेरबहादुर देउवालाई ‘छेरबहादुर’ भन्न बाध्य भयौं भने के हुन्छ ?’ यति भन्दा पनि उनले जनताका प्रतिनिधि सांसदले बोल्ने शब्दहरुलाई जनताले नियालेर सुनिरहेको भन्न भ्याए ।