राजधानीमा नयाँ मोटरसाईकल छान्दै चोर्ने समूह सक्रियः थपियो सुरक्षा चुनौती प्रहरी बिट नजिकैबाट पत्रकारको मोटरसाईकल दिउँसै गायव
असार १२, काठमाडौं । राजधानीमा पछिल्लो चरणमा नयाँ नयाँ मोटरसाईकल छान्दै चोरी गर्ने समूह सक्रिय देखिएको छ । ट्राफिक प्रहरीको बग्गीखानामा कार्यरत एक प्रहरी अधिकारीका अनुसार औषतमा हरेक दिन मोटरसाईकल चोरीका घटनाहरु आउँने गरेका छन ।
ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय नयाँ मोटरसाईकल चोरीका घटनाहरु बढेका छन । प्रहरीमा आउने धेरैजसो उजुरीमा नयाँ मोटरसाईकल चोरी भएको र त्यसमा पनि बजाज कम्पनीको २२० सिसिको पल्सर मोटरसाईकल चोरी हुने गरेको देखिन्छ ।
प्रहरी अधिकारीले भने–‘पहिले पहिले चोरहरुले जस्तो भएपनि चोरी गर्ने गरेको देखिन्थ्यो तर पछिल्लो समय नयाँ र राम्रा गाडीहरु नै चोरी हुने गरेको पीडितहरुको उजुरीका आधारमा देखिन्छ । ट्राफिक प्रहरीले त्यसको नियन्त्रण तथा खोजिको कार्य गरिरहेको छ ।’
केही समयअघि राजधानीमा पकेटमार, घरमा डकैति, चोरीका घटनाहरु ह्वात्तै बढेकोमा प्रहरीको विशेष पहलमा ठूलो संख्यामा त्यस्ता चोरीका घटनामा संलग्नहरुलाई पक्राउ गरेपछि त्यस्ता घटनामा केही कमि आएको देखिन्छ ।
तर चोरीमा संलग्नहरुले आफ्नो धन्दा भने छाडेको देखिन्न । उनीहरुले पछिल्लो चरणमा महंगा र नयाँ सामानहरुमा ध्यान दिदैं प्रहरीको सुरक्षा निगरानीमाथि चुनौती थप्दै दिनहुँ त्यता घटनाहरु घटाउने गरेका छन ।
राजधानीका कतिपय स्थानमा ट्राफिक प्रहरीको सिसिक्यामरा राखिएको छ, धेरै ठाउमा बिट, वृत र चौकिहरु राखिएका छन तर चोरले दिउँसै कसरी सामानहरु गायव गर्छ ? यो प्रश्न त्यस्ता घटनाहरुले निक्कै गम्भिर रुपमा उठान गरेको छ ।
केहीदिन अघि मध्यवानेश्वर स्थित प्रहरीको बिट भन्दा करिब २०० मिटर अगाडीबाट दिउँसै पाँच मिनेटको अन्तरमा नयाँ मोटरसाईकल चोरी भएको छ । चोरी भएको थाहा भएपछि नजिकको प्रहरी मार्फत जानकारी तथा खोजबिनको निवेदन समेत भयो तर हप्तादिन बित्दापनि त्यसको सुईको सम्म प्रहरीले नलगाएको भन्दै पीडितले गुनासो गरेका छन ।
यहि महिनाको पाँच गते दिउँसो करिब ३ः३५ बजेतिर बजाज कम्पनीको २२० सिसिको निलो रंगको दृष्टि मिडिया नेटवर्क प्रालिको नामको मोटरसाईकल चोरी भएको हो । मिडिया कम्पनीका प्रकाशक, सम्पादक लोकराज जैसीका अनुसार त्यहाँबाट यसअघि समेत अन्य सामानहरु चोरी भएको थियो ।
पत्रकार जैसीले नयाँ बर्षमा मोटरसाईकल किनेका थिए । उनले दिउँसै चोरीका घटनाहरु डरलाग्दो रुपमा बढ्नुले राज्यको सुरक्षा निकायलाई चुनौती दिइरहेको भन्दै नेपाल प्रहरी र सम्पूर्ण सुरक्षा निकायलाई त्यसको नियन्त्रणमा ध्यान दिन आग्रह समेत गरेका छन ।
हरपल नेपाल डटकमका सम्पादक समेत रहेका जैसीले मिडिया कम्पनीको उक्त मोटरसाईकल चोरीमा संलग्नलाई पक्राउ गरी कानुन अनुसार कारबार्हीको माग गरेका छन । यो मात्र होइन, यस्ता धेरै उजुरीहरु प्रहरीमा दिनहुँ थुप्रिने गर्दछन, तर त्यसमा प्रहरी निकाय किन सफल हुन सकेको छैन ? यो प्रश्न पनि यतिबेला खडा भएको छ ।
पत्रकार जैसीले मोटरसाईकल चोरीको विषयमा महानगरी प्रहरी बृत नयाँबानेश्वर, अपराध अनसन्धान महाशाखा टेकु, ट्राफिक प्रहरी बग्गीखाना लगायतमा जानकारीसहित खोजिको अनुरोध गरेपनि अझै कुनै रिजल्ट आउन नसकेको बताए ।
अपराध अनुसन्धान महाशाखा टेकुका प्रमुख एसएसपि सहकुल थापाले अपराध नियन्त्रणका लागि प्रहरीले आफ्नो अनुसन्धान प्रकृया बढाएको र चोरीमा संलग्नहरुको पहिचान हुने विश्वास व्यक्त गरे । उनले अपराधमा संलग्नहरु तत्कालको लागि भागेपनि प्रहरी अनसन्धानबाट उम्कन नसक्ने ठोकुवा गरे ।
त्यस्तै बग्गीखाना ट्राफिक प्रहरीका प्रमुख वसन्त पन्तले राजधानीमा देखिएको मोटरसाईकल चोरीका घटनाको नियन्त्रणका लागि आफुहरुले चेक जाँच, सडक नियमको कडाई र संयुक्त अभियानहरु चलाउँदै आएको बताए । उनले चोरी भएका मोटरसाईकलको खोजिका लागि ट्राफिक प्रहरीले चेक जाँचमा आफ्नो ध्यान केन्द्रीत गर्दै आएको र कतिपय भेटिएको समेत बताए ।
पत्रकार जैसीले चोरी भएको मोटरसाईकल (प्रदेश ३–०२–००६–प १६७८ नम्बरको, निलो रंगको पल्सार २२० सिसिको) भेटिएमा वा कतै कसैले देखेमा नजिकको प्रहरी कार्यालयमा वा दृष्टि मिडियाको सम्पर्क नम्बर ९८५१२०४५२३ मा सम्पर्क गरी खोजि कार्यमा सहयोग गरिदिन समेत आग्रह गरेका छन ।