चिनियाँ पर्यटक आफ्नै निजी सवारी लिएर भ्रमण गर्न पोखरा आउन थाले
काठमाण्डौं,साउन ५ । भारतीय नम्बर प्लेटका गाडीले हामीले जताततै छ्यापछ्याप्ती देखेकै छौं । भारतीय नागरिक भारतकै नम्बर प्लेटको गाडी लिएर नेपाल घुम्न आउँछन् । भारतीय सिमानामा त नेपालीहरु पनि भारतीय नम्बर प्लेटकै गाडी चलाउन मन पराउँछन् । तर पछिल्लो समय पोखरामा चिनियाँ नम्बर प्लेटका गाडी पनि देखिन थालेको छ । चिनियाँ पर्यटक आफ्नै निजी सवारी लिएर भ्रमण गर्न पोखरा आउन थालेका छन् ।

पहिलो पटक चिनियाँ नम्बर प्लेटको गाडी पोखरामा देखेर होटल ब्यवसायीहरु छक्क परेका छन् । उनीहरुले चिनियाँ पर्यटक पहिलो पटक निजी सवारी लिएर पोखरासम्म घुम्न आएको बताएका छन् । पोखराका पर्यटन ब्यवसायीहरु चिनियाँहरुको पोखरा मोह देखेर उत्साहित भएका गछन् ।
चीनको हान्जाउँ सहरबाट चिनियाँ व्यवसायीको टोली रसुवा नाका हुँदै काठमाण्डौ, चितवन, लुम्बिनी हुँदै सुविधा सम्पन्न ७ वटा गाडीमा पोखरा आएका छन् । पोखराको भ्रमण गरेर उनीहरु तनहुँको बन्दीपुर हुँदै रसुवा नाकाबाट चीन फर्कने छन् ।
चिनियाँ पर्यटकलाई पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई, पर्यटन व्यवसायी नरेश भट्टराई लगायतले पोखरामा स्वागत गरेका थिए । उनीहरुले नेपाल भ्रमण वर्ष २०२० को लोगो चिनियाँ पर्यटकलाई हस्तान्तरण गरेका थिए । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।