इन्जिनियर बन्ने सपना बोकेर अष्ट्रेलिया गएका सेढाई रातो बाकसमा आउँदै
काठमाडौं,साउन ५ । गत जुलाई १२ तारिखका दिन मृत अवस्थामा फेला परेका नेपाली विद्यार्थी स्वदेश सेढाईको शव नेपाल ल्याउने तयारी भइरहेको छ । जुलाई २३ तारिख सोमबार साँझ मलेसियन एयरलायन्सको विमानमार्फत् काठमाडौँ आइपुग्नेगरी तयारी पुरा भएको हो । सेढाईको शव नेपाल ल्याउन झापाली समाज अस्ट्रेलियाले भूमिका खेलिरहेको छ । समाजका अध्यक्ष दीपक चुडालले नेपाल ल्याउने तयारी भएको जानकारी दिए ।
उनले भने, “उनको शव नेपाल पठाउनका लागि हामीले अर्थ संकलन अभियान अघि बढाएका थियौं । यस अभियानमा छोटो समयमैँ हामीलाई आवश्यक रहेकोभन्दा बढी पैसा संकलन गर्न सफल भयौं । यस अभियानअन्तर्गत जम्मा ११ हजार ७ सय ९३ अस्ट्रेलियन डलर संकलन भएको छ । यस कार्यका लागि सहयोग गर्ने सम्पूर्ण मनकारी मनहरूलाई संस्थाका तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं ।”उनले अगाडि भने, “उनको शव यहाँबाट पठाएलगत्तै ५० प्रतिशत रकम उनको परिवारलाई पठाइनेछ भने बाँकी रहेको रकमलाई उनको परिवारको चाहनाबमोजिम परोपकारी ट्रष्ट स्थापना गर्नका लागि प्रयोग गरिनेछ ।”
एक नेपाली परिवारसँग अपार्टमेन्ट शेयर गरेर बस्दै आएका २१ वर्षीय सेढाई आफ्नै कोठाको लुगा राख्ने वाडरोबभित्र मृत अवस्थामा फेला परेका थिए । उनी सिड्नीको गिलफोर्डमा बस्दै आइरहेका थिए भने सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा ब्याचलर अफ कम्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका थिए ।