नेकपाको पूर्व माओवादी पक्षका नेताहरुको छुट्टै बैठक प्रचण्ड निवासमा
काठमाडौं,साउन ५ । नेकपाको एकिकरणको काम टुंगिदै गर्दा सत्तारुढ नेकपाको पूर्व माओवादी पक्षका नेताहरुको छुट्टै बैठक बसेको छ । विभिन्न महतवपूर्ण विभागमा सहमति जुटेपछि आफ्नो भागमा परेको विभागका बारेमा छलफल गर्न पूर्वमाओवादी नेताहरुको छुट्टै बैठक बसेको नेताहरुलेब बताएका छन् । पूर्वमाओवादीलाई महत्वपूर्ण १४ विभाग भागमा परेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आइतबार बिहान सो पक्षका नेताको बैठक बसेको हो । दिउँसो बस्ने सचिवालय बैठकको तयारीबारे छलफल गर्न बैठक बसेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । आज बस्ने सचिवालय बैठकले केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च र जिल्लाका इन्चार्ज एवं सह–इन्चार्ज लगायतको टुंगो लगाउने नेताहरुले बताएका छन् । पूर्वएमालेका नेताहरुले पनि यसअघि आफ्नो भागमा परेका विभागको टुंगो लगाउन छुट्टै बैठक बसेका थिए ।
पूर्वएमालेले पाएको १८ मध्ये महत्वपूर्ण ठानिएको विदेश विभागमा वरिष्ठ नेता माधव नेपाल, नीति तथा प्रशिक्षण विभागमा झलनाथ खनाल र संगठन विभागमा वामदेव गौतमले जिम्मेवारी पाउने सहमति भइसकेको छ । पूर्वमाओवादीले १४ विभाग पाएको छ । बैठकमा सहभागी एक नेताले आफ्नो भागमा परेको विभागको नेतृत्व टुंगो लगाउनेबारे छलफल भएको जानकारी दिए ।