पार्टी एकिकरणको बेलामा गरेको बाचा पुरा गर्दै प्रधानमन्त्री ओली
काठमाण्डौं,साउन ३२ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दुई पार्टी एकिकरणका समयमा गरेको सहमति अनुसार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन प्रस्ताव गरेका छन् । दुई नेताबीचको गोप्य छलफलमा ओलीले प्रचण्डलाई यस्तो प्रस्ताव गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले पार्टीको नेतृत्व मात्र नभएर आफु प्रधानमन्त्री समेत छाड्न तयार रहेको प्रचण्डलाई बताएका छन् ।
शुक्रबार सचिवालय बैठक बस्नुपूर्व दुई अध्यक्षबीच गोप्य भेटघाट भएको थियो । ‘पार्टी तपाइले चलाउनुस् र हाम्रो पूर्व सहमतिअनुसार प्रधानमन्त्री पनि तपाई बन्नुस्, म छोड्न तयार छु ।’ प्रधानमन्त्री ओलीले प्रचण्डलाई भनेका थिए एक सचिवायलय सदस्यले बताएका छन् । अध्यक्ष ओलीले प्रचण्डलाई यस्तो प्रस्ताव गरेपछि प्रचण्ड नेता इश्वर पोखरेललाई स्कूल विभागको जिम्मेवारी दिन तयार भएको बताइएको छ ।
सम्भवतः ओलीले केही दिनभित्रै सो घोषणा गर्ने बताइएको छ । दुई नेताबीचको सहमतिपछि लामो समयदेखि विवादित बन्दै आएको स्कुलिङ विभागको नेतृत्व ईश्वर पोखरेलले पाएका छन् । विभागको नेतृत्वमा नारायणकाजी श्रेष्ठ र पोखरेलको दाबी थियो । प्रचण्डले श्रेष्ठ र ओलीले पोखरेलका पक्षमा अडान लिएका थिए । प्रवक्तासमेत रहेका श्रेष्ठलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
उनले स्थायी समिति बैठक बोलाएर स्थायी समितिबाट दुई नेताबीचको सहमति अनुमोदन गरिने सचिवालय सदस्यले बताएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताअघि दुई प्रमुख नेताले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति थियो । प्रचण्डले पूर्वसहमति पालना गर्न ओलीलाई झक्झक्याउँदै आएका थिए ।