पत्रकार पुडासैनीको पोस्टमार्टम रिपोर्ट आयो, सिआइबीले खटायो अनुसन्धान टोली

काठमाण्डौं,भाद्र २ । झुन्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट चितवन प्रहरीमा पुगेको छ । तर, प्रहरीले रिपोर्टमा के छ भन्ने खुलाएको छैन । ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । तर, रिपोर्टमा लेखिएको कुरा सार्वजनिक गर्न मिल्दैन,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दावबहादुर मल्लले भने, ‘हामी सबै प्रमाण जुटाउँदै छौँ । यस क्रममा थप नयाँ तथ्य पनि फेला परेको छ ।

अनुसन्धानपछि सबै तथ्य सार्वजनिक हुनेछ ।’ झुन्डिएको अवस्थामा २० साउनमा भेटिएका पुडासैनीको २२ साउनमा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो । अस्पतालले १० दिन लगाएर रिपोर्ट तयार पारेको हो । पोस्टमार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियोको फरेन्सिक ल्याब परीक्षण पनि भइसकेको प्रहरीले जनाएको छ ।

पोस्टमार्टम र भिडियो ल्याब रिपोर्ट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ । २० साउन राति नारायणगढस्थित पोखरा बसपार्कको होटेल कंगारुमा झुन्डिएको अवस्थामा नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भएका २७ वर्षीय शालिकराम पुडासैनीको शव फेला परेको थियो ।

सिआइबीको टोली चितवनमा
घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी दीपक रेग्मी चितवन आएका छन् । एसपी रेग्मीसहित केही अधिकृत गरी पाँचजनाको टोली अनुसन्धानका लागि चितवन आएको हो । मृत्युसँग जोडिएका विविध पक्षहरूको सिआइबीले सूक्ष्म ढंगले अनुसन्धान गर्ने जनाइएको छ । ‘यस घटनामा चितवन प्रहरीले आफ्नै तरिकाले पनि अनुसन्धान अघि बढाइरहेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘थप सहयोग र अनुसन्धानलाई व्यवस्थित, छिटोछरितो बनाउन उहाँहरू आउनुभएको हो ।’

किटानी जाहेरी दर्ता
पुडासैनीका परिवारले आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएका छन् । पुडासैनीको परिवारले परिसरमार्फत जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएको प्रहरीले पुष्टि गरेको छ । भिडियोमा नाम उल्लेख भएअनुसार टेलिभिजनकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी परेको हो ।

काठमाडौं परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जाहेरी सम्बन्धमा भने, ‘किटानी जाहेरी परेको छ । जाहेरीमा रवि, युवराज र कार्कीलाई विपक्षी बनाइएको छ । जाहेरी दर्ता हुन साथ हामीले चितवन प्रहरीमा पठाइसकेका छौं ।’

यी तीन आरोपितविरुद्ध ३१ साउनमा चितवन अदालतबाट पाँच दिनको म्याद थप गराई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए । उनीहरूमाथि आत्महत्या दुरुत्साहनको मुद्दा लागेको छ ।

प्रशासनमा सर्वपक्षीय बैठक
निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा आइतबार जिल्लामा सर्वदलीय र सर्वपक्षीय बैठक बसेको छ । बैठकले तीनवटा फरक निर्णयहरू गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालका अनुसार पत्रकार पुडासैनीको मृत्यु घटनाको स्वच्छ र निष्पक्ष न्याय सम्पादन गर्न प्रहरी प्रशासनलाई सहयोग गर्न राजनीतिक दलले जनतालाई आग्रह गर्ने निर्णय भएको छ ।

यस्तै, हिरासतमा रहेका तीन अभियुक्तको हकमा स्वच्छ र निष्पक्ष छानबिन गरी न्यायनिरूपण कार्यमा सहयोग गर्ने र शान्ति सुरक्षामा खलल पु-याउने, तोडफोड गर्ने कामलाई निरुत्साहित गर्ने निर्णय भएको छ । आजको नयाँ पत्रीकामा खबर छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv