कोहलपुरमा नेपाल कै सबैभन्दा ठुलो हनुमानको मुर्ती बन्दै

काठमाण्डौं, फागुन ६ । बाँकेको कोहलपुर नगरपालिका–३ मदन चोकस्थित शङ्कर मन्दिर परिसरमा हनुमानको पूर्णकदको मूर्ति निर्माण भइरहेको छ ।

मदन चोकका स्थानीय समाजसेवी द्रोणप्रसाद जैसीको व्यक्तिगत लगानीमा मूर्ति निर्माण भइरहेको हो । दुई वर्षअघि निर्माण शुरु गरिएको मूर्तिको करीब ८५ प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ ।

शङ्कर भगवान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका जैसीले आफ्ना स्व मातापिताको सम्झनामा मन्दिर परिसरमा हनुमानको पूर्णकदको मूर्ति निर्माण गरिरहेको बताउनुभयो । उहाँका अनुसार मदन चोकको शङ्कर मन्दिरको परिसरमा निर्माण भइरहेको हनुमानको मूर्ति नेपालकै सबैभन्दा ठूलो हो । यसको उचाइ ७५ फिट छ ।

धार्मिक क्षेत्रका रुपमा रहेको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पनि निर्माण गरिएको उहाँको भनाइ छ । मूर्ति निर्माण गर्दा रु १७ लाख लाग्ने अनुमान गरिएको भए पनि हालसम्म रु १९ लाख खर्च भइसकेको छ । अब बाँकी कामका लागि रु २३ लाख लागत लाग्ने उहाँको भनाइ छ ।

“मूर्ति निर्माणका लागि हालसम्मको सम्पूर्ण खर्च मैले व्यहोरेको छु,” उहाँले भन्नुभयो, “व्यक्तिगत लगानीमा बनाउने भएकाले बाँकी काम सम्पन्न गर्नका लागि मैले नै लगानी गर्छु ।” मूर्ति निर्माण भइसकेपछि यहाँको पर्यटन क्षेत्रमा सघाउ पुग्ने जैसीको विश्वास छ । उहाँले भन्नुभयो, “जीवनभर जति सम्पत्ति कमाए पनि कम हुन्छ, आखिर मरेर के नै लैजानु छ र !”

जिन्दगीभर कमाएको सम्पत्ति धार्मिक क्षेत्रमा लगानी गरेमा पुण्य होला भनेर लगानी गरेको उहाँले बताउनुभयो । “सामाजिक स्वार्थबाहेक अन्य कुनै पनि किसिमको स्वार्थ छैन,” जैसीले भन्नुभयो । उक्त मूर्ति निर्माणका लागि ठूलो परिमाणमा नरिवलको डोरी, सिमेन्ट, बालुवा, ढुङ्गा, माटो र इँटाको प्रयोग भएको छ । मूर्तिको बाहिरी आवरण कलात्मक हुनेछ ।

केही महिनामा सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने भए पनि मूल सडकबाट मूर्तिस्थलसम्म पुग्नका लागि भौतिक पूर्वाधार अभाव रहेको उहाँले बताउनुभयो । करीब २० मिटरको कच्ची बाटो भएकाले लैजान समस्या हुने भन्दै सडक कालोपत्र गर्नका लागि वडा कार्यालयसँग समन्वय भइरहेको जैसीले जानकारी दिनुभयो ।

तीन कट्ठा १३ धुर क्षेत्रफलमा फैलिएको शङ्कर भगवान मन्दिर पनि जैसीकै सक्रियतामा निर्माण भएको थियो । मन्दिरका नाममा रहेको उक्त जग्गा नन्दलाल कौशल र स्व हीरालाल कौशलले निःशुल्क प्रदान गर्नुभएको थियो । २०६६ सालमा जागृति आमा समूहमा आबद्ध महिलाले रु चार लाख ८५ हजार सङ्कलन गरी मन्दिरको निर्माण कार्य शुरु गरेका थिए । २०७० सालपछि जैसीकै सक्रियतामा मन्दिर निर्माणले पूर्णता पाएको शङ्कर भगवान मन्दिर समितिका सचिव छविलाल आचार्यले बताउनुभयो । उक्त मन्दिर रु २८ लाख ९८ हजार ९८४ लागतमा निर्माण सम्पन्न भएको सचिव आचार्यले जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि ३०० भन्दा बढी दाताबाट रु २७ लाख ८२ हजार ५३१ सङ्कलन भएको थियो ।

मन्दिर निर्माणपछि अझै पनि रु एक लाख २० हजार ४४६ तिर्न बाँकी रहेको सचिव आचार्यले जानकारी दिनुभयो । मन्दिरको पर्खाल निर्माणका लागि कोहलपुर नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको छ । हनुमानको मूर्ति निर्माणपछि यहाँको पर्यटन क्षेत्रमा थप सहयोग पुग्ने सचिव आचार्यको विश्वास छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv