पहिलो पटक झुलाघाटमा बस्यो बिओपी

बैतडी,जेठ १० । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना भएको छ ।

सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथाकीले सो बिओपीको आज उद्घाटन गर्दै यसबाट सीमा निगरानी हुने बताए ।

सीमा निगरानी, राजस्व संकलनमा वृद्धि तथा सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुने विश्वास गरिएको छ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बिओपी बस्ने भए पनि हाल सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा टोली बसेको छ।

आफ्नो भवन नहुँदा बिओपी अहिले घर भाडामा लिएर बसेको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिए।

हाललाई भाडाको घरमा बस्ने भए पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेकाले निकट भविष्यमै आफ्नो भवनमा बस्ने जनाइएको छ।

बैतडीका पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा बिओपी स्थापना हुने भनिए पनि उक्त क्षेत्रमा हाल पोष्ट खडा गरिएको छ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै निकट भविष्यमा त्यसलाई नै बिओपीमा रूपान्तरण गरिने जनाइएको छ।

पञ्चेश्वरमा पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेको सशस्त्र प्रहरीको नं ५१ गुल्म बैतडीले जनाएको छ। बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहने जनाइएको छ।

अब सीमा सुरक्षाका लागि सजिलो हुने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ। सरकारले सशस्त्र प्रहरी बललाई देशभरिका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ।

सीमा परिचालन गरिएका सशस्त्र प्रहरीलाई स्थायीरूपमा बिओपी स्थापना गरी परिचालन गर्न लागेको हो।

हाल सीमामा देशभरि १२१ बिओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा ५०० पुर्‍याउने तयारी गरेको जनाइएको छ।

नेपालतर्फको सीमानाकामा भारतको ५३० बिओपी रहेको बताइएको छ।

नेपाल सरकारले पनि सोही अनुपातमा बिओपी थप्ने तयारी गरेको हो । कोरोनाको जोखिम हुन नदिन सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोष्टलाई बिओपीमा रूपान्तरण गर्ने सरकारी तयारी रहेको जनाइएको छ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv