भारतको मेधान्ता अस्पतालमा कार्यरत डा. सुजितकुमार साहको निधन प्रति नेपाल चिकित्सक संघको गहिरो दु:ख प्रकट
काठमाण्डौ,भदौ २० । नेपाल चिकित्सक संघले भारतको मेधान्ता अस्पतालमा कार्यरत कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. सुजितकुमार साहको अप्रत्यासित र अकल्पनीय निधन प्रति गहिरो दु:ख प्रकट गरेको छ । शनिबार एक बिज्ञप्ती जारी गर्दै समबेदना प्रकट गरेको हो ।
समबेदना पत्रमा भनिएको पूर्णपाठ यस्तो छ । :-
नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं भारतको मेधान्ता अस्पतालमा कार्यरत कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. सुजितकुमार साहको अप्रत्यासित र अकल्पनीय निधनभएको प्रति नेपाल चिकित्सक संघ गहिरो दुःख व्यक्त गर्दै नीजको परिवारजन, इष्टमित्र तथा आफन्तहरुमा धैर्य धारण गर्ने क्षमता मिलोस भनी कामना गर्दछ ।
सबैको प्रिय र ज्यादै हँसिलो एवं अत्यन्तै मिलनसार, सहयोगी चिकित्सक साह रोवर्टको माध्यमबाट कलेजो प्रत्यारोपण गर्ने अब्बल चिकित्सकका रुपमा चर्चित हुनुहुन्थ्यो । यस्तो अद्वितीय क्षमता भएका चिकित्सकले छतबाट हामफालेर आत्महत्या गरेको भनी आएका समाचारले उक्त घटना रहस्यमय रहेको नेपाल चिकित्सक संघको ठहर छ । त्यसैले सरकोकारवाला निकायले उक्त घटनाको सत्यतथ्य छानबिन गरी के कति कारणले घटना घटेको हो भन्ने बारे यथार्थ विवरण बाहिर ल्याउनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायले गहन भूमिका निर्वाह गर्न यस संघ आग्रह गर्दछ ।
दीवगंत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति यस संघ हार्दिक समवेदना प्रकट गर्दछ ।